२१ पुस, मेचीनगर : पूर्वी सीमा काँकरभिट्टा नजिकैको भारतीय क्षेत्रमा कोरोनाको ओमिक्रोन भेरियन्ट देखा परेसँगै त्यस क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
दक्षिण अफ्रिका भएर फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन को संक्रमण भारतको पश्चिम बंगाल राज्यको विभिन्न शहरमा देखिए लगत्तै भारतसँग सीमा जोडिएको नेपाल प्रवेशको पूर्वीद्वारमा भारतलगायत विश्वका विभिन्न मुलुकबाट आउने मानिसहरुलाई चेकजाँचमा कडाई गर्न थालिएको छ ।
पश्चिम बंगालको सिलिगुडी नक्शलवाडीमा यसको संक्रमण देखिएको छ । सिलिगुडी काँकरभिट्टा नाकाको छेउमै पर्दछ । । पूर्वी नेपालको सीमा नजिकै भारतीय बजारमा ओमिक्रोन भेरियन्ट देखा परेसँगै नेपालको पूर्वी क्षेत्र समेत उच्च जोखिममा परेको छ । यसकारण पनि नेपाल प्रवेशको पूर्वीद्वारमा भारतलगायत विश्वका विभिन्न मुलुकबाट आउने मानिसहरुलाई चेकजाँचमा कडाई गर्न थालिएको हो ।
नेपाल प्रवेश गर्दा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेको हुनुपर्ने स्थानीय प्रशासनको भनाई छ । स्वास्थ्य सुरक्षा मापदण्ड भन्नाले तत्काल गरेको पीसीआरको रिपोर्ट, एन्टिजेन वा खोप यी तीनवटा कुरा नभए भारतलगायत विश्वका विभिन्न मुलुकबाट आउने मानिसहरुलाई नेपाल प्रवेशमा रोक लगाईएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहालले बताउनुभयो ।
ओमिक्रोन अहिले विश्वव्यापी चिन्ताको विषय पनि बनेको छ । भारतलगायत विश्वका विभिन्न मुलुकबाट आउने नेपालीहरुको हकमा उनीहरुसँग कुनै पनि कागजात नभए नाकामै खोप लगाउने एन्टिजेन परीक्षणको व्यवस्था मिलाईएको प्रहरी नाउव उपरीक्षक दाहालको भनाई छ । बुधबारमात्र १९ जनाको एन्टिजेन परीक्षण गर्दा विराटनगरका एकजनाको रिपोर्ट ‘पोजेटिभ’ आएमा ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ मा कार्यरत स्वास्थ्यकर्मीहरुको भनाई छ ।
‘पोजेटिभ’ आएमा क्वारेन्टाइनका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाउने वा होम आइसोलेसनमा बस्ने गरी सम्बन्धित स्थानीय पालिकासँग समन्वय गरेर उहाँहरुको घरमा पठाउने गरिएको छ । पछिल्लो समय सीमानाकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण सँगसंगै स्वास्थ्य चेकजाँचमा कडाई गरिएको छ । विगत दुईदिनदेखि भारतलगायत विश्वका अन्य मुलुकबाट नेपाल आउने मानिसको संख्या क्रमस पातलो रहेको प्रहरीको भनाई छ । नेपाली सीमा नजिकै रहेको भारतीय सहर सिलिगुडीमा ओमिक्रोनको संक्रमण देखापरे पछि त्यस क्षेत्रका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गरिएको छ । पश्चिम बंगाल सरकारले १५ दिनका लागि उत्तर बंगाल क्षेत्रका सिलिगुडी, बाघडुग्रा, दार्जिलिङ, खरसाङ, कालेबुङ क्षेत्रका सबै सरकारी तथा नीजि शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
कोरोनाको ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि त्यस क्षेत्रमा सबै पर्यटकीय तथा भीडभाड हुने क्षेत्रमा समेत मानिसलाई प्रतिबन्ध लगाइएको छ ।
ओमिक्रोनको खतराप्रति आवश्यक सतर्कता अपनाइएको बताउँदै स्थानीयहरु समेत चेकजाँचमा कडाई गरिएको बताउछन् । कोरोना रोकथामका निम्ति बनेको खोप ओमिक्रोनका निम्ति कति प्रभावकारी हुन्छ भन्ने अनुसन्धान जारी छ । तर, ओमिक्रोनको संक्रमण भने तीव्र रुपमा फैलिएको छ । नेपालमा पनि तीन जनामा ओमिक्रोनको संक्रमण पुष्टि भइसकेको छ । तर, भारतसँगको सीमाना खुला भएकाले ओमिक्रोनको खतरा उच्च छ । प्रत्येक नागरिकलाई अनिवार्य खोप उपलब्ध गराएर कोरोना रोकथाममा जुट्न अब पनि ढिला गर्नु हुँदैन ।

























