२४ साउन, मेचीनगर : झण्डै ११ महिना अघि २३ भदौ २०८२ मा देशव्यापी रूपमा उठेको युवा पुस्ता (जेनेरेसन जी) को एक ठूलो र ऐतिहासिक विरोध प्रदर्शन पछि २४ भदौमा निक्कै ठूलो क्षति भयो ।
तात्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले फेसबुक, इन्स्टाग्राम, युट्युब लगायत प्रमुख सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाएपछि र देशमा बढेको चरम भ्रष्टाचार तथा नातावादको विरोधमा यो आन्दोलन सुरु भएको थियो ।
यसै क्रममा २४ भदौंको प्रदर्शनमा झापाको मेचीनगर नगरपालिकामा भएको तोडफोड तथा आग्जनीका कारण लाखौं रुपैयाँ मुल्य बराबरका ल्यापटपमा क्षति पुगेको छ । कार्यालयको जिन्सी शाखा (स्टोर) ले उपलब्ध गराएको विवरण अनुसार २०८२ भदौ २४ को घटनामा कार्यालयको विभिन्न शाखामा रहेका २२ वटा ल्यापटप पूर्णरुपमा क्षति भएको छ । जिन्सी प्रमुख (स्टोर किप्पर) द्वारिकाधिस घिमिरे (अधिकृत स्तर छैठौं) र पूर्वाधार शाखा प्रमुख इञ्जिनियर रोशन रिमाल (अधिकृत स्तर आठौं) को हस्ताक्षरसहित कार्यालयका सूचना अधिकृत अशोक भेट्वालले मेरो मेचीनगर डट कमलाई उपलब्ध गराएको त्यस कार्यालयको च.न. ४५ र प.स. २०८३ /०८४ को पत्रमा संलग्न विवरणले यसलाई पुष्टि गरेको छ ।
मेरो मेचीनगर डट कमलाई नगरपालिकाले उपलब्ध गराएको विवरण अनुसार सूचना प्रविधि शाखा प्रयोगकर्ता अशोक भेटवाल, राजस्व शाखामा प्रयोग भएको समेत दुई थान, सुरक्षित आप्रवासन परियोजना (सामी ) शाखा प्रयोगकर्ता प्रमिला पाठक दुई थान, आर्थिक विकास शाखा प्रयोगकर्ता दिपेन्द्र कार्की, पुर्वाधार विकास शाखा प्रयोगकर्ता इञ्जिनियर विशाल जवेगु, लक्ष्मी राई, कमल शर्मा, सोनिया थापा, कृष्णप्रसाद खतिवडा एक/एक थान, शहरी विकास शाखा प्रयोगकर्ता इञ्जिनियर जीवन भटट्राई इञ्जिनियर प्रदिप राजवंशी र रविन्सन थापा एक / एक थान, शिक्षा शाखा प्रयोगकर्ता सुनिता भट्टराई र भण्डार शाखाका आठ वटा ल्यापटपमा पूर्णरुपमा क्षति पुगेको जनाइएको छ ।

तर, कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश सहयोग कार्यक्रम, कोशी प्रदेश विराटनगरले भने नगरपालिकाका विभिन्न वडा कार्यालयको प्रयोजनका लागि १० र नगरपालिकाको प्रयोजनका लागि चार सेट ल्यापटप उपलब्ध गराएको छ । जेनजी आन्दोलनका क्रममा नगरपालिकाको कार्यालय र वडा कार्यालयहरुमा तोडफोड तथा आग्जनी भै कार्यालय भवन, भौतिक सामान, विद्युतिय सामाग्रीहरु क्षति भई सेवा प्रवाहमा असहजता उत्पन्न भएको मेचीनगर नगरपालिकाको प्राप्त च.न. १२८७ को पत्र अनुसार प्रदेश सहयोग कार्यक्रम मार्फत विद्युतिय सामग्री, फर्निचरलगायतका सामाग्री प्राप्त भएका थिए ।

कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश सहयोग कार्यक्रम, कोशी प्रदेश विराटनगरले उपलब्ध गराएको सामानको विवरण
आन्दोलनको दोस्रो दिन, २४ भदौ २०८२, मंगलबार थप विरोध प्रदर्शन कायम रही मुख्य सरकारी भवन र कार्यालयहरू, व्यक्तिका निजी घरमा तोडफोड र आगजनी भएका थिए ।

























