१ जेठ, मेचीनगर : स्थलमार्ग हुँदै पूर्वीनाका काँकरभिट्टाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्या सन् २०२५ को पहिलो चारमहिनामा घट्दो क्रममा छ । साथै काँकरभिट्टा नाका भएर नेपालछिर्ने भन्दा नेपाल छाड्ने बढी छन् ।
अध्यागमन कार्यालय काँकरभिट्टाका अनुसार सन् २०२५ को जनवरीदेखि अप्रिलमहिनासम्मको तथ्याङ्क हेर्दा हरेक महिना नेपाल प्रवेश गर्ने पर्यटकको संख्या ओरालो लागेको स्पष्ट हुन्छ । चारमहिनामा चार हजार तीनसय एकाउन्न जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । सोहि अवधिमा चार हजार छ सय ६१ जनाले काँकरभिट्टा नाका भएर नेपाल छाडेको अभिलेखले देखाएको छ । नेपाल प्रवेश गर्ने भन्दा छाड्नेको संस्था तीनसय १० जनाले बढि हो ।
कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार जनवरीमा काँकरभिट्टा नाका भएर एक हजार पाँचसय २८ जना पर्यटक नेपाल प्रवेश गरेका थिए । लगत्तै फेब्रुवरीमा त्यो संस्था घटेर एकहजार एकसय ५४ मा झ्रयो । जनवरीको तुलनामा फेब्रुवरीमा नेपाल आउने पर्यटकको संख्या तीनसय ७४ जनाले कम हो । यसैगरी मार्च महिनामा यो नाका भएर नेपाल प्रवेश गर्नेको संख्या निक्कै कम छ । नौसय ४५ जना नेपाल घुम्न आएको कार्यालयको अभिलेखमा छ । जनवरीको तुलनमा पाँचसय ८३ र फेब्रुवरी महिनाको तुलनमा दुईसय नौ जनाले कमि हो । यसले पनि हरेक महिना नेपाल प्रवेश गर्ने पर्यटकको संख्यामा गिरावट आएको पुष्टि हुने कार्यालय प्रमुख भट्टराईले बताए । अप्रिलमहिनामा साँतसय ४३ जना यो नाका भएर नेपाल घुम्न आएका थिए ।
भारत–पाकिस्तानबीच तनाव बढेका बेला नेपाल–भारतको सीमावर्ती क्षेत्रमा कडाइ गरिएको छ । नेपाल– भारतबीच रहेको खुल्ला सिमानाका कारण सीमावर्ती क्षेत्रबाट घुसपैठ हुन सक्ने आशंकासहित सुरक्षा व्यवस्था कडा पारिएको हो । यसले पर्यटक आगमनको कुनै असर नपरेको अध्यगमन कार्यालयको भनाई छ । भारतको काश्मिर राज्यस्थित पहलगाममा एक नेपालीसहित २७ जनाको आतंकवादीहरुले हत्या गरेपछि उत्पन्न घटनाक्रमलाई मध्यनजर गरी स्थानीय प्रशासनले थप सतर्कता बढाएको छ । आतंकवादी हमलापछि दुई छिमेकी राष्ट्र भारत र पाकिस्तानबीच उत्पन्न विवादले एक अर्का देशका नागरिकलाई देश निकाला गरिरहेको अवस्थामा भारत भएर नेपालभित्र पाकिस्तानी नागरिकले प्रवेश गर्न सक्ने स्थितिको आकलन गरी स्थानीय प्रशासनले थप सतर्कता अपनाएको हो ।
‘अहिलेको सिजन भनेकै पर्यटक कम आउने हो ’ कार्यालय प्रमुख भट्टराईले भने—‘ त्यसकारण पनि हरेक महिना पर्यटक आउने क्रम घट्दो अवस्थामा छ ।’ कोरोना महामारीपछि भारतले कुनै कारण नखुलाई काँकरभिट्टाको सीमावर्ती भारतीय नाका पानीट्याङङ्कीबाट तेस्रो मुलुकका पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिएको थिएन । भारतीय अवरोधका कारण लामो अवधिदेखि पूर्वीनाकाबाट स्थलमार्ग हुँदै पर्यटक नेपाल आउन पाएका थिएनन् । सन् २०२४ को अगस्त १ तारिखबाट मात्र भारतले पानीट्याङ्की नाका पर्यटकका लागि खुला गरेको थियो ।
‘कोरोना महामारी सकिएपछि नाकामा व्यापारिक कारोबार खुला भए पनि पर्यटकका लागि भारतीय अवरोध कायमै रह्यो’, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) कोशी प्रदेश समितिका पूर्वअध्यक्ष उदयकुमार श्रेष्ठले भने—‘ नाका खुला भएपनि अहिले अफ सिजन भएकाले पर्यटकको आगमन कम भएको हो ।’ नेपाल भित्रने अधिकांश पर्यटक भारतको दार्जिलिङ, सिक्किम हुँदै नेपाल आउने यहाँका पर्यटन व्यवसायीहरु बताउँछन् । ‘दार्जिलिङ र सिक्किम घुम्न आएका बेला एक पटक नेपाल भन्ने मनस्थिति पर्यटकमा देखिन्छ,’ श्रेष्ठ भन्छन् ।
यसैगरी यो चारमहिनाको अवधिमा काँकरभिट्टा नाका भएर जनवरीमा एकहजार नौसय ४०, फेब्रुवरीमा एकहजार ३८, मार्चमा एकहजार २२ र अप्रिल महिनामा छ सय ६१ जनागरी कुल चार हजार छ सय ६१ जना बारिहएका थिए । कोशी प्रदेश सरकारले २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ मनाउने घोषणा गरेको छ । कोशी प्रदेश सरकारले १५ लाख पर्यटक भित्रियाउने लक्ष्यसहित वि.स. २०८२ लाई ‘कोशी पर्यटन वर्ष २०८२’ घोषणा गरेर सुस्ताउँदै गएको कोशी प्रदेशको पर्यटनक्षेत्रलाई चलायमान बनाउन खोज्नु आफैमा सुःखद पक्ष हो । त्यसमा पनि पर्यटन व्यवसायीहरुका लागि त झनै खुशीको कुरा हो । तर, यसरी हरेक महिना पर्यटकको संख्यामा कमि आए यसको असर ‘कोशी पर्यटन वर्ष २०८२’ मा पर्ने हो कि भन्ने चिन्तासमेत छ । पर्यटन वर्ष २०८२ मा भारत, चीन, बङ्गलादेश र भुटानका पर्यटक कोशी प्रदेशमा भित्राउने प्रदेश सरकारले लक्ष्य लिएको छ ।
