मदन भण्डारी राजमार्गमा ‘टाइम कार्ड’ लागु

१७ असोज, उदयपुर : मदन भण्डारी राजमार्गमा सडक दुर्घटनाका घटना बढ्दै जान थालेपछि जिल्ला ट्राफिक कार्यालय उदयपुरले सवारी आवगमनमा समय तालिका लागु गरेको छ। दैनिकजसो चालकको लापरबाही र तिव्रगतिका कारण सवारी दुर्घटना हुन थालेपछि कार्यालयले राजमार्गको उदयपुरखण्डमा मंगलबारदेखि समय तालिका सञ्चालनमा ल्याएको हो।

कार्यालय प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक लोकबहादुर दियालीका अनुसार उदयपुरको वेलका नगरपालिकाको कोठुदेखि कटारी नगरपालिकाको कटारी बजारसम्मको १०६ किलोमिटर सडकमा टाइमकार्ड सुरु गरिएको हो। २ घण्टा १५ मिनेट लाग्ने उक्त सडक अब ३ घण्टा १५ मिनेटमा छिचोल्नु पर्नेछ।

मंगलबार भएको अन्तर्क्रियामा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जरिवाना काट्दैमा सवारी दुर्घटना न्यूनिकरण नहुने भएकाले जिल्लामा पहिलो पटक टाइमकार्डको व्यवस्था गरिएको बताए। उनले ट्राफिक प्रहरी र सवारी चालकबाट मात्रै दुर्घटना न्युनिकरणको सम्भावना नरहेकाले सडक प्रयोगकर्ता मुख्य जिम्मेवारी हुनुपर्ने बताए।

प्रहरी प्रमुख एसपी थापाले लामो दुरीमा सञ्चालन हुने सवारीहरु तिब्र गति, चालकको लापरबाही, समयमा सवारी साधनको मर्मतसम्म्भार नहुँदा दुर्घटना बढ्ने गरेको बताए। उनले टाइम कार्ड दुर्घटना न्युनिकरणको पूर्ण क्याप्सुल नभई सुरुवात मात्र भएको बताए। उनले राजमार्गभित्रै पार्किङ्ग गरी सवारी साधन राख्दा दुर्घटना बढ्ने गरेकाले तत्काल कारबाही प्रक्रिया अघि बढाउनसमेत निर्देशन दिए।

यातायात व्यवस्था कार्यालय उदयपुरका प्रमुख श्याम लिम्बुले उदयपुर जिल्लामा पछिल्लो समय सार्वजनिक यातायातका भाडादरसमेत निर्धारण गरिएकाले यात्रुहरुसँग सोहि बमोजिम भाडादर लिनका लागि आग्रह गरे।

कार्यक्रममा सहभागी यातायात व्यवसायीहरुले विद्युतीय र इन्धनबाट सञ्चालन हुने सवारी साधन फरक भएकाले अझ सुक्ष्म ढंगले अध्ययन गरेर यस्ता नियमहरुलाई कार्यान्वयनमा ल्याइनु पर्नेमा जोड दिए।

उदयपुरको कोठुदेखि सुरु गरिएको टाइमकार्ड अनुसार रामपुरसम्मको ११ किलोमिटर सडक २० मिनेटमा पार गर्नुपर्ने छ। त्यसैगरी रामपुर ठोक्सिलादेखि लालबजारसम्मको ५ किलोमिटर ८ मिनेटमा, लालबजार देखि बेल्टारसम्मको १६ किलोमिटर २८ मिनेटमा, बेल्टारदेखि गाईघाटसम्मको २२ किलोमिटर ३८ मिनेटमा, गाईघाटदेखि संगमचोकसम्मको १७ किलोमिटर ३० मिनेटमा, संगमचोकदेखि नेपालटारसम्मको १० किलोमिटर १८ मिनेटमा र नेपालटारदेखि कटारीसम्मको २५ किलोमिटर दुरी ४५ मिनेटमाको अवधि पार गर्नुपर्ने ट्राफिक प्रहरी प्रमुख दियालीले बताए।

अन्नपुर्णपोष्टबाट

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.