२२ भदौ, काठमाडौं । हङकङमा संसदीय निर्वाचन एक वर्ष स्थगित गर्ने निर्णयविरुद्ध हङकङमा आइतबार प्रदर्शन भएको छ । यो प्रदर्शनको क्रममा करिब तीन सय मानिसहरु प्रक्राउ परेका छन् । हङकङमा सेप्टेम्बर ६ मा निर्वाचन हुने तालिका थियो । तर, कोरानेा भाइरस (कोभिड-१९) को महामारीको कारण सरकारले यो निर्वाचन एक वर्ष पछि सार्ने निर्णय गरेको थियो ।
प्रदर्शनकारीहरुले सरकारले एक वर्ष निर्वाचन पछि सार्दै मानिसहरुलाई मतदानको अधिकारबाट बञ्चित गर्न खोजेको आरोप लगाउँदै आएका छन् । यसले हङकङको स्वतन्त्रता पनि खोसिनसक्ने उनीहरुको आशंका छ ।
सन् १९९७ मा बेलायतले हङकङ चीनलाई सुम्पिएको थियो । चीनसँग भएको सम्झौता अनुसार हङकङलाई ५० वर्षसम्मको स्वायत्तता दिने निर्णय भएको थियो । गत वर्ष हङकङमा भएको जिल्ला परिषद्को निर्वाचनमा प्रजातन्त्र पक्षधर उम्मेदवारले १८ मध्ये १७ परिषद्मा जित हात पारेका थिए ।
यसअघि निर्वाचनको लागि तोकिएको मिति पारेर आइतबार हङकङमा प्रदर्शन गरिएको हो । उनीहरुले आफूहरुलाई मतदानको अधिकार फिर्ता दिन माग गरेका थिए ।
यसअघि विपक्षी दलका शीर्ष नेतालाई प्रहरीले घृणा फैलाउने अभिव्यक्ति दिएको र सरकारको अपमान गरेको भन्दै पक्राउ गरेको थियो । चीनले हङकङका लागि ल्याएको कडा किसिमको राष्ट्रिय सुरक्षा कानुन अनुसार उनलाई पक्राउ गरिएको थियो ।
स्रोत : बीबीसी