१२ जेठ, भद्रपुर : लागू औषधको ट्रान्जिट बन्दै गएको झापाको भद्रपुरबाट आज दुई भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण ब्युरो काठमाडौँ र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका वडा नं. ८ क्यापस मोडमा साईकलमा आउँदै गरेको भारतको खोरीबारी बस्ने वर्ष २२ को शिवु घोष र वर्ष २६ की श्यामली सोरेनलाई चेकजाँच गर्दा प्रतिबन्धित लागू औषध फेला पारेको हो।
शिवु घोष र श्यामली सोरेनको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १९४ ग्राम ५४० मिलिग्राम फेला परेको र दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुले चलाई ल्याएको २ थान साइकल र २ थान मोबाईल समेत बरामद गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

























