मेचीनगर , माघ १८ । बहुसांस्कृतिक पर्यटकीय क्षेत्रको कल्पनाका साथ सुरु भएको सुनसरीको इटहरी -५ पचरुखीमा रहेको काव्य वाटिकाको अस्तित्व समाप्त हुँदैछ भन्ने खबर सुनेपछि झापा मेचीनगरका युवाहरूले चिन्ता व्यक्त गरेका छन् । मेचीनगर नगरपालिका -६ , काँकरभिट्टामा रहेको देवकोटा पार्क संरक्षणका अभियन्ताहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
उनीहरुले सांस्कृतिक धरोहरुलाई मास्न खोज्नेहरुलाई निरन्तर खबदारी गर्न र आइपर्दा जस्तोसुकै अवस्थाको सामना गर्न पनि इटहरीवासीलाई सुझाव दिएका छन् ।
देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार खरेलले मेरो मेचीनगर अनलाइन सँग कुरा गर्दै भन्नुभयो ” काव्य वाटिका झैँ देवकोटा पार्कको अस्तित्व पनि समाप्त गर्न राजनितीक चलखेल भएको तर हामी कोहि पनि लोभ लालच र धम्कीको डर नमानी अघि बढेर सफल भयौ ।” त्यसगैगरी देवकोटा पार्क निमार्ण समितिका अध्यक्ष तथा युवा समाजसेवी बालकृष्ण थापाले ” देवकोटा पार्कलाई कित्ताकाट गरि आफ्नो भागमा पार्न स्थानीय राजनितीक पार्टीका अगुवाहरु र केही व्यापारीहरुको षड्यन्त्रको भण्डाफोर गरेर, हामीले ज्यानको पर्वाह नगरी अगाडि बढेका थियौँ ” भनेर विगतका संघर्ष गरेका कुरा बताउनु भयो ।
देवकोटा पार्क व्यवस्थापन समितिका सचिव फणिन्द्र घिमिरेले पार्क बारे जानकारी दिदै ” जम्मा १३ कट्ठा १ धुर मध्ये १२ कट्ठा १३ धुर जाग्गमा देवकोटा पार्कलाई व्यवस्थित बनायौँ । काव्य वाटिकाको तुलनामा देवकोटा पार्कको क्षेत्रफल सानो छ तर सांस्कृतिक धरोहर भनेको पहिचान हो । नयाँ पुस्ताको निम्ति पुरानो पुस्ताले दिएको गर्व गर्न लायक नासो हो । त्यसैले काव्य वाटिकाको निम्ति इटहरीवासी नै एक भएर लाग्नुपर्ने र कुनै पनि हालतमा कसैको आग्रह पूर्वाग्रहमा नपरी अभियानमा लाग्न अनुरोध गर्नुभयो ।
देवकोटा पार्क संरक्षणका युवाहरुबाट आवश्यक परेमा काव्य वाटिकाको लागि सकारात्मक र रचनात्मक सहयोग गर्ने समेत बताउनुभयो । इटहरी -५ पचरुखीमा रहेको २ विगाह १९ कठ्ठा काव्य वाटिकाको जमिनमा अहिले इटहरी उपमहानगरपालिकाले वडा कार्यालय बनाउका लागि धमाधम रुखहरु काट्न थालेको छ ।