मुलुकभर चिसो बढ्यो, अधिकांश क्षेत्रमा औसतभन्दा कम तापक्रम

A notice in Nepali from Mechinagar Ward No. 10

३ मंसिर, काठमाडौँ : मुलुकका अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औषतभन्दा कम देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको अभिलेखानुसार जाडो सुरु हुँदैगर्दा तापक्रम घट्नु स्वाभाविक भए पनि पछिल्लो केही हप्ता ३० वर्षको औसत तापक्रमभन्दा कम हुँदा सर्वसाधारणले बढी चिसो महसुस गरेका छन्। एक्कासि चिसो बढ्दा बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा असर पुग्नसक्ने हुँदा सावधानी अपनाउन भनिएको छ।

अक्टोबर तेस्रो हप्तापछि गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाबाहेक अन्य प्रदेशमा अधिकतम तापक्रम सरदरभन्दा कम देखिएको विभागका वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले बताए। योबीचको समयमा कुनै दिन काठमाडौँमा दुई डिग्रीसम्मै तापक्रम घटेको छ। नोभेम्बर लागेपछि काठमाडौँमा न्यूनतम तापक्रम पनि घटेको उहाँले बताए। विराटनगर, धनकुटा, धरान ओखलढुङ्गा, जिरीमा न्यूनतम तापक्रम पनि घटेको छ। अधिकतम तापक्रम दिनमा र न्यूनतम तापक्रम रातमा मापन हुन्छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले अब पुनः जाडो तथा सुक्खायाममा हुने विपद्जन्य घटना बढ्ने सम्भावना बढ्दै जाने बताए। तापक्रम घट्दै जाँदा मानिसले आगो बालेर ताप्ने, घरमा आगो बालेर छाड्नेलगायत क्रियाकलाप हुने र त्यसबाट आगलागीको सम्भावना बढ्नसक्नेतर्फ सचेत हुनुपर्ने जनाइएको छ। उनले आगलागी तथा डढेलोका घटनाहरु घट्न थालिसकेको बताए। केही अघि मात्रै महोत्तरीमा आगो ताप्दा शरीरमा आगो लागेर घाइते भएकी एक महिलाको बिहीबार मृत्यु भएको छ।

औसतभन्दा तापक्रम घट्ने क्रम काठमाडौं उपत्यकामा गएको अक्टोबर तेस्रो हप्तादेखि नै सुरु भएको हो। मुख्यतः उपत्यकामा भने अक्टोबर २६ बाट अधिकतम तापक्रम औसतभन्दा कम देखिँदै आएको छ। पछिल्लो समयमा भने न्यूनतम तापक्रमसमेत औषतभन्दा कम देखिन थालेको वरिष्ठ मौसमविद् डा कँडेलले बताए। हाल पोष्ट मनसुनकै समयमा चलिरहेकाले जाडोयामको आँकलन आउन बाँकी छ। आइतबारदेखि मौसम सुधार हुने देखिएकाले तापक्रम केही बढ्ने मौसमविद्को अनुमान छ।

‘बिहीबारसम्मको विवरण हेर्दा काठमाडौँ, दोलखा, डडेलधुरा, दिपायल, धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङलगायत धेरै जिल्लामा औसतभन्दा कम तापक्रम मापन गरिएको छ,’ कँडेलले भने, ‘पोखरा, जामेसोमलगायत केही जिल्लामा तापक्रम औषतभन्दा केही बढी छ।’

दुई दिनअघि नोभेम्बर १७ (बुधबार) काठमाडौं उपत्यकाको अधिकतम तापक्रम (३० वर्षको औसत तापक्रम २३.२ डिग्री) हो। यसपालिको अधिकतम तापक्रम घटेर २२ डिग्रीमा झरेको छ। अघिल्लो वर्ष सोही दिन २२ दशमलव ६ डिग्री थियो। त्यसको अघिल्लो दिन नोभेम्बर १६ (मङ्गलबार) औसत अधिकतम तापक्रम २२ दशमलव ९ हो।

त्यसदिन तापक्रम २१ दशमलव ८ डिग्रीमा झरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिजो बिहीबार औषत तापक्रम २३ दशमलव ६ हो तर तापक्रम घटेर २२ दशमलव ५ मा आएको थियो।

विभागका अनुसार अक्टोबर २६ (कात्तिक ९) पछि भने क्रमशः अधिकतम तापक्रम औषतभन्दा कम देखिँदै आएको छ। उक्त दिन औषत अधिकतम तापक्रम २५ दशमलव ९ थियो। गत वर्ष औसतभन्दा बढी २७ दशमलव २ भएकोमा यसपालि अधिकतम तापक्रम घटेर २५ दशमलव ५ मा झर्‍यो।

काठमाडौँमा नोभेम्बर ५ मा सरदरभन्दा दुई डिग्री कम तापक्रम मापन गरिएको थियो। प्राप्त विवरणअनुसार उक्त दिन औषत अधिकतम तापक्रम २५ दशमलव २ हुनुपर्नेमा घटेर २२ दशमलव ९ मा झरेको थियो। जबकि अघिल्लो वर्ष सोही दिन २५ डिग्री तापक्रम थियो।

मौसमविद्का अनुसार डिसेम्बर, जनवरी, फेब्रुअरीको तापक्रम हेर्दा यसपालिको हिउँदको समयमा सरदरभन्दा तापक्रम बढी र सुक्खा हुने सम्भावना अधिक छ। यद्यपि अबको जाडोमा तापक्रमको अवस्था कस्तो हुनसक्छ भनेर विभागले अर्को हप्ता आँकलन सार्वजनिक गर्दैछ। त्यसको आवश्यक तयारी भइरहेको जनाइएको छ। सागरमा बनेको निम्न चापीय क्षेत्रका कारण नेपालमा पनि मौसम बदली रहेको छ। हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशमा सामान्यतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मौसम बदलीका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावान रहेको जनाइएको छ।

आज पनि काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा चिसो महसुस गरिएको छ भने मौसम सफा देखिएको छैन। घाम पनि लाग्न सकेको छैन। धुम्म छ, ठूलो पानी पर्ने अवस्था पनि छैन। उच्च पहाडी भूभाग तथा हिमाली भूभागमा हल्का हिमपात हुनसक्नेछ। यो क्रम भोलिसम्म रहने र आइतबारबाट सुधार हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।

‘यस्तो समयमा तापक्रम वायुमण्डल स्थित भएर बस्ने हुँदा प्रदूषण हुनसक्छ, यस्तो अवस्थामा सावधानी अपनाउनुपर्छ,’ उनले भने। यसपालि जुम्लामा माइनस पाँच डिग्रीसम्म र काठमाडौँको न्यूनतम ७ दशमलव ४ डिग्रीसम्म तापक्रम झरेको मापन गरिएको छ। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.