११ चैत, मेचीनगर : म, मलाई र मेरो परिवारभन्दा माथि मानवीय सेवाको लागि प्रेरित गर्ने, बाबा आमाको महत्व र महिमा बोध गराउँर्दै राष्ट्र राष्ट्रियता र मातृभूमिप्रतिको सम्मान बढाउनेलगायतका उद्धेश्यसहित झापामा दुई दिने ‘आमा सेमिनार’ कार्यक्रम हुने भएको छ ।
आयोजक मानवसेवा आश्रम, मानवता प्रवद्र्धन महाअभियान शाखा कार्यालय मेचीनगर -४ झापा शाखाले आज काँकरभिट्टामा पत्रकार सम्मेलन गरी झापामा पहिलो पटक आगामी चैत १७ र १८ गते सेमिनार आयोजना गर्ने तयारी गरेको जानकारी दिएको छ ।
सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र नेपालको अभियान-२०८२ को लक्ष्य प्राप्तिका आधार तय गर्न, पारिवारीक सम्बन्धमा बढेको तिक्ततालाई न्यूनिकरण गरी सम्बन्ध समधुर बनाउनका लागि, सामाजिक तथा पारिवारिक भावना जगाई जिम्मेवार र कर्तव्यनिष्ठ नागरिक बनाउने, व्यक्तिगत सिर्जनशीलता, रचनात्मक, सामाजिक मुल्यमान्यताहरुसहित सकरात्मक सोचको विकासका लागि पथप्रदर्शन गर्ने, अहंकार, रीस,घमण्ड, लोभ जस्ता नकरात्मक मानवीय संवेगहरुलाई कम गरी दया, स्नेह, प्रेम करुणा र अनुशासन जस्ता सकरात्मक आचरण विकासका लागि प्रेरित गर्दै सामाजिक व्यक्तित्व निर्माणमा सहयोग गर्ने उद्धेश्यका साथ सेमिनार झापाको कन्काई नगरपालिकाको सुरुङ्गा र मेचीनगर नगरपालिकाको काँकरभिट्टा र बाहुनडाँगीमा हुने मानवसेवा आश्रम मानवता प्रवद्र्धन महाअभियान शाखा झापाका जिल्ला संयोजक खगेन्द्र विश्वकर्माले पत्रकार सम्मेलनमा बताए ।
चैत १७ गते दिउसो १ देखि ३ बजेसम्म कन्काई नगरपालिका- ३ सुरुङ्गा कन्काई उद्योग बाणिज्य संघको सभाहल । १८ गते बिहान ७ देखि ९ बजेसम्म झापाको मेचीनगर नगरपालिका- ६ काँकरभिट्टास्थित मेची सामुदायिक हलमा विद्यार्थीलाई लक्षित गरी कार्यक्रम तय गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा जनाईएको छ । सोहि दिननै बिहान ११ देखि १ बजेसम्म अन्य समुदायलाई लक्षित गरी सोहि स्थानमा र मेचीनगर -४ का विभिन्न समूहलाई लक्षित गरी दिउसो ४ देखि ५ बजेसम्म बाहुनडाँगी सामुदायिक हलमा सेमिनार हुने छ । मानवसेवा आश्रम मानवता प्रवद्र्धन महाअभियानका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सहजीकरण गर्ने सेमिनारमा युवा विद्यार्थी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत कर्मचारी, समाज परिवर्तनका लागि जागरुक महिला समूहरु, आमा समूहरु, सरोकारवाला संघ संस्थामा कार्यरत जनशक्तिहरु र समाजसेवीहरुलाई आयोजकले लक्षित समुहका रुपमा राखेको छ । युवाहरु राष्ट्रका धरोहर, वकासका संवाहक युवा वर्ग जस्को उर्जा र आत्मविश्वासमा थप सामाजिक र पारिवारीक भावना जगाउन सके यस प्रकारले सुशिक्षित युवा पिँढीबाट समाजको सकरात्मक रुपान्तरण हुने अपेक्षा राख्न सकिने झापा संयोजक विश्वकर्माले विश्वास व्यक्त गरे । कार्यक्रममा मानवता के हो ? तथा आश्रममा रहेको आमाहरुको कथा वर्णन गरीने छ । कार्यक्रमका मुख्यः पात्रका रुपमा नै आमाहरु हुनेछन् । त्यो कार्यक्रम धेरैका लागि प्रेरणा बन्ने आयोजकको दबी छ । जस्ले हरेकलाई यो धर्तीमा ल्याउने माध्यम बनेर देशको असल नागरिक बनाए तीनै आमारुपी देवीहरुलाई सम्मान गर्ने र उनीहरुको योगदानलाई नजीकबाट महशुस गरउने गरी कार्यक्रम तय भएको छ ।
जन्मदिने आमाबाबु जिउँदा देवताका प्रतिमूति भएकाले यो भाव र मर्म अनुरुपको यथेष्ट सम्मान प्रत्येक आमाबाबुले घरभित्रै पाउन सके त्यो घर नै मन्दिर हुने आयोजकले सेमिनारबाट अपेक्षा लिइएको छ ।
सामाजिक न्याय, खाना, नाना,छाना, शिक्षा तथा स्वास्थ्यको सहज पहँच सुनिश्चित गर्नु र प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार उपलब्ध गराउनु लोककल्याणकारी राज्यको प्रमुख दायित्व भएको भन्दैं मानवसेवा आश्रम मानवता प्रवद्र्धन महाअभियानका कोशी प्रदेश संयोजक गंगा थापाले यहि उद्धेश्यलाई आत्मसात गर्दै शारिरीक तथा मानशिक रुपमा अति कमजोर, सहयोगापेक्षी तथा सडक आश्रित मानवमुक्त नेपाल निर्माण गर्ने संकल्पका साथ २०६९ सालमा मकवानपुरको हेटौडामा मानवसेवा आश्रमको स्थापना भएको बताईन् । आश्रमले देशभरका सातवटै प्रदेशका २१ जिल्लामा फैलिएका २९ वटा सेवाकेन्द्र मार्फत करी २५ सय जना सडक आश्रित मानवहरुलाई मानवीय सेवा तथा संरक्षण प्रदान गरिरहेको पत्रकार सम्मेलनमा बताईन् ।
आश्रमलेसेवा प्रदानसँगै समाजको सकरात्मक रुपान्तरणका लागि विभिन्न सचेतनामूलक तथा प्रेरणमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । समाजमा पारिवारीक, मूल्यमान्यता, नैतिक संस्कार, र मानवीय भावनाको विकाश गरी प्रत्येक व्यक्तिलाईजिम्मेवार र चरित्रवान नागरिकका रुपमा रुपान्तरण गर्ने उद्धेश्यले आमा सेमिनार कार्यक्रम सञ्चालन गर्दै आएको प्रदेश संयोजक थापाले बताईन् ।
मानवसेवा आश्रम मानवता प्रवद्र्धन महाअभियान, अभिभावक परिवार झापाका संयोजक नीलकण्ठ तिवारी, सदस्यहरु रविचन्द्र नेपाल, विकास देवकोटा र सुवर्ण खड्काले पत्रकारहरुको जिज्ञशाको जवाफ दिएका थिए ।