१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

प्रतिस्पर्धाको रोचक मोडमा झापा क्षेत्र नं. १

सेयर:

२९ कार्तिक, झापा : निर्वाचनको मुखैमा आएर झापा १ को चुनावी वातावरण तातिएको छ । झापा १ मा प्रतिस्पर्धा गर्ने मूख्यदलका उम्मेदवारहरु दुबैजना राष्ट्रिय स्तरका प्रभावशाली नेता भएका कारण पनि सबैको ध्यान झापा १ मा केन्द्रीत हुन थालेको छ । झापा क्षेत्र नं १ ले यतिबेला मुलुककै ध्यान खिचेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का दुई ‘हेवीवेट’ बीचको कडा प्रतिस्पर्धा सो क्षेत्रमा रहेको छ ।

चुनावलाई आफ्नो पक्षमा पार्न उनीहरु घरदैलोमा व्यस्त छन् । कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले–राप्रपा तालमेलका तर्फबाट अग्नि खरेल उम्मेदवार बनेका छन् । उनीहरु सहित यो क्षेत्रमा १५ जनाको उम्मेदवारी परेको छ । ती मध्ये तीन जना स्वतन्त्र उम्मेदवार छन् ।

दोस्रो संविधानसभा निर्वाचन, २०७० मा एमालेका रविन कोइराला र २०७४ को संसदीय चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजय भोगेका शर्मा तेस्रोपटक चुनावी मैदानमा छन् भने एमाले स्थायी कमिटी सदस्य खरेल आफ्नो गृहक्षेत्र झापा–२ भए पनि झापामा इन्ट्री गरेका छन् । संसद् छिर्ने प्रयासलाई मूर्तरुप दिन जनताको ‘म्याण्डेड’का लागि शर्मा र खरेल दुवै अहोरात्र खटिरहेका छन् ।

महामन्त्री शर्मा सुकुम्बासी समस्या समाधान, पुल निर्माण, नदी कटान नियन्त्रण, पर्यटकीय केन्द्रका स्तरीकरण, झापा–१ जोड्ने रिङरोड निर्माणलगायतका स्थानीय विकास र चासोको विषयलाई समेट्ने मतदातासमक्ष प्रतिबद्धता जनाउँदै हुनुहुन्छ । “जनताले स–साना कुरा खोजिरहेका छन्”, उनले भने, “त्यसैले हामी गर्न सक्ने कुरामात्र गर्छौँ, नसक्ने कुराको हामी सपना बाँड्न आएको छैनौँ ।”

पदमा नरहँदा पनि झापा क्षेत्र नं १ को सडक निर्माण, सामाजिक रुपान्तरण, स्वास्थ्य सेवालगायतका क्षेत्रमा काम गरेको शर्माको भनाइ छ । संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि गठबन्धन आवश्यक रहेको उल्लेख गर्दै शर्माले गठबन्धनका उम्मेदवारलाई जिताएर जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन अपिल गरेका छन् ।

एमाले–राप्रपा तालमेलका उम्मेदवार खरेलले आफू जहिले विकास र निर्माणको संसदीय प्रक्रियामा आफू गाँसिएको भएको बताए । “जनताको समस्या मेरो समस्या हो”, उनले भने, “मैले ती समस्या बुझेको छु ।”

मेची, निन्दा, हडियाखोलमा बर्सेनि आउने बाढीले त्यहाँका स्थानीय समस्यामा पर्ने भएकाले तटबन्धन निर्माण गर्न आफू प्रतिबद्ध रहेको खरेलको भनाइ छ । हात्ती समस्या नियन्त्रणका लागि प्रभावकारी कार्य गर्ने उनले बताए । “यहाँका समग्र समस्या समाधानका लागि हामी प्रतिबद्ध छौँ”, उनले भने, “हामीलाई मतदान गरे विजय गराउन मतदातासमक्ष अनुरोध गर्दछौँ ।”

शर्मा र खरेल दुवैले स्थानीय अवस्था, आवश्यकता र केन्द्रीय घोषणापत्रलाई आधार बनाएर प्रतिबद्धता जनाइरहनुभएको छ । दुवै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहे पनि परिणाम आफ्नो पक्षमा पार्न त्यति सहज छैन । विसं २०५७ मै कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै २०७२ मा केन्द्रीय सदस्यमा निर्वाचित भएका शर्मा २०७४ मा पार्टीका प्रवक्ता थिए । विसं २०७६ मा कांग्रेसको तर्फबाट सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख भएका उनी हाल महामन्त्री छन् ।

विसं २०६४ र २०७० को संविधानसभा सदस्य रहेका वरिष्ठ अधिवक्ता खरेल पूर्वकानुनमन्त्री हुनुहुन्छ भने हाल उनी एमालेका स्थायी समिति सदस्य र झापा इञ्चार्ज हुनुहुन्छ । उनी कानुनको ज्ञातासमेत मानिन्छन् ।

झापा क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत प्रत्यक्षतर्फ प्रतिनिधिसभामा सदस्यमा शर्मा, प्रदेशसभा (१) मा गोपाल तामाङ र (२) मा श्यामवीर लिम्बू चुनावी मैदानमा छन्, भने एमाले–राप्रपा तालमेलअन्तर्गत खरेल, प्रदेशसभा (१) मा रविन कोइराला र (२) मा सविना बजगाईँ कट्टेल छन् । मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुरको ९, १० नम्बर वडा र बुद्धशान्ति गाउँपालिकाको ४, ५ , ६, ७ वडा मिश्रित झापा क्षेत्र नं १ मा एक लाख २० हजार तीन सय ७५ मतदाता छन् । जमध्ये करिब १३ हजार नयाँ मतदाता थपिएका छन् ।

स्थानीय चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार यहाँ एमालेसँग ३१ हजार दुई सय ३२ मत छ भने कांग्रेससँग २४ हजार ५९ मत छ । राप्रपासँग पाँच हजार नौ सय २२ मत रहेको क्षेत्रमा माओवादीसँग तीन हजार नौ सय पाँच, एकीकृत समाजवादीसँग एक हजार दुई सय ५२ र लोकतान्त्रिक समाजवादी पार्टीसँग दुई सय ६२ मत छ ।

नयाँ थपिएको मतदाता र चुनावको मुखमा दल अदलबदलको क्रमले चुनावी प्रतिस्पर्धा पेचिलो बन्ने निश्चित छ ।

काठमाडौंप्रेसबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।