१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी, नयाँ भवन निर्माणको तयारी

६ दशक पुरानो साँघुरो भवन र सीमित क्षमताका कारण झापा कारागारमा एक हजार ७१० जना कैदीबन्दी कष्टकर जीवन बिताउन बाध्य छन्।

सेयर:

६ दशक पुरानो साँघुरो भवन र सीमित क्षमताका कारण झापा कारागारमा एक हजार ७१० जना कैदीबन्दी कष्टकर जीवन बिताउन बाध्य छन्।

📌 मुख्य बुँदाहरू:

  • झापा कारागारमा ७५० जनाको क्षमता रहेकोमा हाल एक हजार ७१० जना कैदीबन्दी राखिएको छ।
  • कैदीबन्दीमध्ये सबैभन्दा बढी लागुऔषध कसुरका ८५० जना रहेका छन्।
  • कारागारमा १२२ भारतीय र २९ भुटानी नागरिकसहित १९ जोडी विवाहित कैदीबन्दी छन्।
  • भदौपुरको कलबलगुढीमा १० बिघा जग्गामा नयाँ कारागार निर्माणका लागि डिपिआर प्रक्रिया अघि बढाइएको छ।

झापा कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी कोचेर राखिएपछि उनीहरू निकै सकसमा बस्न बाध्य भएका छन्। विसं २०२० मा निर्माण भएको र हालको संरचनाले धान्न नसक्ने भएपछि पुरानो भवनका साँघुरो कोठामा कैदीबन्दीहरू कष्टकर जीवन बिताइरहेका हुन्।

कारागार प्रमुख पूर्णबहादुर खत्रीका अनुसार हाल कारागारमा कैदी र थुनुवा गरी कुल एक हजार ७१० जना रहेका छन्। तीमध्ये ९२९ जना कैदी र ७८१ जना थुनुवा छन्। लैंगिक आधारमा एक हजार ६२६ जना पुरुष र ८४ जना महिला रहेका छन्। कारागारमा ६५ वर्षमाथिका २४ ज्येष्ठ नागरिक, एक गर्भवती र एक आश्रित नाबालक पनि छन्। महिला र पुरुषका लागि छुट्टाछुट्टै भवनको व्यवस्था गरिएको भए पनि अत्यधिक चापका कारण व्यवस्थापनमा कठिनाइ हुँदै आएको छ।

कारागार प्रशासनका अनुसार कुल कैदीबन्दीमध्ये करिब आधा हिस्सा लागुऔषधसम्बन्धी मुद्दाका रहेका छन्। लागुऔषध कसुरमा ५६ महिला र ७९४ पुरुष गरी ८५० जना सजाय भोगिरहेका छन्। त्यस्तै, जबर्जस्ती करणीमा ३५९, चोरीमा १३५, कर्तव्य ज्यानमा ११४, ठगीमा १६ र अभद्र व्यवहारमा १३ जना कारागारमा छन्। यसबाहेक राष्ट्रियताका आधारमा १२२ जना भारतीय र २९ जना भुटानी नागरिकले पनि कैद तथा थुनुवा जीवन बिताइरहेका छन् भने कारागारमा १९ जोडी विवाहित कैदीबन्दीसमेत रहेका छन्।

कलबलगुढीमा नयाँ कारागार बनाउने तयारी

हालको कारागार भवन निकै पुरानो र स्थान साँघुरो भएपछि सरकारले नयाँ संरचना निर्माणको प्रक्रिया अघि बढाएको छ। विसं २०२० मा सुरुमा बढीमा ३५० जना राख्ने क्षमतामा बनेको यस भवनमा पछि आन्तरिक संरचना थपेर क्षमता ७५० पुर्‍याइएको थियो। बढ्दो चापलाई मध्यनजर गर्दै भद्रपुर नगरपालिका–१० स्थित कलबलगुढीमा नयाँ कारागार बनाउने तयारी थालिएको हो।

कोशी प्रदेश प्रशिक्षण केन्द्रसँग जोडिएको १० बिघा जग्गा नयाँ कारागार निर्माणका लागि व्यवस्थापन गरिएको छ। हाल सोही १० बिघा क्षेत्रफलमा अत्याधुनिक सुविधासहितको नयाँ संरचना निर्माण गर्न विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार गर्ने कार्य तीव्र रूपमा अघि बढिरहेको कारागार प्रशासनले जनाएको छ। नयाँ कारागार बनेपछि झापामा कैदीबन्दीले भोगिरहेको कोठा अभावको समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुजन प्रधान

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।