१० साउन, मेचीनगर : काेशी प्रदेश सभा सदस्य गाेपाल तामाङले हरेक जातजातिले आफ्नाे रीतिरिवाज, धर्म संस्कृति कला र पहिचान बचाँउनु पर्नेमा जाेड दिनुभएकाे छ । आफ्नाे धर्म संस्कृति र पहिचान लाेप भए जातजाति नै संकटमा पर्ने भन्दैँ उहाँले नयाँ पुस्तालाई आफ्नाे संस्कृतितर्फ आकर्षण गर्नुपर्ने जाेड दिनुभयाे ।
बुधबार झापाकाे मेचीनगर – ६ काँकडभिट्टामा नेवा: देय् दबु मेचीनगरको आयाेजना एवम् नेवा: समाज समिति काकरभिट्टाको सहआयोजनामा भएको लाखे तथा ठाकठुके नृत्य प्रशिक्षणकाे उद्घाटन गर्दैँ प्रदेश सभा सदस्य तामाङले नेपाल बहुजाति, बहुधार्मिक , बहुभाषिक जातजातिकाे बसाेबास रहेकाे मुलुक भएकाले आफ्नाे कला संस्कृति रीतिरिवाज लाेप भए आफ्नाे पहिचान पनि संकटमा पर्ने बताउँनुभयाे ।
आयाेजक संस्थाका अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षतामा भएकाे एकहप्ते प्रशिक्षणमा मेचीनगरकाे १५ वटै वडाका ३० जना सहभागी छन् । मेचीनगर नगरपालिकाकाे आर्थिक सहयाेगमा नेवा सामुदायिक भवनमा शुरू तालिममा सहभागीलाई थर्कमान श्रेष्ठले प्रशिक्षण प्रदान गर्नुहुने छ ।
संकटमा पर्दैँ गएकाे नेवारी समुदायकाे कला, संस्कृतिलाई लाेप हुनबाट बचाउँन तालिम शुरू गरिएकाे अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयाे । ” नयाँपुस्ता आफ्नाे कला, संस्कृतिबाट बेखवर छ” अध्यक्ष श्रेष्ठले भन्नुभयाे-” लाखेनाँच, धिमेबाजालगायत थुप्रै कुरा विर्सदैँ गएकाले यसतर्फ नयाँ पुस्तालाई आकर्षण गर्न पनि तालिम शुरू गरिएकाे हाे । ”
आयाेजक संस्थाका सचिव ललितबहादुर प्रधानले सञ्चालन गरेकाे उद्घाटन सत्रमा नेवा देय् दवु झापा अध्यक्ष रत्न श्रेष्ठ , पासा मुना पुच विर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठ , झिँगु नेवा खल धुलावारीका अध्यक्ष जीवनकुमार प्रधान, पासा मुना पुच नेवा : खल बाहुण्डाँगी अध्यक्ष महिन्द्र मल्ललगायतले बाेल्नु भएकाे थियाे ।
उहाँहरूले प्रशिक्षणमा सहभागी सवैले तालिम पश्चात सिकेकाे सीपलाई व्यवहारमा कार्यन्वयन गरेर नेवार समुदायकाे परम्परागत संस्कृति कला र पहिचान बचाउँनुपर्ने विचार राख्नु भएकाे थियाे ।
नेवा: समाज समिति काकरभिट्टा अध्यक्ष एवम् प्रशिक्षण कार्यक्रमको संयोजक कमल गुभाजुले सहभागी सवैलाई शब्दद्वारा स्वागत गर्नुभयाे ।



























