राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार, आजबाट निष्क्रिय

A notice in Nepali from Mechinagar Ward No. 10

५ असोज, काठमाडौँ : राष्ट्रपति विधादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । आज राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ ।

दुबै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको हो ।

संसद्का दुवै सदनबाट दोस्रो पटक पारित भएर प्रमाणीकरणका लागि पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरण भएन। संविधानबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ४ गते मङ्गलबार राति १२ बजेभित्र विधेयक प्रमाणीकरण गर्नुपर्नेमा उक्त समय सकिँदासम्म प्रमाणीकरण नगर्नुभएको हो। यद्यपि राष्ट्रपति कार्यालयले प्रमाणीकरण नगर्नुको कारणबारे औपचारिक रूपमा केही जानकारी दिएको छैन।

नेपालको संविधानको धारा ११३ बमोजिम दोस्रो पटक संसद्ले पारित गरेर पठाएको कुनै पनि विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गरिसक्नुपर्ने व्यवस्था छ। सङ्घीय संसद्ले नेपाल नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा दोस्रो पटक गत भदौ २० गते सोमबार पठाएको थियो।

राष्ट्रपति कार्यालयमा अड्केको विधेयकबारे कुरा गर्न सोमबार सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेर प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति निवास पुग्नुभएको थियो। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच विधेयक प्रमाणीकरण गर्ने विषयमा कुराकानी भएको बताइएको छ।

मङ्गलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पक्षसँग परामर्श गर्नुभएको थियो। साँझसम्म पनि राष्ट्रपति भण्डारीले कानुनविद्हरूसँग छलफल गर्नुभएको थियो। कानुनविद्हरूले राष्ट्रपतिलाई प्रतिनिधि सभाको कार्यकाल असोज १ गते नै सकिएकाले नागरिकता विधेयक पनि स्वतः निष्क्रिय हुने सुझाव दिएका थिए। राष्ट्रपतिले त्यसैअनुसार विधेयक प्रमाणीकरण नगर्नुभएको संविधानविद्हरूको भनाइ छ।

राष्ट्रपति भण्डारीले संविधानले निर्धारण गरेको समयभित्र विधेयक प्रमाणीकरण नभएपछि संविधानविद्हरूका मिश्रित प्रतिक्रिया आएका छन्।

अधिवक्ता डा. भीमार्जुन आचार्यले भन्नुभयो, “संवैधानिक व्यवस्थाअनुसार संसद्को कार्यकाल सकिएपछि विधेयकहरू निष्क्रिय हुन्छन्। असोज १ गतेबाट संसद्को कार्यकाल सकिएको छ। त्यसैले अब निष्क्रिय भइसकेको विधेयक राष्ट्रपतिबाट कसरी प्रमाणीकरण हुन्छ ? प्रमाणीकरणका लागि प्राविधिक समस्या हुन्छ। अब नयाँ संसद्ले नयाँ प्रक्रियाबाट विधेयकको प्रक्रिया अघि बढाउनुपर्छ।”

वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सबै पदाधिकारीले संविधानले तोकेको काम गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “विधेयक प्रमाणीकरण राष्ट्रपतिको अनर पनि हो। अब यदि मुलुकमा टसल नै गरेर अघि बढ्ने हो भने सरकारले प्रमाणीकरण भएको मानेर जाने हो। टसल चाहने वा नचाहने सरकारको कुरा हो। अर्को विकल्प अदालतमा मुद्दा लिएर जाने हो। यसमा अदालतले परमादेश जारी गर्न सक्छ। नागरिकताको विषयमा झुटा प्रचार भएका छन्, त्यस्ता अहित हुने विषय यो विधेयकमा छैनन्।”

यसैबीच राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले नागरिकतासम्बन्धी विधेयक धेरै संवेदनशील विषय भएको र सो विषयमा राजनीतिक दलहरू संवेदनशील हुन नसकेको बताउनुभएको छ। उहाँले नागरिकतासँग जोडिएको विषय नेपालको कुनै वर्ग, क्षेत्र, समुदायको मात्र समस्या नभई सबै नेपालीको समस्या भएको बताउनुभयो। राष्ट्रपति भण्डारीले विधेयकमा उठाएको कुरालाई राजनीतिक दलहरूले हल्का रूपमा लिएको समेत उहाँले बताउनुभयो।

सो विधेयक प्रमाणीकरणका लागि सरकारले राष्ट्रपतिलाई आग्रह गरेको थियो। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँट गर्न पाँचदलीय गठबन्धनको शीर्ष नेताहरूको मङ्गलबार बसेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिले सो विधेयक प्रमाणित गर्ने सरकारले विश्वास लिएको बताउनुभएको थियो। उहाँले सञ्चारकर्मीहरूसँग भन्नुभयो, “राष्ट्रपतिले सो विधेयक प्रमाणीकरण गर्नुपर्छ र गर्नुहुनेछ।”

संवैधानिक व्यवस्थाअनुसार एक पटक पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक पुनः पारित भई पेस भएमा १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ। विधायिकालाई पुनर्विचारका लागि आएको विधेयक पूर्ववत् रूपमा वा संशोधन गरेर अघि बढ्ने दुवै सुविधा संविधानले दिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि साउन २९ गते फिर्ता भएको विधेयक दुवै सदनबाट पारित गरेर पुनः प्रमाणीकरणका लागि पठाइएको थियो। सो विधेयकलाई २० गते नै सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको थियो।

पहिलो पटक साउन १५ गते विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको थियो। उक्त विधेयकमा भएका केही व्यवस्थामा पुनर्विचारका लागि भन्दै राष्ट्रपति भण्डारीले संसद्तर्फ फिर्ता गर्नुभएको थियो। राष्ट्रपतिबाट फिर्ता आएपछि प्रतिनिधि सभाले भदौ ४ गते विधेयक बहुमतका आधारमा जस्ताको तस्तै पारित गरेको थियो। विधेयक पारितका क्रममा मत विभाजन भएको थियो। मत विभाजनमा बहुमतका आधारमा विधेयक पारित भएको हो। यस्तै राष्ट्रिय सभाले भदौ १७ गते पारित गरेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.