२४ जेठ, काठमाण्डौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अलग राखेर भारतमा मात्र कोरोनाभाइरस महामारी नियन्त्रण हुन नसक्ने बताउनु भएको छ।
बीबीसी हिन्दीसँगको संवादमा प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘भारतमा मात्र नियन्त्रण गर्छु भनेर हुँदैन, नेपालमा पनि नियन्त्रण हुनुपर्छ । किनभने दुबै मुलुकबीच खुला सिमाना छ । बोर्डर सिल गरेपनि मान्छेहरु लुकिछिपी आवतजावत गर्छन् ।’
महामारी नियन्त्रणको सवालमा भारतले नेपाललाई अन्य देशजस्तो व्यवहार गर्न नहुने पनि ओलीको भनाई छ । उहाँले भारतीय समकक्षी नरेन्द्र मोदीलाई अन्य देशजस्तो व्यवहार नेपाललाई नगर्न आग्रह गर्नुभयो ।
‘खुला सिमानासहितको छिमेकी र मित्रराष्ट्रको हैसियतमा भारतले नेपाललाई खोपको प्राथमिकतमा अन्य देशजस्तो व्यवहार गर्नुहुँदैन’ उहाँले भन्नु भयो, ‘यी सबै कुरालाई ध्यानमा राखेर मोदीजीले नेपाललाई सहयोग गर्नुपर्छ ।’
स्वयम आफ्नो हितको लागि पनि भारतले नेपाललाई उच्च प्राथमिकतामा राख्नुपर्ने मोदीलाई ओलीको सुझाव छ ।
खोपलाई लिएर राजनीतिकरण नगर्न पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ । ‘ यो समयमा राजनीतिलाई बीचमा ल्याउनु जरुरी छैन । यो खोपको मामिला हो, यसबारे राजनीति गर्नु जरुरी छैन’ उहाँले भन्नु भयो, ‘दुबै छिमेकी देशले खोपसहितका स्वास्थ्य सामग्री दिएका छन् । यसका लागि म धन्यवाद दिन चाहन्छु ।’
विगतमा नेपाल र भारतसँग गलत बुझाइ र असमझदारी रहनेपनि अहिले त्यो हटेको प्रधानमन्त्री ओलीको भनाई छ । ‘अब विगत हैन, चम्किलो भविष्य हेरेर अघि बढ्नु जरुरी छ’ उहाँले भन्नु भयो, ‘किनभने असमझदारी छिमेकीसँगै हुने हो ।’
























