मधेश प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ। सरकारमा सहभागी एमालेका चार जना मन्त्रीले राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो।
📌 मुख्य बुँदाहरू:
- मधेश प्रदेश सरकारमा सहभागी एमालेका चारै जना मन्त्रीले दिए राजीनामा
- सहमति कार्यान्वयन नभएको भन्दै एमाले संसदीय दलको निर्देशनमा समर्थन फिर्ता
- मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको गठबन्धन सरकारबाट बाहिरियो एमाले
एमाले संसदीय दलको निर्देशनअनुसार श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। चारै जना मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई भेटি राजीनामा पत्र बुझाएको एमालेका प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिएका छन्।
सरकारलाई दिएको समर्थन फिर्ता
मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा कांग्रेस, एमाले र नेकपाको गठबन्धन सरकार सञ्चालन हुँदै आएको थियो। तर, सरकार गठनको क्रममा भएको सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले सहमति अनुसार काम नभएकाले सरकारबाट बाहिरिने निर्णयमा पुगेको बताएका छन्। एमालेको यो कदमसँगै मधेश प्रदेशको राजनीतिक समीकरणमा नयाँ फेरबदल आउने देखिएको छ।





















