३० गते, काठमाडौँ : प्रतिपक्षी नेकपा एमालेका सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारेमा संसदलाई जानकारी दिनुपर्ने बताएका छन्।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै रावलले प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारीबारे संसदलाई जानकारी गराउन समेत माग गरेका हुन्।
नेपालको असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिलाई वर्तमान गठबन्धन सरकारका गतिविधिहरूले त्यो नीति र मान्यतालाई उल्लघंन गरेको आरोप लगाए। नेपाल भ्रमणमा रहेका अमेरिकी जर्नलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेकोप्रति आपत्ति जनाए।
उनले भने, ‘नेपालको परराष्ट्र नीतिलाई असंलग्न र स्वतन्त्र बनाउने भनेर जो लेखेका थियौं। तर त्यो अहिले सरकारका गतिविधिहरूले त्यो नीति र मान्यतालाई उल्लघंन गरेको देखिन थालेको छ। नेपाल भ्रमणमा रहेका अमेरिकी जर्नलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको सुने के भनेको हो यो? कसको भरपर्दो स्थलगत सेना भन्न खोजेको? स्थल सेनाको ग्रुपमा काम गर भन्न खोजेको हो। यसले के आशंका उत्पन्न गरेको छ।’
अमेरिकी जर्नेलले स्थल सेना भरपर्दो भन्नु स्थल समूहमा काम गर अथवा अमेरिकाले सञ्चालन गरेको राज्य साझेदारी कार्यक्रमको अंग भएको हो की भन्ने आशंका उत्पन्न भएको बताए। अन्तराष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री पनि छलफलको लागि आउनुपर्ने माग राखे। प्रधानमन्त्रीको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले नगरेर रक्षा मन्त्रालय र सेनाले गर्नु गम्भीर रहेको बताए।
‘दुई देशको बीचका भ्रमण भइरहने कुरा सामन्य कुरा हो। यो भ्रमण आदानप्रदान कस्ले गर्छ। हाम्रो परराष्ट्र मन्त्रालय छ तर परराष्ट्र मन्त्रालयमा कुनै जानकारी आउँदैन। नेपालका राजदूत अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा गएर कुराकानी गर्नुहुन्छ’ उनले भने, ‘अमेरिकाका जर्नेल नेपाल भ्रमण गर्नुहुन्छ। नेपाली सेनाका प्रधानसेनापति अमेरिका भ्रमण गर्ने कुरा आउँछ र दुई देशका सेना र रक्षा मन्त्रालयको बीचमा सबै चाजोपाँजो मिलाइएको जस्तो सम्पूर्ण घटनाक्रमहरूले देखाएको छ। यो एकदमै आपत्ति जनक कुरा हो । सत्तापक्षकै सांसद अमेरिकी भ्रमण गर्नु हुन्न भन्नु भएको छ।’
प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणअघि प्रधानमन्त्री पत्नी आरजु राणा सल्लाह लिन भारत गएको बताए। प्रधानमन्त्रीको अमेरिका भ्रमणमा स्टेट पार्टनरसीप कार्यक्रममा हस्ताक्षर गर्ने गोप्य तयारी भइरहेको पनि आरोप लगाए। प्रधानमन्त्री पत्नी आरजु अहिले स्टेट पार्टनरसीप कार्यक्रममा हस्ताक्षर परामर्शकै लागि भारत गएको रावलको दाबी छ।
अमेरिका सेनाको युटा नेशनल गार्डलाई नेपाल ल्याउने योजनाअनुसार स्टेट पार्टनरसीप सम्झौताको तयारी हो भने निकै गम्भीर कुरा भएको भन्दै प्रधानमन्त्रीले संसदमा जानकारी गराउनुपर्ने बताए।
उनले अमेरिका भ्रमण र हस्ताक्षरका विषयमा समितिलाई परराष्ट्र मन्त्रीले जानकारी दिएर नहुने बताए। गठबन्धनका नेतालाई समेत थाहा नदिई अमेरिका सेनाको युटा नेशनल गार्डलाई नेपाल ल्याउने योजनाअनुसार स्टेट पार्टनरसीप सम्झौताको तयारी गरेको बताए।






