शुभतारा स्कुल पूर्णरुपमा बन्द गर्ने निर्णय

A notice in Nepali from Mechinagar Ward No. 10

१४ जेठ, ललितपुर । ललितपुरको लामाटारस्थित शुभतारा विद्यालय पूर्ण रुपमा बन्द हुने भएको छ । आर्थिक संकटको कारण देखाउँदै विद्यालय बन्द गर्न लागिएको हो ।

विद्यालयले विहीबार राति अभिभावकहरुलाई इमेल गरेर विद्यालय पूर्ण रुपमा बन्द हुने औपचारिक जानकारी गराएको छ ।

गत सोमबार विद्यालयकी संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले विद्यालय बन्द हुने अनौपचारिक रुपमा जानकारी गराएकी थिइन् । उक्त जानकारी पश्चात अभिभावक सहितको भर्चुअल बैठकमा अभिभावकले सकेको सहयोग गर्न तयार रहेको तर विद्यालय बन्द नगर्न अनुरोध गरेका थिए ।

संस्थापक निर्देशक रानीले उक्त बैठकपछि समय मागेकी थिइन् । त्यसपश्चात अभिभावक एवं शिक्षकसहित बसेको बैठकमा पनि शिक्षक एवं अभिभावक सबैले सक्दो सहयोग गर्ने र विद्यालय बन्द नगर्न अनुरोध गरेका थिए ।

अभिभावक र शिक्षकसहित बसेको बैठकपछि राति विद्यालय बन्द गर्ने औपचारिक इमेल आएको अभिभावक डा.उमेश राजोपाध्यायले बताए ।

कतिपय अभिभावकले शुल्क नतिरेको र त्यही कारण आर्थिक संकट परेको कारण देखाए पनि संस्थापनको जसरी पनि विद्यालय बन्द गर्ने मनसायको कारण बन्द हुन लागेको डा.उमेशको दाबी छ ।

अभिभावकले भने १२ महिनाको बस र खाजाको बाहेक सबै शुल्क तिरेको डा.उमेशको दाबी छ । साथै थपिएको शैक्षिक सत्र वैैशाख र जेठको भने निषेधाज्ञका कारण तिर्न बाँकी रहेको बताए । त्यो शुल्क तिरेर विद्यालयलाई सहयोग गर्ने र विद्यालय बन्द नगर्न अनुरोध गर्दा पनि संस्थापन पक्षले नसुनेको अभिभावक डा.उमेशले गुनासो गरे ।

‘हामी बाँकी रहेको शुल्क पनि तिर्छौं । विद्यालयलाई संकट परेको भए हामी अभिभावक, शिक्षक सहयोग गर्न तयार छौं । विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य जोखिममा नपारौं भनेर अनुरोध गरिरहेका छौं,’ उनले भने, ‘तर संस्थापन एकोहोरो विद्यालय बन्द गराउने पक्षमा देखिन्छ ।’

मिलिनियमसँग मर्ज गर्ने सम्झौता

विद्यालयको यो निर्णयले अभिभावक तथा विद्यार्थी अन्यायमा परेको बताउँछन् । विद्यालयले अभिभावकलाई इमाडोलमा रहेको न्यू मिलिनियम विद्यालयमा पढाउन सकिने विकल्प दिएको छ । उक्त विद्यालयसँग मर्ज गर्ने सम्झौता भएको पत्रमा उल्लेख गरेर पठाएको छ ।

आर्थिक संकटका कारण विद्यालय सञ्चालन गर्नै नसक्ने अवस्था पुगेपछि संस्थापनले विद्यालय बन्द गराउने निर्णयमा पुगेको विद्यालयका सहायक प्रधानाध्यापक प्रवेश खनालले बताए ।

उनले भने ‘विद्यालय बन्द हुँदा शिक्षक, विद्यार्थी, अभिभावक सबै मारमा पर्छौं । तर आर्थिक संकटले चलाउनै नसक्ने अवस्थामा पुगेको संस्थापनले भन्छ भने त के गर्न सकिन्छ र ।’

विद्यालय बन्द गर्दा अभिभावक तथा विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोलाई मध्यनजर गरेर न्यू मिलिनियम विद्यालयसँग मर्ज गर्ने सम्झौता भएको खनालले बताए ।

नेपालका सुविधान सम्पन्न विद्यालयहरुमध्ये एक मानिने शुभतारा स्कुलमा अहिले एक कक्षादेखि १० कक्षासम्मका जम्मा ३६५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

अनलाइन खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.