१० मंसिर, मेचीनगर : झापाको मेचीनगर—६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबार उत्कृष्ट बचतकर्तादेखि ज्येष्ठ सदस्य र कर्मचारीलाई एउटै मञ्चमा सम्मान तथा पुरस्कृत गरेको छ । संस्थाको १२ औँ वार्षिक साधारण सभाको अवसर पारेर वर्षाेत्कृष्ट कर्मचारी बजार प्रतिनिधि कविता भण्डारीलाई नगदसहित दोसल्ला र सम्मान पत्र प्रदान गरियो ।
यसैगरी, संस्थाले उत्कृष्ट बचतकर्ताका रुपमा ठूली तामाङ र संस्थाका ज्येष्ठ सदसयहरु कुमार लामा, जनक बस्नेत, निर्मला घिमिरे, भुवनसिहं तामाङ, नरबहादुर बुढाथोकी, चन्द्रबहादुर गुरुङ र होमप्रसाद रिजाललाई दोसल्ला र मायाको चिनोले सम्मान गरिएको थियो । साधारण सभाका प्रमुख अतिथि तात्कालिन डिभिजन सहकारी कार्यालय झापाका पूर्व सहकारी निरीक्षक एवम् विर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, संस्थाका अध्यक्ष यज्ञप्रसाद मैनालीले दोसल्ला पहिर्याएर सम्मान पत्र, नगद र मायाको चिनो प्रदान गर्नुभएको थियो ।
अध्यक्ष मैनालीले कार्यक्रमको सभापतित्व गदैं सञ्चालक समितिकोतर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा संस्थाले शेयर पूँजीदेखि दायित्व तथा सम्पतिमा समेत वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा संस्थाको कुल पूँजी तथा दायित्व र सम्पति ३ करोड ५९ लाख ४ सय २६ रुपैयाँ भएको र गत आर्थिक वर्ष २०७७/०७८ मा सो रकम वृद्धि भएर ३ करोड ८४ लाख ४५ हजार १ सय ३६ रुपैयाँ पुगेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्ष २०७७/०७८ मा संस्थाको चुक्ता शेयर पूँजी ९१ लाख ७२ हजार ४ सय ४ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता शेयर पूँजी ५० लाख ६२ हजार २५ रुपैयाँ रहेको थियो । संस्थाले गत अर्थिक वर्ष २०७७/०७८ मा १३ लाख ९४ हजार १ सय ८४ रुपैयाँ कूल आम्दानी गरेको अध्यक्ष मैनालीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले चालु आर्थिक वर्ष २०७८/२०७९ मा शेयर पूँजी वृद्धि गरेर २ करोड पुर्याउने लक्ष्य लिएको छ । संस्थाको वासलात ३ करोड ४५ लाख रहेको छ । चालु आर्थिक वर्षसम्ममा संस्थाको आन्तरिक स्रोतहरु शेयर, बचत, संस्थागत पूँजी, र अन्य स्रोतहरु बैंक वित्तिय संस्थाबाट आवश्यकता अनुसार कर्जा लिएर कुल पूँजी तथा दायित्व ६ करोड पुर्याउने लक्ष्य लिइएको छ । संस्थाले लिएको यो लक्ष्य प्राप्ति गर्न संस्था सामु धेरै चूनौती रहेको अध्यक्ष मैनालीले बताउनुभयो । कोभिड १९ को सक्रमण बढ्ने संकेत देखिएको भन्दैं उहाँले कोभिड १९ को प्रभावबाट सदस्यहरुको व्यवपार व्यवसाय राम्ररी सञ्चालन हुन सकेन भने ऋणको भाखा नाघ्न गएर कर्जा जोखिममा पर्ने उहाँले बताउनुभयो । यो जोखिमलाई व्यवस्थापन गर्नुपर्ने चूनौती संस्थामा थपिएको अध्यक्ष मैनालीले स्पष्ट पार्नुभयो ।
नयाँ सहकारी ऐनले नीतिगत तथा कानुनी रुपमा पार्न सक्ने कठिनाई, शेयर सदस्यहरुले प्राप्त गरिरहेको सेवा सुविधा, स्वास्थ्य योजना, सामाजिक सुरक्षा कार्यक्रम र जन उत्तरदायि सामुदायिक कार्यक्रमलाई निरन्तरता अझ बढाउँदै लैजानुपर्ने चूनौती संस्था समु थपिएको उहाँको तर्क छ ।
कार्यक्रमको उद्घटान सत्रमा बोल्दैं प्रमुख अतिथि दाहालले हरेक सहकारीले सहकारीका मूल्य, मान्यता र सिद्घान्तलाई आत्मसाथ गरेर अघि बढ्न सुझाँव दिनुभयो । उहााले अरु सहकारीले जे गरी रहेका छन् त्यसैको सिको सिकेर अघि बढ्न खोजे वा अन्य संस्थाको नक्कल गरे सहकारी दुघर्टनामा पर्न जाने भएकाले त्यसमा सजक रहन सञ्चालकलाई आग्रह गर्नुभयो । उहाँले प्रतिवेदनमा यो गर्छु त्यो गर्छु भनेर शेयर सदस्यहरुलाई मख्ख पार्नुभन्दा त्यसो गर्न जगेडाकोषमा कति रकम छुट्टयाइएको छ त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
निक्षेपकर्ताले बचत गरेको रकम ज्येष्ठ नागरिक सम्मान, उपचार गराउन वा अन्य कुनै पनि शीर्षकमा वितरण गर्ने हो भने संस्था धराशायी हुने उहाँको तर्क थियो । सहकारी सञ्चालन गर्न हिजोको जस्तो सजिलो नभएको भन्दैं उहाँले अब त कहि कतै सञ्चालकले निक्षेपकर्ताको रकम जोखिममा पर्ने कुनै काम गरे वा लिएर गायव भए तत्काल पक्राउ गरेर कारवाही गर्न सकिने सहकारी ऐन आएको बताउनुभयो ।
महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजकुमार दाहाल, आधूनिक बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष मेदनीप्रसाद खरेल, मखमली बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सदस्य लक्ष्मीदेखि खनियाँ, मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाका अध्यक्ष भगिरथ राई लगायतले कार्यक्रममा बोल्नुभएको थियो । संस्थाका व्यवस्थापक धनपति मैनालीले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागी सबैलाई संस्थाका उपाध्यक्ष गंगालाल गुरुङले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।


























