२६ असोज, मेचीनगर : नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जिम्मेवार र परिपक्व तवरले काङ्ग्रेसले मुलुकलाई समृद्ध बनाउन चाहेको बताउनु भयो । ‘चुनावी परिणाम हाम्रो पक्षमा आउँछ, चुनाव जितिन्छ, वहाँले भन्नुभयो, ‘त्यसका लागि जीत, जीत र जीत अर्जुनदृष्टी हुनैपर्छ ।’ कि चुनाव लड्नु हुन्न, चुनाव लडेपछी जित्नै पर्छ भन्ने सोचका साथ आफू चुनावी मैदानमा खडा भएको वहाँको तर्क छ । गठबन्धनको विजयी सुनिश्चित भएको दाबी गरेका वहाँले ५ वर्षको जनादेशलाई इमानदारी साथ सम्मान गर्ने बताउनु भयो । ‘एमाले अध्यक्ष ओलीलाई मेरो प्रश्न छ, वहाँले भन्नुभयो, ‘तपाईंलाई दुई, अढाई, तीन वा कति वर्षका लागि मत चाहिएको हो ?’
झापा १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनु भएका शर्माले पार्टीमा बसेर गडबडी गर्ने छुट काङ्ग्रेसका कुनै पनि नेताकार्यकर्तालाई नभएको स्पष्ट पार्नु भएको छ । निक्कै आक्रमक ढंगमा प्रस्तुत हुनु भएका शर्माले वैशाख ३० को जस्तो गडबडी मंसिर ४ मा कसैले गरे त्यो ठिक नहुने चेतावनी समेत दिनु भयो । ‘वैशाख ३० मा गडबडी गरेकै हो, मंसिर ४ मा पनि गरिन्छ भन्ने कुविचार दिमागबाट हटाइहाल्नुस्’ गृहनगर धुलाबारीमा मंगलबार आयोजित गठबन्धन दलका उम्मेद्वार सार्वजनिक कार्यक्रममा बोल्दै शर्माले भन्नुभयो,‘कसैले गडबडी गरेर गठबन्धनका उम्मेदवारको पराजय भयो भने उसलाई पार्टीले छोड्दैन ।’ वहाँले मुलुक विकासका लागि नवीन बिद्रोह जरुरी रहेको समेत बताृउनु भयो ।
‘बिद्रोह बन्दुकको होइन, आफूभित्रको कमजोरी सच्याउने बिद्रोह अबको आवश्यकता हो,’ महामन्त्री शर्माले भन्नु भयो, ‘हरेक दल र तिनका नेताले आफूभित्रको कमजोरी सच्याउने बिद्रोह नगरेसम्म देश विकास हुँदैन ।’ भौतिक प्रगति मात्रै विकास नभएको उल्लेख गरेका शर्माले समाज रुपान्तरण नभएसम्म विकास नहुने टिप्पणी गर्नु भयो ।
कोही पनि विपक्षीलाई गाली र तितो आलोचना नगर्ने बताउनु भएका वहाँले जनताको मत माथी खेलवाड गर्ने अधिकार कसैलाई नभएको प्रष्ट्याउनु भयो । आफूले काठमाडौँ ५ र नवलपरासीबाट चुनाव लड्ने बिषयलाई अस्वीकार गरेर झापा १ नछाड्ने निर्णय गरेरै यहीँबाट उम्मेदवार बनेको शर्माले बताउनु भयो । चुनाव जित्न र सरकार बनाउन मात्रै नभई सुन्दर सपनाका साथ गठबन्धन गरेको वहाँले स्पष्ट पार्नु भयो । एमालेले विगतमा गरेको गठबन्धनलाई भूतप्रभावीको संज्ञा दिएका शर्माले आफूहरूले गरेको गठबन्धनलाई भविष्यप्रभावी भनी व्याख्या गर्नु भयो । वहाँले इमान्दार भएर गठबन्धनको उद्देश्य हासिल गर्न र बेइमानी नगर्न सबैलाई अपील समेत गर्नुभयो । पार्टीको चुनावी घोषणापत्र तयारी समितिका संयोजक समेत रहनु भएका शर्माले आफ्नो नेतृत्वमा निर्माण हुने घोषणापत्रमा देशको मार्गचित्रको स्पष्ट रेखा कोरिने विश्वास दिलाउनु भयो । यसपटक झापा १ मा आफू र गठबन्धनका उम्मेदवारले चुनाव जित्नेमा सन्देह नरहेको शर्माले बारम्बार दोर्होयाउनु भयो ।
कार्यक्रममा प्रदेशसभाका उम्मेदवार गोपाल तामाङ, श्यामवीर लिम्बु, नेकपा माओवादी केन्द्रका सचिव राम कार्की, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शारदा शर्मा,झापा १ का काङ्ग्रेस सभापति इन्द्रबहादुर बुढाथोकी लगायतले बोलेका थिए। सत्ता गठबन्धन दलको चुनावी अभियान अन्तरगत झापा १ को यो कार्यक्रम पहिलो हो।

























