निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्पष्टीकरण सोधेको छ।
मौन अवधिमा प्रचारप्रसारमा संंलग्न भएको भन्दै आयोगले दाहाललाई ८ घण्टे स्पष्टीकरण सोधेको हो। दाहाल अहिले छोरीलाई मत दिन बुधबार नै चितवन पुगेका छन्।
‘मौन अवधिमा यहाँबाट भएका क्रियाकलापबाट निर्वाचन आचारसंहिता, २०७८ को दफा १६ को खण्ड (क) र खण्ड (ग) मा उल्लिखित मौन अवधिमा पालना गर्नुपर्ने आचरणको उल्लङ्घन भएको छ’, स्पष्टीकरणमा भनिएको छ, ‘प्रस्तुत सन्दर्भमा यहाँबाट निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको अवस्थामा यहाँको नाम निर्वाचन आचारसंहिताको उल्लङ्घनकर्ताको रुपमा किन सार्वजनिक गर्नु नपर्ने हो?’
पत्र प्राप्त भएको समयले ८ घण्टाभित्र लिखित जवाफ पेस गर्न आयोगले आदेश दिएको छ।
























