चुलियो आयल निगमको घाटा, नयाँ मूल्य सूचीअनुसार घाटा अझै बढ्न सक्ने

A notice in Nepali from Mechinagar Ward No. 10

१ कार्तिक, काठमाडौँ :  अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ ।

विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ ।सोमवार मात्रै अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५ दशमलव ५८ अमेरिकी डलर पुगेको छ ।

पछिल्लो पटक अक्टोबर १६ मा इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार निगमको घाटा थप बढ्ने देखिएको छ । गत असोज ३० गते आईओसीबाट प्राप्त खरीद मूल्यअनुसार निगमको पाक्षिक घाटा २ अर्ब २२ करोड नाघ्ने प्रक्षेपण गरिएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७७ पैसाका साथै डिजेल र आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर समान सात रुपैयाँ नौ पैसा वृद्धि भएको छ ।

पेट्रोलको खरीद मूल्य सम्पूर्ण सरकारी कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) गरी ५६ रुपैयाँ ९८ पैसा, डिजेल ३९ रुपैयाँ ६६ पैसा, मट्टितेल १९ रुपैयाँ ६९ पैसा, आन्तरिक हवाई इन्धन १३ रुपैयाँ ११ पैसा, अन्तरराष्ट्रिय हवाई इन्धन चार रुपैयाँ ६८ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर २५० रुपैयाँ ८१ पैसा अतिरिक्त शुल्क लाग्ने गर्छ ।

पेट्रोलमा निगमको सम्पूर्ण खर्च एक रुपैयाँ ९६ पैसा, डिजेलमा एक रुपैयाँ ५६ पैसा, मट्टितेलमा एक रुपैयाँ ४६ पैसा, आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटर एक रुपैयाँ ४५ पैसा, अन्तरराष्ट्रियतर्फ हवाई इन्धनमा प्रतिलिटर एक रुपैयाँ ४३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ११ रुपैयाँ ३८ पैसा जोडिएको छ ।

ढुवानी भाडा र विक्रेताको मुनाफा गरी पेट्रोलको कुल लागत मूल्य प्रतिलिटर १४५ रुपैयाँ एक पैसा, डिजेलको प्रतिलिटर १२७ रुपैयाँ १६ पैसा, मट्टितेल प्रतिलिटर ९३ रुपैयाँ ४१ पैसा, आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर ९० रुपैयाँ ५६ पैसा, अन्तरराष्ट्रियतर्फ हवाई इन्धन प्रतिलिटर रु ८२ रुपैयाँ १३ पैसा र एलपी ग्यासको लागत मूल्य प्रतिसिलिण्डर १ हजार ९६१ रुपैयाँ ८८ पैसा रहेको छ ।

काठमाडौंमा पेट्रोलको खुद्रा विक्री मूल्य प्रतिलिटर १३० रुपैयाँ तोकिएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३, आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ, एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ४५० रुपैयाँ तोकिएको छ ।

पेट्रोल विक्रीबाट निगमलाई प्रतिलिटर १५ रुपैयाँ एक पैसा, डिजेल विक्रीबाट १४ रुपैयाँ १६ पैसा, आन्तरिकतर्फको हवाई इन्धन विक्रीबाट प्रतिलिटर चार रुपैयाँ ५६ पैसा र एलपी ग्यास विक्रीबाट प्रतिसिलिण्डर ५११ रुपैयाँ ८८ पैसा घाटा हुनेछ ।

मट्टितेल र अन्तरराष्ट्रियतर्फको हवाई इन्धनमा मात्र निमगलाई सामान्य नाफा रहेको छ । निगमलाई मट्टितेलको विक्रीबाट प्रतिलिटर १९ रुपैयाँ ५९ पैसा र अन्तरराष्ट्रिय हवाई इन्धन विक्रीबाट प्रतिलिटर १० रुपैयाँ ३७ पैसा नाफा छ ।

विश्व बजारमा भइरहेको इन्धनको मूल्य वृद्धिले निगमको घाटा न्यूनीकरण गर्ने प्रयासमा अवरोध खडा गरेको छ । विगतका घाटा न्यूनीकरण गर्दै नाफामा जान लागेको निगमलाई खरीद मूल्यमा भएको वृद्धिले चुनौती थपेको छ । छ/ सात वर्ष अघिको ३७ अर्ब रुपैयाँ ऋण तिर्दै निगम विस्तारै नाफामा गएको थियो । गत आवमा निगम फेरि करीब ३ अर्ब रुपैयाँ घाटामा गएको छ । पछिल्लो तीन महीनामा निगम ६ अर्ब रुपैयाँ घाटामा गएको प्रवक्ता उपाध्यायले बताए ।

निगम चर्को घाटामा गइरहँदा पेट्रोलियम आपूर्तिमा व्यवधान खडा हुनसक्ने आशङ्का गरिएको छ । निगम लगातार घाटामा गइरहेको अवस्थामा यसले आपूर्ति व्यवस्थामा पनि असर पार्न सक्ने निगमका अधिकारीको भनाइ छ ।

भारतमा भन्दा नेपालमा सस्तो

भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो रहेको छ । भारतीय बजार रक्सौलको तुलनामा नेपालतर्फ पेट्रोलमा प्रतिलिटर ४८ रुपैयाँ ८२ पैसा, डिजलमा ५२ रुपैयाँ ७३ पैसा, अन्तरराष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर शून्य दशमलव शून्य ६ अमेरिकी डलर र एलपी ग्यासमा प्रतिसिलिण्डर १७५ रुपैयाँ ६५ पैसा सस्तोे छ ।

भारतीय सीमा क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७७ रुपैयाँ ३२ पैसा, डिजेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ २३ पैसा र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ६०५ रुपैयाँ ६५ पैसा छ ।
नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा सीमावर्ती क्षेत्रबाट अवैधरुपमा भारततर्फ इन्धनकोे चोरी निकासी हुने सम्भावना बढेर गएको छ । सीमावर्ती क्षेत्रबाट हुने पेट्रोलियम पदार्थको चोरी तस्करी रोक्न निगमले विक्रेतालाई कडा निर्देशन जारी गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.