काठमाडौँ। बैतडीको दोगडाकेदार गाउँपालिका –७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भएको अभियोगमा पक्राउ गरिएका स्थानीय दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।
भागरथी पढ्ने सनातम माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको बलात्कार तथा हत्या प्रकरणमा आफ्नो संलग्नता स्वीकार गरेपछि उनलाई प्रहरीले बुधबार(आज) सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा अनुसन्धानबाट मिलेका प्रमाण, प्रत्यक्षदर्शी साक्षी, अभियुक्तको लोकेसन र साबिती बयानका आधारमा दिनेशलाई पक्राउ गरिएको जनाइएको छ ।
उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दिनेश विरुद्ध भागरथीका दाजुले किटानी जाहेरी दिइसकेका छन्।
प्रहरीसँगको बयानमा भट्टले घर फर्किरहेकी भागरथीलाई सडकमा ढुकेर धकेल्दै तलतर्फ झारिदिएको बताएका छन्। उनले त्यसपछि धकेलेर तल झारिदिएपछि लडेकी उनको दुवै हातले घाँटी थिचेर हत्या गरेको बयान दिएका छन्।
