नेपाल सरकारले हिमाल, पहाड र तराई जोड्ने सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्ने भएको छ । लामो समय अघि निर्माण भएर हाल जिर्ण अवस्थामा रहेको सिरहाको मिर्चैया देखि सोलुखुम्बु सम्मको सडक सरकारले यसैवर्ष स्तरोन्नति गर्ने भएको हो ।
मिर्चैया–कटारी–घुर्मी–ओखलढुंगा–सोलु सडक स्तरोन्नति गर्न सरकारले १ अर्ब ५० करोड बजेट विनियोजन गरेको प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिए । ऐतिहासिक महत्व बोकेको उक्त सडक नेपाल सरकारले विशेष बजेट माफर्त स्तरोन्नति गर्ने निर्णय गरेको मन्त्री गुरुङको भनाई छ । ‘यो सडक प्रदेश १ को समृद्धिसँग जोडिएको छ । यहि मार्ग भएर माथिल्लो सगरमाथाका सोलु, खोटाङ, ओखलढुंगा र उदयपुरको उत्तरीक्षेत्रमा खाद्यन्न र निर्माण सामाग्री ढुवानी हुन्छ ।’ मन्त्री गुरुङले भन्नुभयो, ‘म त्यो क्षेत्रको सांसद र यो प्रदेशको मन्त्री भएकाले सिद्धिचरण लोकमार्ग स्तरोन्नति मेरो प्राथमिकतामा छ । प्रदेश सरकारको सिफारीसमा राष्ट्रिय गौरवको योजना बनाएर सरकारले विशेष बजेट मार्फत १ अर्ब ५० करोड बजेट व्यवस्था गरेको छ । अब तत्काल ठेक्का प्रकृया सुरु हुन्छ ।’ मन्त्री गुरुङका अनुसार सिद्धिचरण लोकमार्गको सडक चौडाई बढाएर ढल निकास सहितको व्यवस्थित बनाईने छ ।
कटारी–घुर्मी–ओखलढुंगा सडक स्तरोन्नतिको माग गर्दै उदयुपरको उत्तरी क्षेत्रका स्थानीयले केही दिन अघि सडक अवरुद्ध गरेका थिए । आन्दोलित स्थानीयलाई सम्बोधन गर्दै मन्त्री गुरुङले तत्काल सडक स्तरोन्नतिको प्रकृया सुरु गराउने प्रतिवद्धता जनाएका थिए ।
दशकौं अलपत्र बनेको सडक मन्त्री गुरुङको पहलमा सरकारले स्तरोन्नति गर्ने भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । कटारी नगरपालिका १४ का स्थानीय रुद्र प्याकुरेलले लामो समय देखि सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्न गर्दै आएको माग ढिलै भएपनि पुरा हुने सन्देश पाउँदा खुसी लागेको बताए । ‘हामीले निकै हारगुहार गर्यौ यो सडक मर्मत गर्न माग गरेर कहिँ कतैबाट सुनुवाई भएको थिएन । प्रदेशका भौतिक पूर्वाधार मन्त्री ज्यूले म दश दिन भित्र केही सन्देश दिन्छु भनेर बाचा गर्नुभएको थियो । बजेट छुट्टीएको खबर आयो खुसी लाग्यो ।’ कटारी–घुर्मी सडक मर्मत भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने यस क्षेत्रका नागरिकको बाध्यता अन्त्य हुनेछ ।