📌 मुख्य बुँदाहरू:
- मुलुक अहिले असाधारण संकटमा रहेको भन्दै राष्ट्रको रक्षाका लागि सबै वामपन्थी तथा देशभक्त शक्तिहरू एक हुनुपर्नेमा जोड।
- नेकपा एमालेसहित मोहन विक्रम सिंह, मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलगायत सबै कम्युनिस्ट समूहलाई एकताका लागि आह्वान।
- विगतका सहकार्य र उतारचढावबाट पाठ सिकेर आग्रह, पूर्वाग्रह र सङ्कीर्णता त्याग्न नेताहरूलाई आग्रह।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सहित सबै वामपन्थी शक्तिहरूलाई देशको स्वाधीनता र संकट मोचनका लागि एकताको हात बढाउन आह्वान गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले मुलुक गम्भीर मोडमा रहेको बेला सबै राजनीतिक दल तथा समूहहरू एक हुनुपर्ने बताएका हुन्।
वामपन्थी एकता आजको वस्तुगत आवश्यकता
कार्यक्रममा बोल्दै संयोजक दाहालले देश गम्भीर संकटबाट गुज्रिरहेकोले व्यक्तिगत वा दलीय आग्रह, पूर्वाग्रह र सङ्कीर्णताको घेराबाट माथि उठेर राष्ट्रलाई सर्वोपरि राख्नुपर्नेमा जोड दिए। उनले विगतमा भएका सहकार्य र तिनका उतारचढावहरूको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताए।

‘केपी ओलीसमेत मोहन विक्रमजी समेत, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव लगायत सबै बाँकी कम्युनिस्ट समूहहरूलाई पनि आजको देशको वस्तुगत आवश्यकता बनेको छ,’ दाहालले भने, ‘कम्युनिस्टहरूको एकता, देशभक्त र लोकतन्त्रवादीहरूको एकता एउटा ऐतिहासिक आवश्यकता बनेको छ।’
विगतका अनुभवबाट पाठ सिकेर अघि बढ्ने जोड
विगतमा विभिन्न रूपमा सहकार्य र एकता गर्दा भोगिएका अनुभवलाई स्मरण गर्दै दाहालले हिजो माओवादी र एमालेका विभिन्न धारमा रहेका नेता तथा कार्यकर्ताहरूलाई जोड्ने मुख्य जिम्मेवारी अहिले पनि आफ्नै काँधमा रहेको बताए। आफ्नो सोचाइ र भावनालाई फराकिलो बनाउँदै देश र जनताको हितलाई केन्द्रमा राखेर मात्र अघि बढ्न सकिने उनको भनाइ थियो।





















