निःशुल्क स्वास्थ्य शिविरमा संयौले लिए सेवा
९ माघ, मेचीनगर: झापाको मेचीनगर—७ स्थित सतिघट्टा गोमसरीमा नवनिर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्रको आइतबार उद्घाटन गरीएको छ । स्वास्थय सेवाबाट कोही पनि वंचित नरहो भन्ने सरकारको उद्देश्य अनुसार उक्त स्वास्थ्य केन्द्रको स्थापना गरिएको हो ।
चारकोठे पक्की भवनमा सुविधा सम्पन्न चारकोठे आधारभुत स्वास्थ्य सेवा केन्द्रको नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीको वाहुलीबाट उद्घाटन भएको हो । उत्त भवन धरै दिन को प्रयासबाट उद्घाटन कार्य सम्पन्न भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
विकासको पहिलो आधार भनेको स्वास्थ्य सेवा नै भएको भन्दैं प्रमुख अतिथि समेत रहनु भएका नगरप्रमुख आचार्यले स्वास्थ्य सेवालाइ विषेश प्राथमिकताका आधारमा अगाडी बढाइएको जानकारी गराउनुभयो ।
ग्रामीण भेकका धरै जसो जनताहरु गुणस्तरीय स्वास्थ्य सेवा नपाएर अकालमै मृत्युवरण गरी रहेको अवस्थामा यो आधारभुत स्वास्थ्य सेवा केन्द्रले यो समस्यालाई केही हल गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट प्रदान गरिने सेवाका बारेमा जानकारी गराउनुभयो ।
यस्तो पवित्र कार्यमा कुनै पनि प्रकारका पुर्वाहग्रही नगरी सवै जना हातेमालो गरेर जानु पर्ने र स्थानीयको साथ सहयोगको अपेक्षा गदैं नगरप्रमुख आचार्यले निकट भविष्यमा प्रयोगशाला र तथा दक्ष र अनुभवी जनशक्तिको व्यवस्थापन गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।
उपप्रमुख मीना पोखरेल उप्रेतीले नेपालको संविधानले प्रत्याभुत गरेको मौलिक अधिकार भित्र रहेको स्वास्थ्य सेवाले यस क्षेत्रको स्वास्थ्य सेवा विस्तारमा ठुलो मद्धत पुग्ने कुरामा आफु विश्वस्त रहेको विचार राख्नु भएको थियो । पालिकाको समग्र विकासमा स्वास्थ्य सेवाको अहम भुिमका रहने भएकोले मानव समाज जति सुकै विकसित भए पनि स्वास्थ्य सेवा प्रभावकारी हुन नसके विकास गर्न कठिन हुने र त्यसैले विकासको पुर्वाधार भनेको स्वस्थ्य सेवा नै भएको उहाँको तर्क छ । स्वास्थ्य सेवा घर घरमा प्रवाह गर्नकालागि स्थानीय सरकार लागि परेको उहाँको भनाई छ । नगरपालिकाले आफनो स्वास्थ्य केन्द्र मार्फत सेवा प्रवाह गर्नको लागि विभिन्न वडामा आधारभुत स्वास्थ्य केन्द्र निर्माण गरेको बताउनुभयो । नगरपालिकाले वडानम्बर ३, ५,७, ८ र १३ मा आफनै भवनबाट आधारभुत स्वास्थय सेवा प्रदान गरिरहेको छ । वडानम्बर १ को निर्माण कार्य सम्पन्न भएको छ । २ को निर्माण प्रक्रियामा छ भने १२ मा जग्गा व्यवस्थापन भइसकेको स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिनुभयो ।
वडानम्बर ७ को अरनिको माध्यमिक विद्यालयले स्वास्थ्य केन्द्र निर्माण गर्न ३ कठ्ठा प्रदान गरेपछि भवन निर्माण भएको आधारभुत स्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा वडानम्बर ७ का कार्यवहाक वडाध्यक्ष नेत्रप्राद दाहालले जानकारी दिनुभयो । उहाँकै अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा,वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, विभिन्न राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरु, स्थानीय वुद्धिजिवी नागरीक समाज, शिक्षक कर्मचारी, महिला स्वयम्सेविकालगायत स्थानीय अगुवाहरुको समेत बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले गर्नुभएको र स्वागत वडा सदस्य शान्ता दर्नालले गर्नुभएको थियो ।
स्वास्थ्य सेवा केन्द्रको उद्घाटनका अवसरमा महिलाहरुको आङ्ग खस्ने तथा पाठेघरको मुखको क्यान्सर पूर्व परीक्षण भिआइए सम्बन्धि स्क्रिनिङ्ग तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो । सो शिविरबाट धेरैले सुविधा लिइएको स्वास्थ्यकर्मी सुष्मिता रायमाझी खरेलले जानकारी दिनुभयो ।
