लक्ष्मी उप्रेती
२५ चैत, मेचीनगर : पछिल्लो समय विकसित सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । भारतको पश्चिम बंगाल राज्यसँग सिमाना जोडिएको पूर्वी नेपालको भारत सीमा क्षेत्र काँकरभिट्टामा नेपाल प्रहरीले उच्च सतर्कता अपनाएको जनाएको छ ।

कोशी प्रदेश प्रहरी केनाइन शाखा, धरानको तालिम प्राप्त कुकुरसहित आएको प्रहरी टोलीले बुधबार काँकरभिट्टामा चेकजाँच गरेको थियो । सार्वजनिक, तथा नीजि सवारी साधनलाई रोकेर तालिम प्राप्त कुकुरसहित चेकजाँच गरिएको एकजना प्रहरी अधिकृतले बताए । चेकजाँचमा कोशी प्रदेश प्रहरी केनाइन शाखा, धरानको तालिम प्राप्त कुकुरसहित आएको प्रहरी टोली, इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोली ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाको टोली खटिएको थियो ।

केही समय अघिदेखि सीमा इलाकामा आवश्यकताअनुसार आवतजावत गर्नेको परिचयपत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्यसमेत भइरहेको छ । सम्भावित आशंकित स्थानमा निगरानी एवम् चेकजाँच तथा सूक्ष्म रूपमा खबर संकलन कार्य समेत गरिराखेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक निशेष चापागाईँले बताए ।
सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरीले अन्य सुरक्षा निकायसँग समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्ने गरी वारपार गर्नेलाई निगरानी गर्ने कार्य समेत कडाइका साथ गरिएको प्रहरी नायव उपरीक्षक चापागाईँले बताए । उनले भने, ‘हामी सँग तालिम प्राप्त कुकुर नभएका कारण कोशी प्रदेश प्रहरी केनाइन शाखा, धरानको तालिम प्राप्त कुकुरबाट समेत चेकजाँच गरीरहेका छौ । यो मासिक वा दुई महिनामा गर्ने गछौं । ’ नेपाल–भारत सीमा क्षेत्रमा देखिएको आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने स्थानीय प्रशासनको मुख्य दायित्व भएकाले सबै सुरक्षा निकायसँग समन्वय गरी सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनले जानकारी दिए ।

नेपाल–भारत सिमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजीकरण गर्ने कार्य समेत प्रहरीले गरिरहेको छ । सहरी क्षेत्रका सम्भावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँहरूमा समेत निगरानी बढाइएको प्रहरीको भनाई छ । देशको राजनीतिक परिस्थितिका कारण शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै स-शस्त्र प्रहरीले समेत काँकरभिट्टा नाकामा कडा चेकजाँच र निगारानी बढाएको छ ।
चेकजाँचमा कडाई र शान्ति सुरक्षा कायम गर्ने सवालमा प्रहरी अहोरात्र खटिएको प्रहरीको भनाई छ । त्यस्तै पछिल्लो समय देशको राजनीतिक अवस्था घटनाले हातहतियारको ओसारपसार हुने सक्ने भन्दै यसलाई निस्तेज पार्न नाकामा तीब्र कडाइ गरिएको समाचार स्रोतको भनाई छ । नेपाल भारतको झापा खण्ड १४४ दशमलव २ किलोमीटर खुला सिमा रहेकाले त्यसै अनुसार सुरक्षाकर्मी परिचालन गरेर शान्ति सुरक्षा कायम गरिएको र दुई देशबीच खुला सिमाको फाइदा उठाउदै अपराधीहरुले अपराध गर्न सक्ने भएकाले दुबै देशका सुरक्षाकर्मीहरु मिलेर त्यसलाई निरुत्साहित पार्ने काम भईरहेको स-शस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

झापामा खुला सिमानाका कारण लागूऔषधको कारोबार तथा ओसारपसार रोक्न प्रहरीलाई चुनौतीपुर्ण रहेको झापा प्रहरीले जानकारी दिएको छ । नेपाल–भारत सीमाको परम्परागत आवतजावतलाई सहज बनाउन सचेत रहँदै सहजीकरण गरिएको साथै, शहरी क्षेत्रका संवेदनशील स्थानहरूमा पनि निगरानी बढाइएको प्रहरीले जनाएको छ ।





























