आठमहिनामा ११ अर्ब ५२ करोड ५ लाख ९१ हजार रुपैयाँ व्यापार घाटा : व्यापार घाटा कम गर्न सरकारले निर्यात बढाउने नीति र योजना बनाएर काम गर्नुपर्ने सुझाँव

A notice in Nepali from Mechinagar Ward No. 10

१६ चैत, मेचीनगर : मुलुकले वैदेशिक व्यापारलाई सन्तुलनमा राख्न नसक्दा प्रत्येक वर्ष व्यापार घाटा चुलिँदो छ ।नेपालको पूर्वीनाका काँकरभिट्टा भएर नेपाल र भारतबीच हुने व्यापार हरेक वर्ष भारतको पक्षमा मजवुत छ । निर्यातभन्दा आयात बढी भएका कारण यी दुई देशबीच हुने व्यापार भारतको पक्षमा दर्विलो छ । भारतसँग बढी भर परेको नेपालसँगको आयात निर्यात व्यापार असन्तुलन हुँदा यो घाटा बढिरहेको अर्थविदहरुको भनाई छ।

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो आठमहिनामा नेपालल पूर्वीनाका काँकरभिट्टा भएर भारतसँग हुने व्यापारमा ११ अर्व रुपैयाँ भन्दा बढीको घाटा व्यहोरिसकेको छ । सीमानाकामा रहेको भन्सार विन्दु मेची भन्सार कार्यालय काँकरभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि फागुन अन्त्यसम्म यो नाका भएर यी दुई देशवीच हुने व्यापारका क्रममा नेपालले ११ अर्ब ५२ करोड ५ लाख ९१ हजार रुपैयाँ घाटा व्यहोरिसकेको हो ।

यो अवधिमा नेपालले १६ अर्ब ६८ करोड ५७ लाख ८४ हजार रुपैयाँ मुल्य बराबरको मालवस्तु निर्यात गर्दा २८ अर्ब २० करोड ६३ लाख ७५ हजार रुपैयाँ मुल्य बराबरका मालवस्तु आयात भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । निर्यातको तुलनामा आयात हेर्दा ४० दशमलव ८४ प्रतिशत व्यापार घाटा नेपालले सहनु परेको छ । अघिल्लो आव २०७९/०८० को यहि अवधिमा नेपालले ५३ दशमलव ५६ प्रतिशत व्यापार घाटा व्योहोरेको थियो । त्यो अवधिमा ३१ अर्ब २६ करोड ५१ लाख १३ हजार रुपैयाँ बराबरका सामान नेपालले आयात गरेको मा १४ अर्ब ५१ करोड ८५ लाख ५७ हजार रुपैयाँ मुल्य बराबरका मात्र मालवस्तु भारत पठाउन सकेको थियो । जहाँ १६ अर्ब ७४ करोड ६५ लाख ५६ हजार रुपैयाँ मुल्य बराबरको घाटा हो । गत आवको आठमहिनाको तुलनामा चालु आवको आठ महिनामा ९ दशमलव ७८ प्रतिशत वा ३ अर्ब ५८ करोड ७३ लाख८ हजार रुपैयाँ व्यापार घाटा भएको सरकारी अभिलेख छ । निर्यात भने १४ दशमलव ९३ प्रतिशले बृद्धि भएर १६ अर्ब ६८ करोड ५७ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

भन्सार विभागका अनुसार केही वर्षअघिसम्म ३ सय १७ प्रकारका कृषिवस्तु मात्र भारत निर्यात हुने गरेकोमा हिजोआज २ सय भन्दा कम वटा मात्रै मालवस्तु निर्यात हुने गरेको छ । उता व्यवसायी भने उत्पादन नै कम हुदैं गएकाले नेपालबाट निर्यात घटेको दाबी गरीरहेका छन् । विभागका अनुसार १६ वर्ष अघि नेपालले भारतलाई ३० लाख रुपैयाँ मुल्य बराबरको ताजा फूल विक्री गरेको भए पनि त्यसपछिदेखि निर्यात ठप्प झै छ । चालु आवको आठमहिनामा १३ करोड रुपैयाँ मुल्य बराबरको ताजा फूल नेपालले ल्याएको छ । यसैगरी, १६ वर्षअघि नेपालले नै २० करोड रुपैयाँभन्दा बढीको चोक्कर भूस भारत पठाएकोमा चालु आवको साउनयता ५५ करोड रुपैयाँ बराबरको भुस चोक्कर भारतबाट ल्याएको विभागले जनाएको छ । सरकारले सबैभन्दा पहिला निकासी बढाउने र आयातलाई सन्तुलनमा राख्ने बताए पनि मुलुकमा अहिले यसको ठिक उल्टो भएको एकजना अर्थशास्त्रका प्राध्यापक धर्मानन्द शर्माको भनाई छ ।

व्यापार घाटा कम गर्न सरकारले निर्यात बढाउने नीति र योजना बनाएर काम गर्न सक्नुपर्ने उहाँको सुझाँव छ । निर्यात बढाउने योजनाबद्ध कार्यक्रम नहुँदा मुलुकको अर्थतन्त्र अप्ठेरोमा परेको र सरकार अब तत्कालै गम्भीर भएर नलाग्ने हो भने अन्य मुलुकसँगको पनि व्यापार घाटा बढ्ने उहाँको बुझाई छ । ‘निर्यातयोग्य वस्तुको छुट्टाछुट्टै नीति बनाएर वैदेशिक व्यापारलाई सन्तुलनमा राख्ने गर्नपर्ने पहिलो काम उत्पादन क्षमता वृद्धि गर्नु नै हो ’ उहाँले भन्नुभयो—‘मुलुकभित्र वस्तु उत्पादन नगर्दासम्म निर्यात बढाउन सकिँदैन ।’

भारतसँगको निर्यात व्यापारमा अहिलेको मुख्य समस्यामध्ये गैरभन्सार अवरोध पनि भएको व्यवासायीहरुको बुझाई छ । निर्यात सम्भावना बोकेका विभिन्न वस्तुलाई भारत निकासीमा बेला बेलामा हुने अवरोधले समस्या पर्दै आएको उनीहरुको भनाई छ । अदुवा, चिया, वनस्पति घिउ जस्ता निर्यातका सम्भावना बोकेका उत्पादन भारत निकासी गर्न सहज नभएको नाकामा देखिएको अवरोधले प्रष्ट हुने एकजना व्यवसायीको भनाई छ ।

मुलुक कृषि क्षेत्रमा यति धेरै निर्भर हुँदाहँुदै पनि यो आकर्षक पेशाको रुपमा आउनसकेको भन्दैं कृषि कर्ममा क्रियाशील रामनन्द ठाकुर कृषिलाई आकर्षक पेशाका रुपमा अघि बढाउन सरकारले योजनाबद्ध काम गर्नुपर्ने धारणा राख्नुहुन्छ । परम्परागत उत्पादनलाई व्यावसायिक बनाउने र प्रविधियुक्त बनाउन आवश्यक छ । मुलुकमा परम्परागत रुपमा चल्दै आएको उत्पादनभन्दा पनि उच्च मूल्यका कृषिजन्य उत्पादन बढाउनुपर्ने सुझाव उहाँको छ ।

काँकरभिट्टानाका हुँदै अत्याधिकमात्रामा पेट्रोलियम पदार्थ ‐डिजल, पेट्रोल, खाना पकाउने एलपी ग्यास,हवाई इन्धन मट्टितेल) तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्गकर,सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, ग्लेज टाइल, लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरुलगायतका विभिन्न सामाग्री भारत तथा तेस्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् । मुसुरो दाल, भेनियर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपरलगायतका वस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकासी हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.