नागरिकताको अपमानजनक शब्द हटाउन कविराम पुगे सीडीओ कार्यालय

‘गाउँमा बोलाउने नाम कविराम नै भए पनि तत्कालीन प्रधानपञ्चले गरेको सिफारिसका आधारमा नागरिकता टोलीले कुकुर कामी लेखेर नागरिकता दियो’

A notice in Nepali from Mechinagar Ward No. 10

दैलेख — अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता सच्याउन गृृह मन्त्रालयले निर्देशन दिएको भोलिपल्टै मंगलबार दैलेखको भगवतीमाई गाउँपालिका–३ का कविराम कामी सदरमुकाम पुगे । आफ्नो नागरिकतामा ‘कुकुर कामी’ लेखिएकाले सच्याउन उनले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए ।

नागरिकतामा राखिएको अपमानजनक नाम सच्याउन मंगलबार जिल्ला प्रशासन पुगेका कविराम कामी (दायाँ) । तस्बिर सौजन्य : अमर सुनार

‘गाउँमा बोलाउने नाम कविराम नै भए पनि २०४६ सालमा तत्कालीन प्रधानपञ्चले गरेको सिफारिसका आधारमा नागरिकता टोलीले कुकुर कामी लेखेर नागरिकता दियो,’ उनले निवेदनमा भनेका छन्, ‘यस्तो नामले हीनता र अपमान भइरहेकाले परिवर्तन गरी कविराम कामीका नाममा प्रतिलिपि पाऊँ ।’

कविरामले वडा र गाउँपलिकाको सिफारिससहित प्रशासनमा निवेदन दिएका हुन् । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले निवेदन प्राप्त भएकाले सर्जमिन बुझ्न पठाएको बताए ।

‘यो नागरिकतासँगै उक्त नामबाट केके प्रमाणपत्र बनेका छन्, त्यसबारे बुझ्न पठाइएको छ,’ प्याकुरेलले भने, ‘छोराछोरीको नागरिकता बनाएको भए त्यो पनि सच्याउनुपर्छ । फास्ट ट्र्याकबाट कविरामलाई नागरिकता प्रदान गर्छौं ।’

विशेषगरी दलित समुदायका कतिपय व्यक्तिको नागरिकतामा अपमानजनक नाम राखिएको बारे कान्तिपुरले शनिबार विस्तृत समाचार प्रकाशन गरेपछि त्यसबारे संसद्मा समेत आवाज उठेको थियो । गृह मन्त्रालयले सोमबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै अपमानजनक शब्द भएका नाम सच्याउन र आगामी दिनमा यस्ता शब्द राखी नागरिकता जारी नगर्न निर्देशन दिएको थियो ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय दैलेखले मंगलबार सूचना प्रकाशित गर्दै विगतमा अपमानजनक शब्द प्रयोग गरी समाजमा हीनताबोध महसुस हुने गरी जारी भएका नागरिकता प्रमाणपत्र सच्याउने प्रक्रिया सुरु गरेको जनाएको छ । ‘सम्बन्धित प्रमाणपत्रहरू र वडा कार्यालयको सिफारिससहित प्रक्रिया पुर्‍याई सम्पर्क गर्न’ सूचनामा भनिएको छ ।
इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.