२२ कात्तिक, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि आज पार्टी काममा फर्केका छन् ।
पार्टी केन्द्रीय कार्यालय, मीनभवन, आलोकनगरमा दिउँसो २ देखि साँझ ५ बजेसम्म उपस्थित भइ उनी प्रमुख रहेको विदेश विभागको पहिलो बैठकमा सहभागी भए । उनले विभागका सदस्यसँग विभागका आगामी कामबारे छलफल गरे । पूर्वप्रधानमन्त्री खनालले विदेश विभागको सचिवमा डा शङ्कर खतिवडालाई मनोनयन गरेका छन् ।
उनले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायतका प्राविधिक विषयमा जानकारी लिए । गत साउन २० गते भारत, नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकको सल्लाहमा उनी घरमै आराम गरेर बसेका थिए । मिर्गौला उपचारका क्रममा उनले सुरुमा काठमाडौँस्थित नर्भिक अस्पतालमा र त्यहाँका चिकित्सकहरुको रायका आधारमा थप उपचारका निम्ति गत असार २ गते दिल्लीस्थित एपोलो अस्पताल गएका थिए ।
मिर्गौला प्रत्यारोपणपछि उनी दिल्लीबाट भदौ १४ मा स्वदेश फर्केका हुन् । चिकित्सकहरूले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण त्यस अवधीभर उनी कुनै पनि कार्यक्रममा उपस्थित भएनन् । उक्त समय अवधि सकिए पनि अझै केही समय सार्वजनिक कार्यक्रम (भेला, बैठक, सभा) मा गएका थिएनन् ।
नेकपा (एकीकृत समाजवादी) गठन भएपछि उनी एउटा सचिवालय बैठकमा उपस्थित भएका थिए तर पार्टी कार्यालय स्थापना भएपछि उनी पहिलोपटक कार्यालय आएका हुन् । अब उनी नियमित रुपमा कार्यालयमा रहने छन् ।
काठमाडौंप्रेसबाट
























