एक ठाउँबाट अर्काे ठाउँको भ्रमण गर्नु वा घुम्नु बरालिनु पक्कै हैन । भ्रमण वा घुम्नुले आफ्नो ज्ञानको दायरालाई फराकिलो पनि बनाउँछ । यसकारण घुम्नु जीवनलाई फरक कोणले नियाल्नु पनि हो । घुम्नु गन्तव्यमा पुग्नु र मनोरञ्जन गरेर समय बर्बाद गर्नु पनि हैन, भ्रमण गर्नु वा घुम्नु एउटा सिकाइ हो । जीवन बुझ्नु र जिउनु पनि त हो घुम्नु । अर्को अर्थमा यात्रा जीवन जिउने कला सिक्नु पनि हो ।
एउटा बन्द कोठामा जे र जति सिकिन्छ, त्यसको कैयौं गुणा खुल्ला आकाशमा प्रकृतिमाझ सिकिन्छ । पर्यटक र पर्यटन क्षेत्रलाई एकपटक पछाडी फर्केर हेर्ने हो भने विदेशीहरुको इतिहास त धेरै लामो छ । तर, विदेशीहरुको तुलनामा हामी नेपालीहरु घुम्न थालेको इतिहास खासै लामो छैन । नेपालीहरुमा घुम्ने रहर, चाहना र इच्छाशक्तिहरु हुँदा हुँदै पनि विविध बाधक पक्षहरुले रोकेका छन् । विदेशीहरु घुम्न निस्केर घुम्न मात्र सिकेनन्, राम्रा जीवनोपयोगी संस्कारहरु पनि सिके ।
यसैक्रममा २४ बैशाखमा कोशी प्रदेश, झापाको मेचीनगर नगरपालिकाको न्यायिक समिति गण्डकी प्रदेशका विभिन्न पालिकाहरुमा अवलोकन भ्रमणको लागि निस्कियो । यसको उद्देश्य केवल घुम्नु र फोटो खिच्नुमात्र थिएन । भ्रमणका क्रममा मेचीनगर नगरपालिका र गण्डकी प्रदेशका केही पालिकाबीचका असल अभ्यास साथै अनुभव आदन प्रदान समेत गर्नेदेखि स्थानीय तहहरुले गरेका असल अभ्यास÷प्रयासहरुलाई संकलन तथा अभिलेखिकरण गर्ने उद्देश्यका साथ नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक मीना पोख्रेल उप्रेतीको नेतृत्वमा सात सदस्यीय टोली गण्डकी प्रदेश लाग्यो । टोलीमा थियौं, न्यायिक समिति सदस्यहरु कुन्दन निरौला, हरिनारायण न्यौपाने, अधिकृत छैटौं इन्दिरा खरेल कानूनी सल्लाहकार अधिवक्ता इन्द्रकमल प्रधान, उपप्रमुखज्यूको सचिवालयबाट म र सवारी चालक राजकुमार प्रधान । यात्राको भरपर्दो सारथी बनेका थिए बिमल कुमाल । बिहानको करिब साढे ५ बजेतिर उनै बिमलले उनको सवारीमा हामीलाई राखेर पश्चिमतर्फ हुइँकिए ।

कुन्दन निरौला, हरिनारायण न्यौपाने, इन्दिरा खरेल गाडी चढेर उपप्रमुख मीना पोख्रेल उप्रेती निवासमा आएका थिए । उनीहरुसहित उपप्रमुख मीना पोख्रेल उप्रेती र मलाई चढाएर गाडी गन्तव्यतर्फ लाग्यो । राजकुमार प्रधान आयावारी र अधिवक्ता इन्द्रकमल प्रधान चारआलीबाट चढेका थिए । बाटामा विभिन्न गफगाफ र हाँसीमजाकले बाटो काटेको पत्तै हुदैनथियो । चालक विमल पनि गज्ज्वका । निम्बार्क बैष्णव सम्प्रदायका मादक पदार्थको त कुरै छाडौं । माछा मासु समेत नचल्ने त्यसकारण पनि हामी ढुक्क थियौं उनीप्रति । झापाबाट सिन्धुली पुग्दा उनी चालक होइन सवैको प्यारा भान्जा बनिसकेका थिए । शुरुमा हामीले उनलाई गुरुवा भने पनि सिन्धुलीपछि हाम्रो सम्बन्ध मामा भान्जामा परिणत भयो र एकले अर्कालाई मामा भान्जा भनेर सम्बोधन गर्न थाल्यौं ।
प्रायः जसो तराईका सुगम जिल्लामा रहेका पालिकाहरुको अवलोकन वा सुविधा सम्पन्न बाटोघाटो पुगेका ठाउँमा मात्र भ्रमण जाने गरिन्छ । यसपटकको हाम्रो भ्रमण फरक परेकाले समेत मेरा मनमा निक्कै प्रश्न खेलिरहन्थे । हिमालपारिको जिल्ला मुस्ताङको पालिकाहरु हाम्रा गन्तव्यमा थिए । यसकारण पनि मैले पढेको सुनेको मुस्ताङ प्रत्यक्ष टेक्न पाउने भएकाले पनि यो यात्रा मेरा लागि एउटा अवसर पनि थियो । कस्तो होला मुस्ताङ ? मुस्ताङमा विकासको लहर के होला ? के गर्छन होला मुस्ताङवासीहरु ? कति दुःख होला त्यहाँ ? यस्ता थुप्रै प्रश्न मेरो मानसपटलमा फुरी रहन्थे । गाडीलाई चालकले आफ्नै गतिमा दौडाउँदै थिए । हामी आ आफ्नै धुनमा थियौं ।
कोक्रामा नानीलाई हल्लाए झैं हामीलाई हल्लाउँदै गाडी इटहरी अघिको कान्छी चोकबाट उत्तर मोडियो । उत्तर लागेपछि कालोपत्रेका कारण यात्रा पनि निक्कै सहज बन्यो । गाडीधनी पनि आफैँ भएका कारण चालक विमलले आफ्नो सवारीलाई निक्कै ध्यानपूर्वक अघि बढाइरहेका थिए । बाटामा खाल्डाखुल्डी देखेपछि परैबाट गाडी तर्काउँथे । जस्ले हामीलाई आराम मिलेको महसुस हुन्थ्यो । नागवेली बाटो । चतरामा पुगेर चालक विमलले अब खाजा खाने भन्दै गाडी रोके । सवैले इच्छा अनुसार खाजा खायौं । करिब एक घण्टा जति हामी त्यहाँ अल्मलियौँ । त्यसपछि हाम्रो यात्रा क्रमशःअघि बढ्यो । जति जति यात्रा अघि बढ्थ्यो, बिहानको खाजाले पनि छाड्दै जान्थ्यो । दिउँसो १ बजे सिन्धुली पुग्यौैं । चालक विमल कराए ‘लौ आइपुग्यो सिन्धुली । अब झर्नोस्,’ । कमलामाई नगरपालिका वडा नम्बर —६ शान्तिनगर सिन्धुलीमा ए वान थकाली भान्सा घरमा बसेर थकाली खाना खायौँ । खानाको स्वादमा जादु थियो । भोकाएको बेला खाएको थकाली स्वादको वर्णन गरी साध्य छैन । म भने कहिले मुस्ताङ पुग्न पाइएला भन्ने सोचमा रमाउँदै थिएँ ।
सिन्धुलीबाट करिब २ बजे चालक विमलले यात्रालाई अघि बढाए । सायद खाना खाएरै होला त्यसपछि हामी थुप्रैजना मस्त निन्द्रामा पर्यौं । बेला बेला गाडीमा गीत बज्थ्यो । आज पोखरा बस्ने कि अन्तै बस्ने समूहमा छलफल हुन्थ्यो । पोखरा पुग्न अघि नै बास बस्ने टुङ्गो लाग्यो । हामीले आ आफ्नै तरीकाले साथीभाइहरुसँग फोन गरेर बस्ने होटल लजका विषयमा सोधीखोजी गर्यौं । झमक्कैे साँझ प–यो मुग्लिन बजार टेक्दा । बेलुका ७ बजेकै आसपास हामी पुगेका थियौँ मुग्लिन बजार । त्यसदिनको हाम्रो यात्रा त्यहाँबाट अघि बढेन । रात पर्दै थियो, बास त खोज्नुपर्यो । धादिङको गजुरीबाट ४६ किलो मिटर अघि मुग्लिन । मुग्लिन पृथ्वी राजमार्ग र मदन आश्रित राजमार्गको चोक रहेको चितवन जिल्लाको पहाडी क्षेत्रको प्रमुख बजार रहेछ । भरतपुरबाट ३६ कि.मी राजधानीबाट ११० कि.मी तथा पोखराबाट ९० कि.मी.को दूरीमा रहेछ मुग्लिन बजार । दुई चारवटा होटल चाहार्यौं । अनि माडवाडी भोजनालय बैष्णव लजमा हामी बस्ने टुङ्गो लाग्यो । कसैले रोटी त कसैले भात खाएर हामी सुत्न गयौँ । उपप्रमुखज्यूले ‘बिहान चाँडै हिड्नु पर्छ, चाँडो सुतौं ’ भन्नुभयो । समयमै पोखरा पुगेर त्यहाँको काम सकेर यात्रा जोमसोमको लागि अघि बढ्ने योजनामा थियौं हामी ।
भोलिपल्ट बिहान उठेर एकपटक मुग्लिन बजारलाई नियालें । उस्बेलाको मुग्लिनले निक्कै काँचुली फेरिसकेको रहेछ । उस्बेला काठमाडौं जादा रात्री बसहरुले मुग्लिनमा पनि खाना खुवाउँथे । बिहान ५ बजे हामीले हतारहतार झोला कस्यौ ँ। तल झरेर झोला राख्यौँ गाडीमा । हाम्रो गन्तव्य पोखरा । मुग्लिन पोखरा सडक विस्तार भएका कारण यात्रा निक्कै सहज भयो । थोरै मात्र कच्ची रहेछ सडक । एकतर्फी कालोपत्रको काम चलिरहेको मुग्लिन पोखरा सडकलाई छिचोल्दैं हामी बिहानको साढे आठ बजेतिर पोखरा पुग्यौ । जानु थियो पोखरा महानगरपालिका । तर, कार्यालय खुल्ने समय निक्कै भएकाले पहिलो पटक पोखराको पर्यटकीय क्षेत्र लेकसाइड हाम्रो रोजाइमा पर्यो ।
तालबाराही मन्दिर कास्की जिल्लाको पोखरा स्थित प्रसिद्ध मन्दिर हो । फेवातालको बिचमा रहेको यो मन्दिरमा सधैँ दर्शकको भीडभाड रहन्छ । हिन्दु धर्माबलम्बीको मन्दिर भए तापनि सबै धर्मका व्यक्तिहरु यहाँ प्रवेश पाउँदछन् । पूजाआजा गर्नकै लागि हाम्रो टोली तालबाराही मन्दिर जाने निर्णयमा पुग्यो । डुङ्गा चढेर मन्दिर पुगेर फर्किनका लागि एकसय रुपैयाँको टिकट लिनुपर्ने रहेछ । अधिकृत इन्दिरा खरेलले हामी आठैजनाको टिकट लिनुभयो । काउण्टरले पनि हामीलाई सुरक्षित सामग्री दियो । पूजाका सामान लिएर डुङ्गा चढेर फेवातालको पानी खेलाउदैं हामी तालवाराही मन्दिरतर्फ लम्कियौं । डुङ्गा खियाउने एकजना १८-२० वर्ष जतिका भाइ थिए ।
पूजाआजा गरेर हामी अर्काे डुङ्गामा फर्कियौ । सवैले चिया पिउने काम भयो । एककप रातो चियाको मूल्य ३० रुपैयाँ । म त छक्क परेँ । मैले भने ‘कति महँगो ।’ कुन्दन निरौलाले भन्नुभयो —‘त्यसकारण त पोखरा अनि लेकसाइड र पर्यटकीय क्षेत्र हो ।’ त्यति गर्दा विहानको झन्डै १० बज्न लागेको थियो । त्यसपछि डेभिस फल्स गुप्तेश्वर महादेवलगायतको घुमेर हामीले नजीकै होटल मिठोमा विहानको खाना खायौं । खाना खाएर हामी सोझै पोखरा महानगरपालिका पुग्यौं । उपप्रमुख मन्जु गुरुङले हामीलाई स्वागत गर्नुभयो । करिब दुई घण्टाको बसाइमा पोखरा महानगरपालिकाको तर्फबाट उहाँले प्रदान गर्नुभएको न्यानो आतिथ्यता तथा सदाशयताका लागि झापाली प्रतिनिधिमण्डल तथा व्यक्तिगततर्फबाट उपप्रमुख मीना पोख्रेल उप्रेतीले महानगरपालिका तथा उपप्रमुख मन्जु गुरुङप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
दुई पालिकाबीच असल अभ्यासको आदान प्रदान भयो । देशका सबै पालिकाबीच समन्वयको आवश्यकतामा जोड दिँदै पालिकामा भएका असल अभ्यास एक अर्का पालिकामा आदान प्रदान गर्नुपर्नेमा दुवै उपप्रमुखहरुको जोड थियो । संघीयताको सफलताका लागि स्थानीय तहबीच समन्वय हुनुपर्ने पोखरा महानगरपालिकाको धारणा पनि रहेछ ।
सुशासनसँग सम्बन्धित विभिन्न विषयगत क्षेत्रहरूमा स्थानीय तहहरूबाट अनुभवको आदान–प्रदान हुने यस अन्तरकृया कार्यक्रमबाट स्थानीय तहको सेवा प्रवाह सुधार हुने, स्थानीय तहले स्थानीय आर्थिक विकास, विद्युतीय सुशासन, सार्वजनिक वित्त व्यवस्थापन, नवप्रवर्तन साझेदारी कोष, आवधिक योजना लगायतका विषय क्षेत्रमा स्थानीय सरकारहरूले गरेका असल अभ्यास र प्रयासहरू एक अर्काबीच आदान प्रदान गर्नुपर्ने आशा व्यक्त गर्दै हामीले पोखरा महानगरपालिकाबाट बिदा माग्यौं । पोखरा महानगरपालिकाका मन्जु गुरुङले हाम्रो भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै बिदा दिनुभयो । हामी जानु थियो मुस्ताङ । पर्वत जिल्लालाई छिचोल्ने क्रममा कुश्मा नगरपालिका समेत हाम्रो रोजाइमा थियो । त्यहाँ नगर प्रमुख रामचन्द्र जोशी काम विशेषले काठमाडौं जानु भएको, उपप्रमुख स्वास्थानी रिजाल बाहिर भएका कारण प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले मिठो चियाको चुस्कीसहित हाम्रो टोलीलाई स्वागत गर्नुभयो । त्यहाँ पनि निक्कै बेर भलाकुसारी भयो । स्थानीय तहले भोग्नु परेका सारागारा अप्ठयारा विषयमा कुराकानी भए । न्यायिक शाखाका कर्मचारी, न्यायिक सहजकर्ताहरुले त्यहाँको न्याय सम्पादनका विषयमा हाम्रो टोलीलाई जानकारी गराए ।
पर्वतबाट अघि बढ्दै जादाँ हाम्रो यात्रा म्याग्दी जिल्लाको बेनी नगरपालिकामा पुगेर अडियो । जहाँ हाम्रो टोलीलाई उपप्रमुख ज्योति लामिछाने पौडेलले स्वागत गर्नुभयो । त्यहाँ पनि पालिकाको कार्य सम्पादन, न्यायिक समितिमा आउने मुद्दाका प्रकार, न्याय सम्पादन तथा अहिले सम्मका असल अभ्यासलगायत विभिन्न विषयमा कुरा भए । असल अभ्यास आदान प्रदान गर्ने पद्धतिले नागरिकलाई सु–सुचित गर्नुका साथै संघीयतालाई संस्थागत गर्न थप सहयोग पुग्ने विश्वास पालिकाका उपप्रमुखहरुले व्यक्त गरे । स्थानीय तहका असल अभ्यासलाई नतिजामुखी बनाउनु पर्ने र यस्ता अन्तरकृया कार्यक्रमहरूलाई स्थानीय तहका उत्पादनहरूको प्रवर्धन गर्ने अवसरको रूपमा समेत लिनुपर्ने विचार दुवै पालिकाका उपप्रमुखको भनाइ थियो । स्थानीय तहका ‘असल अभ्यास’ आदान प्रदान कार्यक्रम निक्कै प्रभावकारी बन्ने उहाँहरुको निचोड पनि थियो ।
म्याग्दी नगरपालिकाको चमेना गृहमा खिर र तरकारी खाएपछि सोझै हाम्रो यात्रा मुस्ताङतर्फ अघि बढ्यो । किन भने, घरपझोङ गाउँपालिका जोमसोम, मुस्ताङ हाम्रो योजनमा थियो । घासा पुगेपछी मुस्ताङको सिमाना सुरु हँुदो रहेछ । त्यहाँवाट उता भने बाटो अलि सहज छ । केही अगाडिबाट पहिलो पटक धौलागिरी देखिन्छ । लेते पुगेपछि त झन् वरिपरि हिमालै हिमाल देखिन्छ । मुस्ताङको लेते भन्ने ठाउँबाट अगाडि बढेपछि हिमालपारि पुग्न सुरु हुने रहेछ । दायाँबायाँ धौलागिरि र अन्नपूर्ण हिमशृङ्खला रहेछन् । बाटो साँघुरो रहेको र ठाउँ ठाउँमा हिलो थियो । कहीँ पक्की त कहीँ कच्ची अनि उकालो र ओराला सडकलाई छिचोल्दै र एकपछि अर्को ठाउँ छोड्दै हामी पुग्यौँ जोमसोम । जोमसोम चिसो ठाउँ रहेछ । कता कता चिसो भयो मलाई । मनदेखि मुस्ताङ छुने तातो इच्छा छ । त्यसैले बाहिर बढिरहेको जाडोलाई भित्रभित्रै दबाएर म हात बाँधेरै भए पनि बसेँ । बाटामा मोटरसाइकल हाँक्दै र ब्याग बोकेर हिडेने संख्या समेत दाहोरी लत्ता थियो । हामीले शङ्का गर्यौँ यी बाइक पनि मुस्ताङतिर लागेको हुनुपर्छ ।

साँझ सातबजे हामीले जोमसोम, मुस्ताङ टेक्यौ । पर्यटकको भीड लाग्ने समय भएकाले होटल भेट्न सजिलो भएन । बल्ल बल्ल नन्दिता रेस्टुरेन्ट एन्ड होटलमा कोठा मिल्यो र बास बस्यौं । खासगरी, मुस्ताङ जिल्ला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनीमा आफ्ना पितृहरुको श्राद्ध गर्न र मुक्तिनाथ दर्शन गर्नका लागि नेपालका अधिकांश जिल्लाका साथै भारतबाट समेत बर्सेनि हजारौँ भक्तजन आउने गरेका कारण पनि जोमसोमका होटलहरु भरिभराउ हुदाँ रहेछन् । शुक्रबार बिहान हामीले पहिलो मुक्तिनाथ जाने निधो गर्यौं । जब मुक्तिनाथतर्फ यात्रा अघि बढ्दै थियो । भान्जा विमलले सोधे‘ कागवेनी पनि जाने कि ? हामीले मुन्टो हल्लायौं । जोमसोमबाट हाम्रो यात्रा कागबेनीतिर सुरु भयो । कालीगण्डकीको स्वच्छन्द रूप देखिएकै छ बायाँतिर । बगरको फराकिलो रूप अचम्म लाग्दो छ । जोमसोमबाट हिँडेको आधा घण्टा जतिमा पुगियो कागवेनी छेउ । कागवेनीवाट मुक्तिनाथ जाने र उपल्लो मुस्ताङ जाने बाटो छुट्टिने रहेछ । उपल्लो मुस्ताङ जाने बाटो अझै तिरैतिर जान्छ भने मुक्तिनाथ जाने चाहिँ आडैको दाहिनेतर्फको पहाडतिर उक्लिन्छ । मुक्तिनाथ जोमसोमवाट २१ कि.मी. टाढा रहेको भन्ने मलाई म्याग्दीका पत्रकार मित्र प्रताप बानियाँले भन्नुभएको थियो । जोमसोम देखि नै हावा निक्कै चलिरहेको थियो ।
कागबेनीबाट उकालो लागेपछि कालीगण्डकीको तिरैतिर हुने यात्रा सकिँदो रहेछ । धार्मिक तीर्थस्थल बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी श्राद्धस्थलमा सर्वसाधारणको निक्कै ठूलो भीड लागेको थियो । कागबेनी श्राद्धस्थल अन्य तीर्थस्थल भन्दा उत्तम भएकाले यहाँ श्राद्ध गर्न जानेहरुको सङ्ख्या ठूलो हुने रहेछ । कागबेनीमा मुक्तिनाथबाट आएको खोला र कालीगण्डकीको दोभान रहेछ । यही दोभानमा बाबुआमा नहुनेहरूले तीर्थश्राद्ध गर्दछन् रे । त्यहाँ केही समयको आनन्द लिएपछि हामीलाई लिएर गाडी मुक्तिनाथतर्फ अघि बढ्यो । मुक्तिनाथतिर उक्लँदा बाटामा थुप्रै झरना देख्यौं । मुक्तिनाथ तीन हजार आठसय मिटरको उचाइमा रहेछ । उचाइमा आएकाले होला शारीरिक रूपमा केही गाह्रो भइरहेको थियो । बिहान नौ बजे हामी मुक्तिनाथको मन्दिर पुग्यौँ । पूजा समाग्री किनेर हामी पनी मुक्तिनाथ मन्दिरका खुट्किला उक्लन थाल्यौँ । एक दुई खुट्किलो उक्लदैँ सास फुल्ने हुनाले बिस्तारै मन्दिर परिसर हेर्दै अगाडि बढ्यौँ । मुक्तिनाथ मन्दिर भन्दा उत्तर पट्टि वरिपरि नै धारा रहेछन् । सबै धाराको पानीले नुहाउनुपर्छ भनेर मान्छेहरू लहरै धारा वनाएर खसालिएका पानी टाउकोमा पार्दै दगुरिरहेको दृश्य कम लोभ लाग्दो थिएन । १०८ धाराबाट झरर पानी झरिरहेको थियो । शिरमा जल सेचन गरेपछि मन्दिरमा पूजाका लागि लाम बस्यौं । एक सय आठ धारामा नुहाएर काँप्दै पूजा गर्न लहरबद्ध हुने मानिसहरु पनि थुप्रै थिए । केही मानिसहरु दर्शनका लागि दक्षिण भारतबाट आएका रहेछन् ।
त्यहाँको पूजाआजा सकेर हामी सोझै मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका छिरियो । जहाँ उपाध्यक्ष जमुना थापा मगरले हामीलाई खादा पहिर्याएर स्वागत गर्नुभयो । खास गरी मुस्ताङ जिल्लाले कृषि र पर्यटनका क्षेत्रले परिचित रहेछ । यो कुराबाट उहाँबाट थाहा भयो । दुवै पालिकाका विषयमा छलफल भए । ५ वटा वडा रहेछ घरपझोङ गाउँपालिकामा । अहिले पनि गाउँ बुढाकै चलन रहेछ त्यहाँ । करीव आधाघण्टाको भलाकुसारी पछि हाम्रो टोली पोखरा तर्फ हिड्यो ।
पोखरा आइपुग्दा झम्मकै साँझ परिसकेको थियो । बाटामा बागलुङ भगवतीको दर्शन गर्दै पोखरामा बास बस्न आइपुगेका थियौँ । शुक्रबार पोखराको बासपछि शनिबार बिहान यात्रा सोझै पूर्वघरतर्फ लाग्यो । शनिबार हेटौडाको शहिद स्मारक हेदैं बर्दिबास आइपुग्दा रात परेका कारण बास भने होटल यसमा भयो । आइतवार दिउँसो टोली झापा आइपुगेको थियो ।
-मुस्ताङबाट फर्केर

























