लक्ष्मी उप्रेती
१४ जेठ, मेचीनगर : झापा जिल्लाले दोस्रो पटक राष्ट्रिय सहकारी बैंक लिमिटेडको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ । बैंकको विहीबार सम्पन्न गोप्य मतदानबाट झापा मेचीनगर— ६ काँकरभिट्टा निवासी लक्ष्मीप्रसाद उप्रेती बैंकको सञ्चालक अध्यक्षमा गोप्य मतदानबाट निर्वाचित भए पछि दोस्रो पटक नेतृत्व झापाको काँधमा आएको हो ।
२०८१ मंसिरमा नेपाल राष्ट्र बैंकले तत्कालीन अध्यक्ष केबी उप्रेतीसहित पाँच जना सञ्चालकलाई पदमुक्त गर्न निर्देशन दिएपछि बैंकको नेतृत्व झापा विर्तामोडका महेन्द्र गिरीले सम्हालेका थिए ।
विहिबार बैंकको केन्द्रीय कार्यालय पुल्चोक ललितपुरमा सातवटै प्रदेशबाट निर्वाचित बैंक सञ्चालक सदस्यहरुको पहिलो बैठकले बैंकको निर्वाचन नियमावली २०७५ बुँदा नम्बर ९ को (२) अनुसार अध्यक्षका लागि सर्वसम्मत प्रयास गरेको थियो ।
अध्यक्षमा कोशीका लक्ष्मीप्रसाद उप्रेती र वागमतीका डाक्टर परितोष पौडेलबीच सहमति नभएपछि (३) अनुसार अध्यक्षको छिनोफानो गरिएको हो । (३) मा गोप्य मतदानको व्यवस्था छ । गोप्य मतदानमा उप्रेतीको पक्षमा पाँच र डाक्टर पौडेलको पक्षमा दुई मत मात्र झरेको थियो । सातवटा प्रदेशबाट सञ्चालक सदस्यमा विजयी सञ्चालक सदस्यहरुले मात्र गोप्य मतदानमा भाग लिन पाउने व्यवस्था भए अनुसार शतप्रतिशत मत खसेको र खसेको मतमा बदर नभएको बैंककले जनाएको छ ।
कोशी प्रदेशबाट सञ्चालक सदस्यमा निर्विरोध भएका थिए । नवनिर्वाचित अध्यक्ष उप्रेती । बैंक सञ्चालक सदस्यमा निविरोध भए लगत्तै उनलाई भावी अध्यक्षका रुपमा अघि सारिएको थियो । पराजित भएका डाक्टर पौडेलले बागमती प्रदेशबाट सञ्चालक सदस्यका प्रत्यासी रामशरण शर्मा घिमिरेलाई २७५ मतले पाखा लगाएर सञ्चालक सदस्यमा पुगेका थिए । नव निर्वाचित अध्यक्ष उप्रेती यस अघि राष्ट्रिय सहकारी बैंक लिमिटेडको लेखा सुपरिवेक्षण समितिको संयोजक थिए । उप्रेती देशकै नमुनाको रुपमा झापाको काँकरभिट्टामा प्रधान कार्यालयम रहेको नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लि (एनएमसी) का संस्थापक सदस्य र वर्तमान प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।
नयाँ व्यवस्था अनुसार बैंकको सञ्चालक समिति नौं सदस्यीय हुनेछ । नेपाल राष्ट्र बैंकको नयाँ निर्देशनअनुसार बैंकमा सातै प्रदेशबाट एक–एक जना प्रतिनिधित्व हुने गरी सात सञ्चालक सदस्य निर्वाचित हुने र सञ्चालकहरु मध्येबाट अध्यक्ष हुने व्यवस्था छ । सोहि अनुसार अध्यक्षमा उप्रेती निर्वाचित भएका हुन् । सञ्चालक सदस्यमा कम्तीमा दुई जना महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ । अब अध्यक्ष चयन पछि स्वतन्त्र र विज्ञ सञ्चालक, सञ्चालक समितिबाट मनोनयन गरिने प्रावधान छ । नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड बमोजिम बैंकिङ र सहकारी क्षेत्रका एक/एक जना विज्ञलाई स्वतन्त्र सञ्चालकका रूपमा मनोनयन गरिनेछ । नेपाल राष्ट्र बैंकले २०८२ पुस ६ गते जारी गरेको निर्देशन र सहकारी ऐन, २०७४ बमोजिम बैंकको सञ्चालक समितिको संरचनामा पुनःसंरचना गरिएको हो ।
तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति यस अघि नै निर्विरोध चयन भएको बताईएको छ । लेखा सुपरिवेक्षण समिति संयोजकमा तारा गुरुङ्ग तथा सदस्यहरुमा ममता शाही र युवराज पोख्रेल निर्विरोध भएका हुन् । यसै गरी सातवटा प्रदेशहरुमध्ये कोशीबाट लक्ष्मीप्रसाद उप्रेती, मधेशबाट मन्दिरा आचार्य, गण्डकीबाट कमला गिरी, कर्णालीबाट कालीबहादुर महतरा, लुम्बिनीबाट विष्णुप्रसाद वराल र सुदूरपश्चिमबाट सञ्चालक सदस्यमा सर्वसम्मत चयन भए पनि बागमती प्रदेशबाट सञ्चालक सदस्यको छिनोफानो निर्वाचनबाट गरिएको थियो ।
यस निर्वाचनमा बैंकको २२ औं वार्षिक साधारण सभामा सहभागी प्रतिनिधिहरूले मात्र मतदान गर्न पाउने व्यवस्था थियो । यसअघि पुस १२ गतेका लागि तय गरिएको निर्वाचन नियामक निकायको पूर्ण स्वीकृति नपाउँदा स्थगित भएको थियो । बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक समिति तथा नेपाल राष्ट्र बैंकको निर्देशन र सहकारी विभागबाट प्राप्त सैद्धान्तिक स्वीकृतिका आधारमा निर्वाचनको मिति घोषणा गरेको थियो ।
यससँगै लामो समयदेखि रोकिएको बैंकको नेतृत्व चयन प्रक्रिया अब औपचारिक रूपमा अघि बढ्ेको थियो । सहकारी क्षेत्रको एक मात्र केन्द्रीय बैंकका रूपमा रहेको यस संस्थाको निर्वाचनलाई सहकारीकर्मीहरूले विशेष चासोका साथ हेरेका छन् । अबको नेतृत्वले वित्तीय सुधारको गति कायम राख्दै नियामकीय विश्वास पुनःस्थापित गर्नुपर्ने चुनौती सामना गर्नुपर्ने बताइएको छ ।
२०६० सालमा स्थापना भएको बैंकको १६ हजार चार सय भन्दा बढी सहकारी संघ संस्था सदस्य रहेका छन् । नेपाल राष्ट्र बैंकबाट ॅघ’ वर्गको वित्तिय संस्था सरहको मान्यता पाएको, देशभरिका ५७ वटा शाखा मार्फत कारोवार गरिरहेको बैंकको शेयर पूजीँ दुई अर्ब,९० करोड रुपैयाँ रहेको छ । ४२ अर्ब बचत परिचालन तथा १६ अर्ब कर्जा लगानी भएको छ । बैंकमा तीन सय बढी कर्मचारीले रोजगार प्राप्त गरेका छन् ।





















