चितुवाले जङ्गलमा आमाछोरीलाई नै घेरेपछि….

A notice in Nepali from Mechinagar Ward No. 10

२५ चैत्र, कैलाली : कैलालीमा सेउला लिन जङ्गल गएका दुई आमाछोरी रुख चढेर चितुवाबाट बचेका छन् ।

घोडाघोडी नगरपालिका –२ साँडेपानीका जनकला शाही र उहाँकी छोरी भूमिका शाही आइतबार सेउला सोहोर्न नजिकै रहेको चिडिया ताल सामुदायिक वनमा जानुभएको थियो ।

सेउलाको भारी बनाउँदै गर्दा एक्कासि चितुवा देखेपछि जनकलाले हतारहतार छोरीलाई आफूतिर तानेर नजिकै रहेको रुखमा चढेको बताउनुभयो । जनकलाले कापीरहेको स्वरमा भन्नुभयो ‘‘छोरीले मम्मी बाघ आयो भन्दाभन्दै नजिकै आउन लाग्यो, हतारहतार छोरीलाई तानेर नजिकै रुखमा चढाएँ अनि म पनि चढेँ, रुखबाट अर्को पनि डाँडाबाट आउन लागेको देखेँ ।’’

दुईवटा चितुवा आफ्नो नजिकै आउँदै गरेको देखेपछि अत्तालिँदै जनकलाले १०० मा फोन लगाउनुभयो । त्यहाँबाट इलाका प्रहरी कार्यालय सुखडको नम्बर पाएपछि प्रहरीलाई फोन गरी बोलाएको उहाँले बताउनुभयो ।

करिब एक किलो मिटर दूरीमा प्रहरी कार्यालय रहेकाले खबर पाउनासाथ प्रहरी पुगेको थियो । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी वीरेन्द्र विकले ‘बाघले हामीलाई घेर्‍यो हामीलाई बचाउनुस्’ भन्दै अतालिँदै फोन आएपछि आफूहरू पाँच/छ मिनेटमा जङ्गलमा पुगेको बताउनुभयो । प्रहरी टोली साइरन बजाउँदै जङ्गल पुगेपछि चितुवा भागेको थियो ।

चिडिया ताल सामुदायिक वन महेन्द्र राजमार्गसँग जोडिएको सुखड बजार नजिकै छ । स्थानीयहरू रुखबाट झरेको स्याउला मलको रूपमा प्रयोग गर्न गर्मी समयमा जङ्गल जाने गर्दछन् ।

प्रमुख डिएसपी विकले एक्लै सामुदायिक वनमा घाँस, स्याउला लिन नजान आग्रह गर्नुभयो । उहाँले स्थानीयलाई यतिखेर वनजङ्गलमा जङ्गली जनावरको आवतजावत बढेको बताउँदै सजकता अपनाउन अनुरोध गर्नुभयो । जनकलाले चलाखी अपनाउँदै रुखमा चढेर तत्काल फोन गरेकाले उहाँको उद्धार भएको बताउँदै कुनै आपत् विपत् परे प्रहरीलाई खबर गर्न समेत उहाँले आह्वान गर्नुभयो ।

समयमै प्रहरीलाई खबर भएकाले पनि जनकला र भूमिका ठुलो दुर्घटनाबाट बच्नु भएको छ । जनकलाले समयमै प्रहरी पुगेर ज्यान जोगाएकोमा प्रहरीलाई धन्यवाद दिनुभयो ।

गोरखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.