काँकरभिट्टा, २३ माघ | झापाको मेचीनगरमा सवारी दुघर्टना परी शुक्रबार एकजनाको ज्यान गएको छ । विहान साढे १० बजेतिर मेचीनगर —६ काँकरभिट बसपार्कमा पश्चिमबाट आएको को १ ख ६१६३ नम्बरको यात्रुबहाक बस हिमशिखर यातायातका सहचालक २४ वर्षीय सन्तोष खुलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताउनुभयो ।
भोजपुर हतुवागढी गाउँपालिका —१ बस्ने खुलाल बस बसपार्क प्रवेश गर्ने क्रममा ढोकाबाट चिप्लिएर खसेका थिए । लडेपछि बसको पछाडीको टायरले च्यापेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि आम्दा मेची अस्पताल धुलावारी लगिएको र १० बजेर ५५ मिनेटमा असपतालले मृत घोषण गरेको प्रहरी नायव उपरीक्षक राकेश थापाले बताउनुभयो ।
बससहित चालक मोरङ कानेपोखरीका २८ वर्षीय सबिन धिमाललाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । मृतक खुलालको शवलाई पोस्टमार्टनका मेची प्रादेशिक अस्पताल भद्रपुर लगिने प्रहरीले जनाएको छ ।

























