लक्ष्मी उप्रेती
काँकरभिट्टा । रेलवे प्रभावित तथा मुआब्जा समन्वय समिति मेचीनगर ७ नम्बर वडाले मुआब्जा वितरणकालागि न्यायोजित मूल्य निर्धारण गर्नुपर्ने एकसुत्रिय माग राख्दै आईतबार स्थानीय सरकारसमक्ष ज्ञापन पत्र बुझाएको छ ।
रेलवे प्रभावित तथा मुआब्जा समन्वय समिति मेचीनगर ७ नम्बर वडाका संयोजक गणेशप्रसाद मैनाली नेतृत्वको प्रतिनिधि मण्डलले मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यलाई उहाँकै कार्यकक्षमा भेटेर ज्ञापान पत्र बुझाएको हो ।
पूर्व पश्चिम रेलमार्ग निर्माण गर्दैगर्दा मेचीनगर ७, १०, १३ र १४ लगायतका वडाहरु समेत पर्ने भएको छ । रेलमार्ग निर्माण हुदैगर्दा मेचीनगर ७ मा पर्ने घर र जग्गाको उचित मुआब्जा वितरण हुन सकेन भने प्रभावित स्थानीयवासीहरुले अन्यत्र बसोबास गर्न र जग्गा खरिद गर्न नसक्ने भएको हुँदा यसले सयौ परिवार घरबार विहिन तथा सुकुम्वासी हुने खतरा रहेकाले मुआब्जा निर्मारणमा विशेष ध्यान दिन समितिले स्थानीय सरकारसँग जोडदार माग गरेको छ ।
मुआब्जाको उचित मुल्याङ्कन र बितरण नभए सघर्षमा उत्रिने चेतावनीसमेत विज्ञप्ती मार्फत समितिले दिएको छ । आफूहरु विकास विरोधी नभएको तर, विकासको नाममा बर्षौदेखिको बसोबास गरिरहेकाहरुको घर र जीवनभरको कमाइका रुपमा रहेको जमिनको उचित मूल्य नपाउने अवस्था बनेमा त्यसले आफ्ना सन्तानको भविष्यको अन्धकारमा पर्ने भएकाले पनि मुआब्जा वितरणकालागि न्यायोजित मूल्य निर्धारण गर्नुपर्ने माग विज्ञप्तीमार्फत गरिएको छ ।
रेलमार्गमा पर्ने घर जग्गाको मुआब्जा निर्धारण समितिमा मेचीनगर नगरपालिकाको समेत प्रतिनिधित्व हुने भएकाले आफ्ना नगरवासीको बसोबास र सम्पतिको सुरक्षा गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख विमल आचार्यले आफुले यसलाई सकरात्मक रुपमा लिएको र यस विषयमा सम्बन्धितपक्षसँग बसेर आवश्यक छलफल गर्ने बताउनुभयो । उहाँले स्थानीयवासीले समेत आफ्नो घर जग्गाको उचित मुल्याङ्कन गर्न आग्रह गर्दै आवश्यक कागजात तयारी अवस्थामा राख्न सुझाव दिनुभयो ।