३ भदौं, मेचीनगर : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मेचीनगर कमिटी झापाले आज एसइई र १२ कक्षा उतिर्ण विद्यार्थीलाई सम्मान गरेको छ ।
काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिकाक्षेत्र भित्रका सामुदायिक तथा निजी विद्यालयबाट एसइई र १२ कक्षा उतिर्ण एकसय ५० जनालाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय महासचिव दीपक धामी, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य वागमती प्रदेशका पुर्व प्रमुख विष्णुप्रसाद प्रसाईं, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवम् मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेती, नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य एवम् मेचीनगर इञ्चार्ज देवकुमार राईलगायत अखिलका विद्यार्थी नेताहरूले उनीहरूलाई सम्मान गरेका थिए ।अविर टीका खादाँ र मायाको चिनोसहित सवैलाई सम्मन गरीएको थियो ।

कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले नेपालको सामाजिक राजनीतिक जागरण र रूपान्तरणमा विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको इतिहास हामी सामु रहेको स्पष्ट पारेका थिए । विद्यार्थी आन्दोलनसँग जोडिएका त्याग, बलिदानी र संघर्षका कथाहरू इतिहासमा स्वर्ण अक्षरले लेखिएको भन्दैं वक्ताहरुले विद्यार्थी आन्दोलनले जहाँनिया निरंकुश राणाशासनको अन्त्यतिर रुढीवादी नेपाली समाजमा राजनीतिक तथा सामाजिक जागरणको सुरुवात गदैं त्यसैको जगमा वाम–प्रजातान्त्रिक आन्दोलनको उठान गर्दै त्यसलाई राष्ट्रव्यापी रूपमा व्यापक बनाउन पनि विद्यार्थी आन्दोलनले स्थापनाकालबाट नै महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गरे ।
विद्यार्थी आन्दोलनको सुरुवाती इतिहास नै बहुआयामिक रूपमा गौरवपूर्ण रहेको उनीहरुको भनाई थियो । २०४६ सालको परिवर्तन विद्यार्थी आन्दोलनकै कारण सम्भव भएको र निरंकुश राजतन्त्र विरोधी आन्दोलन २०६२÷६३ सालको परिवर्तनको जगमा विद्यार्थी आन्दोलनको भूमिका रहेको चर्चा गरेका थिए ।

विद्यार्थी आन्दोलनले राजनीतिक परिवर्तनसँगै शैक्षिक तथा प्राज्ञिक आन्दोलन, राष्ट्रियता, जनजीविका र सामाजिक रूपान्तरणमा योगदान गरेको छ । विद्यार्थीकालमा राजनीति सुरु गरेका नेताहरू अहिले विभिन्न तहतप्कामा पुगेर पार्टी र राज्यकै नेतृत्व गरेको वक्ताहरुको भनाई थियो ।
नगर कमिटि अध्यक्ष मदन चिमरिया अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि महासचिव दीपक धामी, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य वागमती प्रदेशका पुर्व प्रमुख विष्णुप्रसाद प्रसाईं, अनेरास्ववियु केन्द्रीय कमिटि सचिवालय सदस्य रोशन लामा, केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज सन्तोष धमला, कोशी प्रदेश संयोजक नारायण पोख्रेल, झापा जिल्ला संयोजक मदन ओली, नेकपा एमाले मेचीनगर कमिटी अध्यक्ष राजु कार्कीलगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।
अनेरास्ववियू काँकरभिट्टा बहुमुखी क्याम्पसका कार्यवहाक अध्यक्ष संगम वरालले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई कोषाध्यक्ष तुलसा खड्काले शब्दमार्फत स्वागत गरेकी थिइन् ।


























