१० माघ, मेचीनगर : झापाको मेचीनगरमा पछिल्लो एकवर्षयता श्रृखलावद्घरुपमा भइरहेको टेलिफोनको केवुल ‐तार) चोरीका घटना अझै रोकिएका छैनन् । जस्का कारण टेलिफोन उपभोक्ता मारमा परेका छन् भने राज्यले लाखौं रुपैयाँ नोक्शानी व्योहोर्नु परेको छ ।
मेचीनगरकोे विभिन्न स्थानहरूबाट नेपाल टेलिकमको टेलिफोनको केवुल ‐तार) चोरी भएको उजुरी प्रहरीमा दैनिकजसो पर्ने गरेको थियो । त्यसपछि काँकरभिट्टा प्रहरीले चोरहरूको खोजी कार्य अगाडि बढाएको थियो । तर, पनि चोरीको घटना नरोकिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय काँकरभिट्टाले जनाएको छ ।
तार चोरी भएका कारण अहिलेसम्म नेपाल टेलिकम दूरसञ्चार कार्यालय काँकरभिट्टा अन्तर्गत वितरीत करीव साढे आठ सय टेलिफोन लाइन र त्यो सँगै वितरण भएका इन्टरनेट सेवा अवरुद्घ भएको कार्यालयका सहायक लेखा अधिकृत भोगेन्द्र आचार्यले बताउनुभयो ।
नेपाल टेलिकमले प्रयोग गर्ने टेलिफोनको तारको भित्री भागमा महँगो मूल्यमा बिक्री हुने तामा धातु हुने भएकोले आम्दानीका लागि तार चोरी हुने गरेको छ । तामाजडित तार निरन्तर चोरी भएकै कारण नेपाल टेलिकमले मेचीनगरमा ताररहित अप्टिकल फाइबरको राउटरयुक्त टेलिफोन वितरण गर्न थालेको छ । मेचीनगरक्षेत्रमा २२ सयभन्दा बढी टेलिफोन लाईन छन् । ती मध्ये चारसय बढीमा अप्टिकल फाइबरमा परिवर्तन भइसकेको आचार्यको भनाई छ । तार लगेर डढाएर तारको भित्री भागमा महँगो मूल्यमा बिक्री हुने तामा धातु निकाल्ने र विक्री गर्ने गरेको बताईएको छ ।
चोरी भएको ठाउँमा दिउँसो तार टाँगेर आए पनि फेरि पटकपटक राति चोरी हुने गरेको टेलिकमले जनाएको छ । चोरले बारम्वार रातिको समयमा टेलिफोनको तार काटि लैजाने गरेपछि उपभोक्ताहरु समेत आजित भएका छन् । काँकरभिट्ता नयाँ बस पार्क नजिकबाट एकसय पेयर, ५० पेयर, मेची भन्सार कार्यालय , सशस्त्र प्रहरी बल नेपाल बीओपी कााकरभिट्टा नजीकबाट १० पेयर, फायरिङ्ग चोकबाट एकसय पेयरको तार ठूलो मात्रामा चोरी भएको छ । जस्का कारण एकसय ५० वटा टेलिफोनसहित इन्टरनेट अवरुद्घ बनेको छ । नकलबन्दा, सालघारी, भट्टराई चोक, बर्मेली टोललगायतका क्षेत्रमा बढी टेलिफोनको केवुल चोरी हुने गरेको छ ।
दैनिक जसो तार चोरी भएपछि टेलिकमले जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय झापामा प्रहरी उपरीक्षक तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टमा प्रहरी नायव उपरीक्षकलाई समेत भेटेर घटनाका बारेमा लिखित तथा मौखिक जानकारी गराईसकेको छ । तर, टेलिफोनको तार चोरीमा संलग्न भएको आरोपमा अहिले सम्म कोहि पनि पक्राउ नपरेको गुनासो टेलिकमको छ । घटनामा संलग्नहरुको प्रहरीले गोप्यरुपमा खोजी गरिरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रहरी निरीक्षक होम अधिकारीले बताउनुभयो । केहिदिन अघिमात्र पनि शंका लागेर चारजनालाई प्रहरीले बोलाएर सोधपुछ गरेको उहाँको भनाई छ ।
मेचीनगरक्षेत्रमा लामो समयदेखि टेलिफोनको तार चोरीका घटना हुने गरेको टेलिकमले जानकारी गराएपछि स्थानीय प्रशासनले निक्कै चासोका साथ खोजी कार्य बढाएको र सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरेको उहाँको भनाई छ । मेचीनगर को विभिन्न स्थानहरूबाट नेपाल टेलिकमको टेलिफोनको तार चोरी भएको उजुरी प्रहरीमा परेको बताउँदै प्रहरी निरीक्षक अधिकारीले त्यसपछि काँकरभिट्टा प्रहरीले चोरहरूको खोजी कार्य अगाडि बढाएको जानकारी दिनुभयो । प्रहरीको सक्रियतासँगै चोरीका घटनामा केही कमि आएपनि चोरीका घटना नरोकिएको टेलिकमको भनाई छ ।

























