१७ साउन, मेचीनगर : झनकप्रसाद खीनमाया कट्टेल समाज कल्याण प्रतिष्ठान मेचीनगर झााले शनिबार एकैदिन एउटै मञ्चमा दुईवटा कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिष्ठानले काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा समाजसेवी झनकप्रसाद कट्टेलको स्मृतिग्रन्थ ‘झनकबाजे–एक भुइँमान्छे’को लोकार्पण तथा ‘झनकप्रसाद–खिनमाया कट्टेल समाजकल्याण प्रतिष्ठान’को शुभारम्भ सम्पन्न गरेको हो ।

दुवै कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री, एवम् प्रतिनिधि सभा सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रष्ठिानको लोगो अंकित व्यानरको घुम्टो खोलेका थिए भने स्मृतिग्रथको प्रमुख अतिथि अतिथिसहित मञ्चमा रहेका सवैले संयुक्तरुपमा लोकार्पण गरेका थिए । यो कार्यक्रमलाई कट्टेल परिवारले तीनवर्षअघि देखि शुरु गरेको कामले आज यस्तो आकार ग्रहण गरेको बताएको छ । २०७७ साउन १७ मा कट्टेलको निधन भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष डम्मरूबल्लभ कट्टेलले कार्यक्रमको अध्यक्षता गदैं प्रतिष्ठानको औचित्यमाथि र पिता स्वर्गीय झनकप्रसाद कट्टेलका विषयमा प्रष्टि पारेका थिए । ‘पिताजी शुरुदेखि नै सामाजिक सेवामा क्रियाशील रहेको र उहाँको निधनपछि पनि उहाँको नामलाई बचाईराख्न प्रतिष्ठान स्थापना गरेर पिताका सत्कर्म र समाजिक कर्मलाई निरन्तरता दिने उद्धेश्यले यो कर्म गर्न लागेका हौ । ’ अध्यक्ष कट्टेलले भने । उक्त प्रतिष्ठानका लागि मुक्तिनाथ विकास बैंकमा ५० लाख रुपैयाँको अक्षयकोष राख्ने औपचारिकता पनि पुरा भएको छ । कट्टेललाई उनका समकालिनले मात्र नभएर अहिलेको नयाँ पुस्ताले समेत चिन्नपर्छ भन्ने परिवारको भनाई छ । यस स्मृतिग्रन्थबाट सवैले चिन्न सक्ने विश्वास परिवारको छ ।

यो तीनवर्ष अघिदेखिको परिकल्पना भएपनि विविध कारण अहिले मुर्तरूप लिएको उनले स्पष्ट पारे । यो स्मृतिग्रन्थमा तीनवर्ष अघिका र हालसालका लेख रचनाहरुरहेको उनले बताए । ‘आज हामीले पिताजीको स्मृति दिवसकै अवसर पारेर दुवै कार्यक्रमको साइत जुराएका हौं । ’ उनले भने । २७६ पृष्टको स्मृतिग्रन्थमा उनलाई नजिकबाट चिन्नेसहित विभिन्न ९७ जना लेखकले झनकप्रसाद कट्टेलका विषयमा लेखेका छन । पारिवारीक सदस्यहरू र उहाँलाई नजीकबाट चिन्नेहरूका लेख रचना स्मृतिग्रन्थमा रहेको बताइएको छ ।
प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री लिङ्देनले झनकबाजे जस्तो समाजको प्रिय समाजसेवी, लोकप्रिय व्यक्तिको स्मृतिग्रन्थ निकाल्नु र छोराहरुले बुबाको नाममा यत्रो राशिको अक्षयकोष राखी निरन्तर समाजमा सेवा पुर्याउने कार्यगर्नु अनुकरणीय र प्रशंसनीय भएको बताए । झनकबाजेको व्यक्तित्व परिचय साहित्यकार पुण्यप्रसाद खरेलले प्रस्तुत गरेका थिए भने स्मृतिग्रन्थका बारेमा लेखक निरोज कट्टेलले समिक्षात्मक चर्चा गरे ।

कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्ट, कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, मेचीनगर नगरपालिकाका पूर्व नगरप्रमुख विमल आचार्यकट्टेल समाजका अध्यक्ष चित्रदेव कट्टेललगायतले बोलेका थिए ।

प्रतिष्ठानका सचिव दामोदर ढुङ्गेलले सञ्चालन गरेको कार्यक्रममा आदर्श मा.वि.का विद्यार्थीले नृत्य प्रस्तुत गरे भने, अग्रजपुस्तालाई अनुजपुस्ताले सम्मान गर्ने परम्परा सुरु गर्दै झनकबाजेका दौंतरी बाबुल मालपाहाडेलाई अनुज पुस्ताका झनकबाजेका नाती अदित कट्टेल र प्रमुख अतिथि लिङ्देनले नगद २५ हजारको राशि र सम्मानपत्रले सम्मान गरेका थिए । बाबुलले झनक बाजेको कृषिकार्यमा निक्कै सहयोग गरेर झनकबाजेलाई समाजसेवामा लाग्ने अवसर प्रदान गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेश सभाका सदस्य सविना बजगाईं, मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेती, मेचीनगरका निवर्तमान नगरप्रमुख विमल आचार्य, प्रतिष्ठानका संरक्षक खिनमाया कट्टेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य नरेन्द्र खड्का, मेचीनगर वडा नम्बर— ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडा नम्बर —७ का वडाध्यक्ष प्रह्लादमणि ओली, लेखक एवम् राजनीतिकर्मी रामबहादुर कट्टेल, लेखक एवम् भानु साहित्यीक प्रतिष्ठान मेचीनगरका निवर्तमान अध्यक्ष कृष्णप्रसाद उप्रेती, भानु साहित्यीक प्रतिष्ठान मेचीनगरका अध्यक्ष डिल्लीराम घिमिरे, नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय सभापति इन्द्र बुढाथोकी तात्कालिन काँकरभिट्टा गाविसका उपाध्यक्ष बन्धनकुमार मुण्डालगायत प्रतिष्ठानका पदाधिकारीहरु, कट्टेल पारिवारिक सदस्यहरुसहित सर्वसाधारणको उल्लेखिय सहभागिता रहेको थियो ।



























