२ पौष, मेचीनगर। झापाको मेचीनगर —९ मा रहेको उपभोक्ता महिला कृषि सहकारी संस्थाले ५२ जना एकल महिला र विभिन्न विधाका उत्कृष्ट सातसहित ६० जनालाई एउटै मञ्चमा सम्मान गरेको छ ।

संस्थाको नवौँ वार्षिक साधारणसभाको अवसर पारेर सोमबार मागुरमाडी सामुदायिक नव उपभोक्ता समिति विट नम्बर १ परिसरमा आयोजित कार्यक्रममा ५३ जना एकल महिलालाई फूलको मालासहित दोसल्ला पहिर्याएर र बाकी ७ जनालाई सम्मान पत्रसहित अविर टीका माला पहिर्याएर सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले बाल बचततर्फको उत्कृष्ट बाल बचतकर्ताकारुपमा नमन आचार्य तथा कर्जा कारोवारमा उत्कृष्ट करोवार गर्ने सदस्यहरु क्षेत्रनम्बर १ बाट झुमावती राई, क्षेत्रनम्बर २ बाटसुशीला मगर, क्षेत्रनम्बर ३ बाट माया योङहाङ, क्षेत्रनम्बर ४ बाट टीकादेवी पौडेल र क्षेत्रनम्बर ५ बाट लक्ष्मी मगरलाई सम्मन गर्नुभएको थियो ।

नियमित तथा ऐच्छिक बचतकर्ताहरुमध्येबाट क्षेत्रनम्बर १ की कृष्णदेवि पोखरेललाई सम्मन गरिएको थियो । सम्मानित सवैजनालाई प्रमुख अतिथि उपप्रमुख उप्रेती, मेचीनगर वडानम्बर —९ का वडाध्यक्ष कञ्चनकुमार तामाङ, साहित्यकार मीरा पोखरेललगायतले अविर टीका पहिर्याएर संयुक्तरुपमा सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
संस्थाकी अध्यक्ष संगीता थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दैं प्रमुख अतिथि उपप्रमुख उप्रेतीले नेपालको सहकारी आन्दोलनमा महिलाको सहभागिता महत्वपूर्ण मानिने बताउँर्दै सहकारीमा महिलाको सहभागिता, यसको भूमिका र प्रभावलाई समेत उदाहरणीयरुपमा लिईएको स्पष्ट पार्नुभयो । स–सानो बचत गर्ने बानी बसाल्नेदेखि उनीहरूलाई उद्यमशीलतातर्फ अग्रसर गराई आत्मनिर्भर गराउनसमेत सहकारीमार्फत प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उपप्रमुख उप्रेतीले महिलाको आर्थिक, सामाजिक, साँस्कृतिक तथा नेतृत्व तहको समेत विकास गरी पछिल्लो समय महिला सशक्तीकरणको उत्तम माध्यम महिला सहकारी बनेको बिचार व्यक्त गर्नुभयो ।
‘महिला हिजो चुलोेचौकामा सीमित हुन्थे । आर्थिक जिम्मेवारी पुरुषको मात्र हो भन्ने सोचाइ थियो । त्यही सोचका कारण आर्थिक र सामाजिक रूपमा महिला पछाडि परेका थिए ’ उहाँले भन्नुभयो—‘ सहकारीमा लागेपछि उनीहरूको जीवनस्तरमा विस्तारै सुधार आउन थालेको छ । स–सानो बचतबाट ठूलो बनाई परिवारको गर्जो टार्न थालेका छन् । सहकारीका कारण महिला आत्मनिर्भर हुन थालेका छन् ।’

उपभोक्ता महिला कृषि सहकारी संस्थाले प्रत्येक शेयर सदस्यलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न आयमूलक कार्यहरु गर्दै आएकोमा संस्थाको प्रशंसा समेत गर्नुभयो । सहकारीले शेयर सदस्यहरुलाई सीपमूलक काम सिकाएर आत्मनिर्भर बनाउन सुरु गरेपछि सहकारीमा आवद्ध ग्रामीण क्षेत्रका महिलाहरुको जीवनस्तरमा परिवर्तन आएको उहाँले बताउनुभयो ।
अध्यक्ष संगीता थापाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाले अधिकांश शेयर सदस्यहरुमा आफ्नो कारोवार पुर्याउन सफल भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । उहाँले प्रत्येक शेयर सदस्यहरुको शेयर पूँजीमा १० प्रतिशतका दरले बनोस् समेत थप गरिदिएको बताउनुभयो ।
सहरकारीको आफ्नै भवन निर्माणका लागि जग्गा खरिद गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने, सदस्य शिक्षा तालिम सञ्चालन गर्ने, शेयर सदस्य लाभाम्बित कृषिमा आधारित कार्यक्रमहरु सञ्चालन गर्ने संस्थाको लक्ष्य रहेको उहाँले जानकारी गराउनुभयो । बचत तथा ऋणको पनि कारोवार गर्दै आएको संस्थाले शेयर सदस्यहरुलाई कृषि, शैक्षिक, बैदेशिक, पशुपालनलगायत सीपमूलक कार्यका लागि रु पाँच लाख धितोसहित र विना धितो रु. ५० हजारका दरले कर्जा प्रवाह गर्दै आएको अध्यक्ष थापाले बताउनुभयो ।
सहकारीले १२ कठ्ठा स्थानीयबासीको जमिन लिजमा लिएर धान, मकै, तोरी, बेसारलगायतका खेती समेत गर्दैै आएको छ । खेतीबाट उत्पादन आम्दानीलाई समेत संस्थाले पूँजीकृत गर्दै सदस्यहरुका हित अनुसार उद्घोषण, सिलाई बुनाई, मुडा बनाउनेलगायतका तालिममा खर्च गर्ने गरेको छ । कार्यक्रममा संस्थाले विभिन्न समयमा सञ्चालन गरेको सिलाई बुनाई र कटाईमा सहभागी प्रशिक्षार्थीहरुलाई साधारणसभाको अवसर सहभागिताको प्रमाण पत्र समेत प्रदान गरेको थियो ।
कार्यक्रममा वडा नम्बर –९ का वडाध्यक्ष कञ्चन तामाङ, वान नेपालकी संस्थापक अध्यक्ष मिरा पोखरेल, मागुरमाडी सामुदायिक वन विट नं. १ का अध्यक्ष अमर खम्बू, वडासदस्य सुष्मा कार्की डोलेलगायतले संस्थाले गरेका गतिविधिका बारेमा प्रंशसा गरेका थिए ।
सहकारीको शेयर पूँजी हाल .२१ लाख ३९ हजार ६ सय ४० रहेको छ । संस्थामा ५ सय २१ जना शेयर सदस्यहरु रहेका छन् । प्रत्येक बर्ष सहकारीलाई सामुदायिक सञ्चित कोषबाट मागुरमाडी सामुदायिक वन उपभोक्ता समितिले ५० हजार उपलब्ध गराउँदै आएको छ ।
