
अमेरिकाको कुनै गाउँमा एउटा लुरे केटो बस्थ्यो । उसको परिवार अत्यन्त गरिब थियो । गरिबीकै कारणले उसको शरीरमा हत्तपत्त नयाँ लुगा पर्दैन थिए । केटाको परिवारले उसको स्कुलको शुल्क तिर्न समेत सक्दैनथ्यो । उनीहरु सित बस्नकालागि राम्रो घर समेत थिएन । यस्तोमा उसले ठीकसँग शिक्षा प्राप्त गर्न सकिरहेको थिएन । यसैकारण ऊ उदास रहन थाल्यो ।
एकदिन ऊ सडकको किनारमा उदास भएर बसिरहेको थियो । त्यतिखेरै एउटा मानिस टाउकामा धेरै सामान राखेर हिँडिरहेको उसले देख्यो । त्यतिखेरै त्यो मानिस कतै ठोक्किएर लड्यो । यो देख्नासाथ त्यो केटो उसको छेउमा गयो र उसलाई सहारा दिएर उठाइदियो । त्यो मानिसले उसलाई आफ्ना केही सामान बोकेर स्टेसनसम्म पुर्याइदिन आग्रह गर्यो । त्यस केटाले पनि केही नबोली सामान बोकेर खुरुक्क स्टेसनसम्म पुर्याइदियो ।
केटाको सहयोगका लागि त्यस व्यक्तिले उसलाई पुरस्कारका रुपमा केही पैसा दियो । त्यो पैसाले उसले किताब किन्यो । त्यसपछि ऊ सधैं स्टेसन जान आउन थाल्यो र मानिसलाई सहयोग गरेर पैसा कमाउन थाल्यो । यसरी उसले कडा मिहिनेत गरी पढाइ पूरा गर्यो । ऊ कानुन व्यवसायी बन्न चाहन्थ्यो । आखिर आफ्नो मिहिनेतको बलमा ऊ साँच्चै कानुन व्यवसयी बन्न सफल भयो । यही केटो एकदिन अमेरिकाको सोह्रौं राष्ट्रपति बन्न समेत सफल भयो । जसको नाम थियो अब्राहम लिंकन ।
(नेपाली साहित्यमा निरन्तर कलम चलाउने रिजाल पेशाले शिक्षक हुनुहुन्छ)

























