धुलाबारी, झापा । मेची उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि वैशाख २६ गते शनिबार धुलाबारीस्थित पासाङ ल्हामू स्मृति प्रतिष्ठानको टाउन हलमा भएको मतदानको अन्तिम परिणाम सार्वजनिक भएको छ। जम्मा १६०३ मत खसेकोमा १५८२ मत सदर र २१ मत बदर भएको यस निर्वाचनबाट खेमराज प्रसाईं दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। प्रसाईंले ७७३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी कपिल क्षेत्रीले ७३३ मत पाउनुभयो।
संघको वरिष्ठ उपाध्यक्ष पदमा आनन्द खड्का ७५८ मतका साथ विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी भुमी पौडेलले ७४५ मत प्राप्त गर्नुभयो। त्यसैगरी उद्योग उपाध्यक्षमा हरिप्रसाद कोईराला ७९५ मत ल्याएर निर्वाचित हुनुभएको छ, जहाँ भीमबहादुर कुँवरले ६४२ मत पाउनुभयो। वाणिज्य उपाध्यक्ष पदमा सन्तोष खवास ८०७ मतका साथ विजयी हुनुभएको छ भने तिलक थापाले ६२१ मत प्राप्त गर्नुभयो। महिला उपाध्यक्षमा उषा नेपाली श्रेष्ठ ७८० मतका साथ निर्वाचित हुनुभएको छ भने सुन्दरीकुमारी श्रेष्ठले ६५५ मत ल्याउनुभयो। निर्वाचनको सबैभन्दा रोचक प्रतिस्पर्धा महासचिव पदमा देखियो, जहाँ ध्रुव कनाल ७२४ मतका साथ विजयी हुनुभयो। उहाँले आफ्ना प्रतिस्पर्धी दिनेश शाक्यलाई मात्र ४ मतको अन्तरले पराजित गर्नुभएको हो, शाक्यले ७२० मत प्राप्त गर्नुभएको थियो।
महिला सदस्यतर्फ चम्पा नेम्बाङ ७५२ मत र कृष्णकुमारी प्रसाईं (कल्पना) ७४१ मतका साथ निर्वाचित हुनुभएको छ। सोही पदका अन्य उम्मेदवारहरू मीरा कार्कीले ५६९ र रमा आचार्य (राधा) ले ५५३ मत प्राप्त गर्नुभयो।
खुल्ला पुरुष सदस्यतर्फ १० जना निर्वाचित भएका छन्। जसमा अर्जुन तिवारी ८६६ मतका साथ सार्वाधिक लोकप्रिय मत ल्याउँदै विजयी हुनुभयो। अन्य निर्वाचित हुने सदस्यहरूमा आशिष संग्रौला (८२०), सचिन निरौला (७४९), तारा श्रेष्ठ (७३०), राजेशकुमार बंशल (६८२), जयकुमार श्राप-सुनार (६६३), खिरोज बराल-फिरोज (६४६), दिनेश पोखरेल (६४१), विनोदकुमार बानियाँ (६३७) र विजय गुप्ता (६२६) रहनुभएको छ। सदस्य पदकै अन्य उम्मेदवारहरू सुरज चौधरीले ५९४, चन्द्रबहादुर घोर्साईले ५७७, गोपिकृष्ण गौतमले ५६६, ललित अग्रवालले ५६१, मानबहादुर कटुवालले ५१९ र प्रबुल केसी क्षेत्रीले ४२९ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ।


























