मेचीनगर, १८ फागुन : मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मौरी पालन किसानलाई मह उत्पादनको बजारीकरणमा नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नगरपालिकाले मेचीनगर–२, बौद्धमोडमा आयोजना गरेको आधुनिक मौरी पालनसम्बन्धी पाँच दिने तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले उत्पादन वृद्धि, प्रशोधन र बजार व्यवस्थापनका लागि किसानलाई आवश्यक सहजीकरण गरिने बताए।
उक्त तालिममा मेचीनगर–१, २, ३, ४ र ९ नम्बर वडाका करिब ६० जना मौरी पालन कृषक सहभागी भएका छन्। नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानका अनुसार प्रशिक्षार्थीहरूलाई दुई समूहमा विभाजन गरी तालिम दिइएको छ। सहभागीहरू मध्ये वडा नं. १ र ४ बाट १२÷१२ जना, वडा नं. ३ बाट १२ जना, वडा नं. ९ बाट १२ जना र वडा नं. २ बाट ६ जना रहेका छन्।
तालिममा इलामको रोङ गाउँपालिकाका मौरी पालन विज्ञ कुमार मुक्तान र कृषि प्राविधिक राम तामाङले प्रशिक्षण दिइरहेका छन्। उनीहरूले व्यावसायिक मौरी पालन, मह उत्पादन प्रविधि, आधुनिक प्रविधिको प्रयोग र बजार व्यवस्थापनका विषयमा कृषकहरूलाई जानकारी गराइरहेका छन्। साथै, झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत इन्टर्नसीप गरिरहेका दुई जना महिलाहरूले पनि तालिममा सहभागिता जनाएका छन्।
पाँच दिने यो तालिम फागुन २२ गते समापन हुनेछ। तालिमको उद्घाटन कार्यक्रम मेचीनगर–२ का वडाध्यक्ष दिपक बरालको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन सत्रमा स्वागत मन्तव्य आर्थिक विकास समितिकी संयोजक तिलजा देवानले दिएकी थिइन् भने कार्यक्रम सञ्चालन कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले गरेका थिए।
नगरपालिकाले कृषकहरूको क्षमता अभिवृद्धि गर्दै व्यावसायिक मौरी पालनलाई आधुनिकीकरण गर्ने योजना बनाएको जनाएको छ। मह उत्पादनमा वृद्धि ल्याई किसानहरूको आयआर्जन सुधार गर्न तथा उत्पादित महलाई बजारसम्म पुर्याउने व्यवस्था गर्न नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

























