नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दलहरूले बहुमतसहित प्रधानमन्त्रीको विकल्प दिँदादिँदै पनि प्रतिनिधि सभा विघटन गरेर संविधान र लोकतन्त्रमाथि राष्ट्रपति र प्रधानमन्त्रीले जालसाजी गरेको बताउनु भएको छ ।
शनिबार बिहान पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै पौडेलले प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको निर्णयविरूद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताउनु भयो।
पौडेलले पार्टी पदाधिकारी बैठकबाट कस्तो लडाइँ लड्ने, कसरी विरोध गर्ने भन्नेमा निर्णय गरिने स्पष्ट पार्नुभयो सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बिहान ९ बजे कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाइएको उनले बताउनु भयो।
कांग्रेसले अरू दलसँग मिलेर राष्ट्रपति र प्रधानमन्त्रीका संविधानविरोधी कामको एकतावद्ध रूपमा विरोध गर्ने पौडेलले बताउनु भयो।
`यो जनहित, राष्ट्रहित र परिवर्तन विरोधी निर्णय मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भयो। सदनको विश्वास गुमाएको प्रधानमन्त्रीले विघटन सिफारिस गरेको अवैधानिक हो। मनमोहन अधिकारीको पालामा पनि बहुमत गुमाएको प्रधानमन्त्रीले गरेको विघटन अदालतले अवैधानिक भनेको थियो नि,’ पौडेलले भने, ‘यस्तो अवस्थामा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नु आपराधिक कार्य हो।’
संविधान र लोकतन्त्रमाथि जालसाजी भएकाले त्यो निर्णय उल्टाउन कानुनी र राजनीतिक लडाइँ दलहरूसँग मिलेर गर्ने पौडेलले बताउनु भयो।
























