नेपालको माटो सुहाउँदो शिक्षा: आवश्यकता र व्यवहारिक स्वरूप

A notice in Nepali from Mechinagar Ward No. 10

कुनै पनि राष्ट्रको मेरुदण्ड त्यसको शिक्षा प्रणाली हो। नेपालजस्तो अद्वितीय भौगोलिक, सांस्कृतिक र सामाजिक विविधता भएको देशका लागि ‘माटो सुहाउँदो शिक्षा’ को अवधारणा झनै महत्त्वपूर्ण छ। यो केवल किताबी ज्ञानको घेराबाट बाहिर निस्केर देशको यथार्थपरक आवश्यकता, यहाँको परम्परा र उपलब्ध स्रोतसाधनसँग एकाकार हुने शिक्षा हो।

माटो सुहाउँदो शिक्षा के हो ?

‘माटो सुहाउँदो शिक्षा’ भन्नाले विदेशी नीतिको सस्तो नक्कल होइन, बरु नेपालको वास्तविकता, सम्भावना र समस्या बुझेर तयार गरिएको शिक्षालाई जनाइन्छ। यस्तो शिक्षा व्यवहारिक हुन्छ, सीपमूलक हुन्छ, र आत्मनिर्भर समाज निर्माणमा केन्द्रित हुन्छ।

यसमा बालबालिकाले परीक्षा पास गर्ने होइन, जीवन चलाउने पाठ सिक्छन्। उनीहरू किताबमा मात्र होइन, खेतबारीमा, बजारमा, कारखानामा, पर्यटकीय गाउँमा सिक्छन्। यही हो माटो सुहाउँदो शिक्षाको मूल भाव।

वर्तमान शिक्षा प्रणालीका चुनौती र नेपालको विशिष्ट परिवेश

नेपालको शिक्षा प्रणालीले लामो समयदेखि केही संरचनागत चुनौतीहरू सामना गरिरहेको छ। सैद्धान्तिक ज्ञानमा अत्यधिक जोड, परम्परागत शिक्षण विधि, विदेशी पाठ्यक्रमको अन्धानुकरण र सीपमूलक शिक्षाको अभाव प्रमुख समस्याका रूपमा छन्। यसले गर्दा एकातिर डिग्री हासिल गरेका युवाहरूमा बेरोजगारीको समस्या विकराल बन्दै गएको छ भने अर्कोतिर देशलाई आवश्यक पर्ने प्राविधिक तथा व्यावसायिक जनशक्तिको अभाव खड्किएको छ।

नेपालको परिवेशलाई हेर्दा, यहाँ हिमाल, पहाड र तराईको भिन्नता मात्र छैन, एकसय तेइस बढी भाषाभाषी र एकसय पच्चिस भन्दा बढी जातीय समूहहरूको बसोबास छ। कृषि प्रधान अर्थतन्त्र, पर्यटनको विशाल सम्भावना, जलविद्युतको प्रचुरता, जडीबुटीको खानी, र परम्परागत हस्तकलाको धनी इतिहास नेपालका विशिष्ट पहिचान हुन्। माटो सुहाउँदो शिक्षाले यी सबै पक्षलाई सम्बोधन गर्न सक्नुपर्छ।

नेपालमा हालको शिक्षा प्रणाली अझै पनि ‘बाहिर गएर जागिर खाने’ तयारीमा सीमित छ। विद्यार्थीहरू किताबी ज्ञानमा बलियो बन्छन्, तर व्यावहारिक जीवनको अनुभव र सिपमा कमजोर। कृषि, हस्तकला, स्थानीय उद्योग, सीप र पर्यटनको महत्व पाठ्यक्रममा गम्भीरतापूर्वक समेटिएको छैन। अनि हामी भन्न थाल्छौं— ‘देशमा अवसर छैन।’

नेपालको परिवेशमा माटो सुहाउँदो शिक्षाका आयामहरू:
नेपालको सन्दर्भमा ‘माटो सुहाउँदो शिक्षा’ लाई निम्न आयामहरूबाट परिभाषित गर्न सकिन्छ:

१. स्थानीय सीप र परम्पराको संरक्षण तथा विकास:
कृषि केन्द्रित शिक्षा: नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि हो। विद्यार्थीहरूलाई आधुनिक कृषि प्रविधि, जैविक खेती, पशुपालन, मत्स्यपालन र जलवायु अनुकूलित कृषिका बारेमा व्यावहारिक ज्ञान दिनुपर्छ। बालीनाली लगाउने, स्याहार गर्ने र बजार व्यवस्थापनसम्मको सीप विद्यालयस्तरबाटै सिकाउनु आवश्यक छ।
 वन पैदावार र जडीबुटी: पहाडी तथा हिमाली क्षेत्रमा जडीबुटी प्रशोधन, चिया खेती, कफी खेती र अर्गानिक उत्पादनको सम्भावनालाई पाठ्यक्रममा समेटेर उद्यमशीलतातर्फ प्रेरित गर्नुपर्छ।
हस्तकला र परम्परागत पेशा: धातुका मूर्ति बनाउने, काष्ठकला, हाते कागज, ढाका बुनाई, भाँडाकुँडा बनाउनेजस्ता लोप हुँदै गएका परम्परागत सीपहरूलाई विद्यालयमै सिकाउने व्यवस्था हुनुपर्छ। यसले सांस्कृतिक संरक्षणका साथै स्थानीय अर्थतन्त्रलाई टेवा पुग्छ।

२. पर्यावरणीय चेतना र दिगो विकास:
नेपाल भौगोलिक रूपमा संवेदनशील छ। जलवायु परिवर्तन, प्राकृतिक विपद् (भूकम्प, बाढी, पहिरो) को जोखिम यहाँ सधैँ रहन्छ। विद्यार्थीहरूलाई वातावरणीय संरक्षण, विपद् व्यवस्थापन र दिगो विकासका सिद्धान्तहरूका बारेमा बाल्यकालदेखि नै सिकाउनु आवश्यक छ।  स्थानीय वनस्पति र जीवजन्तुको अध्ययन, जलस्रोतको महत्त्व र यसको उचित प्रयोगबारे व्यावहारिक ज्ञान दिनुपर्छ।

३. बहुभाषिक र बहुसांस्कृतिक शिक्षा:
नेपाल बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो। प्रारम्भिक शिक्षा स्थानीय मातृभाषामा दिइनुले बालबालिकाको सिकाइ प्रक्रियालाई सहज बनाउँछ। प्रत्येक जातीय समूहको भाषा, संस्कृति, चाडपर्व र इतिहासबारे अन्य विद्यार्थीहरूलाई पनि जानकारी गराउनुले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउँछ।

४. प्रविधिमैत्री र सूचना प्रविधिमा आधारित शिक्षा:
माटो सुहाउँदो शिक्षा भन्दैमा आधुनिक प्रविधिको उपेक्षा गर्नु हुँदैन। सूचना प्रविधि (IT) को प्रयोग कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई नै सुलभ बनाउनमा महत्त्वपूर्ण हुन्छ। ग्रामीण भेगमा पनि इन्टरनेटको पहुँच विस्तार गरी डिजिटल साक्षरता बढाउनु आवश्यक छ। प्रविधि प्रयोग गरेर स्थानीय उत्पादनलाई बजारसँग जोड्न सकिन्छ।

५. उद्यमशीलता र व्यावसायिक सीप विकास:
किताबी ज्ञान मात्र नभई विद्यार्थीहरूलाई सानैदेखि उद्यमशीलताको भावना जगाउनुपर्छ। कसरी सानो व्यवसाय सुरु गर्ने, वित्तीय व्यवस्थापन गर्ने र बजारमा आफ्नो उत्पादन बेच्ने भन्नेबारे व्यावहारिक तालिम दिनुपर्छ।  स्थानीय आवश्यकता र सम्भावनाका आधारमा प्लम्बिङ, इलेक्ट्रिसियन, घर निर्माण, पर्यटन गाइड, कुकजस्ता व्यावसायिक सीपहरूमा तालिम दिनुपर्छ। गाउँगाउँमा कृषिसँग सम्बन्धित पाठ, सहरमा साना उद्योग र प्रविधि, हिमाली क्षेत्रमा पशुपालन र सोलार ऊर्जाजस्ता व्यवहारिक विषयलाई अनिवार्य गरिनुपर्छ।

६. सामुदायिक सहभागिता र स्थानीय ज्ञानको उपयोग:
शिक्षा प्रणालीमा स्थानीय समुदाय, अभिभावक र विज्ञहरूको सक्रिय सहभागिता अनिवार्य छ। स्थानीय अगुवा र अनुभवी व्यक्तिहरूलाई विद्यालयमा बोलाएर उनीहरूको ज्ञान र अनुभव बाँड्ने अवसर प्रदान गर्नुपर्छ। विद्यालयलाई समुदायको केन्द्रबिन्दु बनाउनुपर्छ जहाँ सिकाइ प्रक्रियाले समुदायको वास्तविक समस्या समाधानमा योगदान पुर्याओस्। आफ्नो समाज, गाउँ, थर, भाषा र संस्कृति पढाउने अभ्यासले बालबालिकामा पहिचानको गर्व र आत्मविश्वास दिन्छ। संस्कृतिलाई सँगै लिएर शिक्षा अघि बढ्दा मूल्य र अनुशासन पनि स्वाभाविक रूपमा आउँछ।

७. पर्यटनसँग शिक्षाको एकीकरण :

नेपालको पर्यटन क्षेत्र अपार सम्भावनाले भरिएको छ। सगरमाथा, लुम्बिनी, मुस्ताङ, गोरखा, कञ्चनजंघाजस्ता थुप्रै गन्तव्यहरू केवल घुम्न होइन, शिक्षा सिक्न पनि प्रयोग गर्न सकिन्छ। विद्यालय स्तरमै “Local Tourist Guide” कार्यक्रम थाल्न सकिन्छ, जहाँ विद्यार्थीले स्थानीय इतिहास, संस्कृति, भाषा र मार्गदर्शन कला सिक्छन्। पर्यटन लेखन, स्वागत सत्कार, भाषिक दक्षता (जस्तै अङ्ग्रेजी, चिनियाँ, कोरियन), पारंपरिक खाना बनाउने तालिम, होमस्टे व्यवस्थापन जस्ता विषय समावेश गर्न सकिन्छ। विद्यार्थीले गाउँमै बसेर आफ्नो ठाउँ चिनाउने र देश चिनाउने जिम्मेवारी लिन सक्छन्। यस्तो शिक्षा न रोजगारको लागि केवल कागज दिने हो, न त केवल नम्बरको प्रतिस्पर्धा। यस्तो शिक्षा हो, जसले पर्यटन क्षेत्रमै हजारौं आत्मनिर्भर युवाशक्ति उत्पादन गर्न सक्छ।

अन्त्यमा
नेपालको परिवेशमा माटो सुहाउँदो शिक्षा यस्तो हो, जहाँ विद्यार्थीले आफ्नो समाज, संस्कृति र प्राकृतिक वातावरणलाई गहिरोसँग बुझून्। उनीहरूले आफ्नो सीप र ज्ञान प्रयोग गरी स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै आत्मनिर्भर बन्न सकून्। यस्तो शिक्षाले शिक्षित बेरोजगारी घटाएर देशको समग्र आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ। यो शिक्षाले नेपाली युवालाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउँदै आफ्नोपन नभुल्ने नागरिकका रूपमा तयार गर्नेछ।

हामी शिक्षामा रुख बनाउने प्रयत्न गर्छौं, तर जरा कहाँ छ भनेर कहिल्यै बुझ्दैनौं। माटो सुहाउँदो शिक्षा भनेको यही हो — पहिले आफ्नो जरा चिन्ने, त्यसपछि विस्तार हुने। विद्यार्थीले पढ्दा–पढ्दै आफूलाई किसान, व्यवसायी, गाइड, पर्यटन उद्यमी, प्राविधिक वा समाजसेवी बन्ने बाटो देखोस्। विदेश होइन, आफ्नो गाउँमै अवसर देखोस्। त्यो बेला शिक्षा साँच्चै माटो सुहाउँदो हुन्छ। अब हामीले विदेशी सिस्टमको ढोका ढकढकाउने होइन, आफ्नै माटोको आवाज सुन्ने समय आएको छ।

(लेखक काँकरभिट्टा बहुमुखी क्याक्पसका व्यवस्थापन संकायका प्रमुख समेत हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.