१९ पौष, बाहुडाँगी : झापाको मेचीनगर नगरपालिका —१ स्थित गडागल्लीमा ६५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । विहीबार कृष्णनगर विकास संस्था, महिला साँस्कृतिक समूहले स्थानीय सामूदायिक भवनमा आयोजना गरेको ज्येष्ठ नागरिक भेटघाट तथा चियापान कार्यक्रममा वडानम्बर १ र २ का ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती विशिष्ट अतिथि वडानम्बर २ का वडाध्यक्ष दीपक बरालले ९१ वर्षीया धनमाया आले र ९० वर्षीय पदमबहादुर बस्नेतलाई फूलमाला टीका र अविर दोसल्ला पहिर्याएर कार्यत्ररमको प्रारम्भ गर्नुभएको थियो । त्यसपछि प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिलगायतले ६५ जना ज्येष्ठ नागरिकलाई संयुक्तरुपमा सम्मान गर्नुभएको थियो । कायृक्रममा बोल्दैं प्रमुख अतिथि नगर उपप्रमुख उप्रेतीले ज्येष्ठ नागरिक “जिउँदा देवता” भएकाले वर्तमानमा जे, जति उपलब्धी भएको छ, ति सबैका हकदार ज्येष्ठ नागरिक नै रहेको स्पष्ट पार्नुभयो ।
उहाँले बाल्यवस्था जस्तै वृद्धावस्थामा पनि माया, ममता, स्नेह र आधारभूत आवश्यकतामा परनिर्भर हुने बताउँदैँ ज्येष्ठ नागरिक अनुभवले खारिदैँ र जिवनका विभिन्न कठिनाई, आरोह, अवरोह पार गर्दे वृद्धावस्थामा पुगेको धारणा राख्नुभयो । जिवन र जगतका हरेक अप्ठयारा पार लगाउन सक्ने क्षमता ज्येष्ठ नागरिकमा हुन्छ भन्ने हेक्का सबैले राख्नु पर्नेमा उपप्रमुख उप्रेतीको जोड थियो ।
ज्येष्ठ नागरिकहरुले आयआर्जन गरेका ज्ञान, सिप र क्षमतालाई अन्तरपुस्ता हस्तान्तरणको प्रबन्ध मिलाउनु पर्छ र समाजका युवाशक्तिले यस्तो ज्ञान, सिप, क्षमता को उच्च मुल्याङ्कन गर्दे अनुशरण गर्नु आवश्यक रहेको छ किनभने अनुभव ज्ञानको स्रोत मध्येको उत्कृष्ट स्रोत हो ।
उपप्रमुख उप्रेतीले मनिसले बालक, किशोर, युवा र वृद्ध गरी चारकालको जिवन भोग्नुपर्ने बताउँर्दै मानव जिवनमा सबैभन्दा माया र प्रेरणा पाउने अवस्था भनेको बाल्यकाल हो भने चञ्चले र रमाउने अवस्था किशोरावस्था हो अनि जिम्मेवारीको पोको बोकेर अवसर र चूनौतीको सामना गदैँ दौडिने अवस्था हो युवावस्था, भने त्यहि युवावस्थाको रोजाई र भोगाईबाट खारिदैँ मानिस वृद्धावस्थामा पुग्ने स्पष्ट पार्नुभयो ।
‘युवाशक्तिले ज्येष्ठ नागरिकको अनुभव र सिपको उच्च मुल्याङ्कन गर्दे सम्मान गर्नुपर्दछ किनकी हामी माथि उनीहरुको ठुलो लगानी, त्याग र समर्पण छ ’ उहाँले भन्नुभयो—‘आजका बालकबालिका भोलीका ज्येष्ठ नागरिक हुन भन्ने भुल्नु नहुने र ज्येष्ठ नागरिकको सम्मानमा हामीले हेला र दुव्र्यवहार होइन, माया ममता र स्नेहको अंगालोमा बाध्न सक्नुपर्छ ।’ उपप्रमुख उप्रेतीले अब हरेक घर ज्येष्ठ सदस्य मैत्री हुनुपर्ने बताउँदैं घर भएपछि समाज र समाज हुदैँ वडा र सिङ्गो नगरपालिका ज्येष्ठ नागरिक मैत्री बन्ने स्पष्ट पार्नुभयो । ज्येष्ठ सदस्य हाम्रा अग्रज भएकाले अग्रजको मान सम्मान गर्नु हामी सवैको दायित्व रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि वडानम्बर २ का वडाध्यक्ष दीपक वराल, हिरण्यप्रसाद भट्टराई, टेकनारायण ढकाल र हिमा घिमिरेले बोल्नुभएको थियो । कृष्णनगर विकास संस्थाका सचिव केन्द्रप्रकाश दाहालले सञ्चालन र संस्थाका अध्यक्ष सुरेन्द्रबहादुर खड्काले स्वागत गर्नुभएको थियो । सहभागी ज्येष्ठ नागरिकलाई जलपान समेत गराईएको थियो ।
आयोजक संस्थाकी अध्यक्ष संगीता दाहालको सभापतित्वमा भएको कार्यक्रममा ज्येष्ठ सदस्यहरु छायाँदेवि दाहालले रामायण श्लोक, धर्मदेवी ढकालले संगिनी, नीलकुमारी आचार्यले शिलोक, जानुका विशुंखेले भजन, कमला न्यौपानेले रामायण र नर्वदा तामाङले गीत प्रस्तुत गर्नुभएको थियो ।


























