काठमाडौँ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले बिक्री नभई मौज्दातमा रहेको धुलो दूध र मख्खन बैंकमा धितो राखेर किसानलाई दूधको पैसा उपलब्ध गराउने निर्णय गरेको छ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालको पहलमा संस्थानको बोर्ड बैठक बसी सो निर्णय गरेको हो । बैठकले कर्मचारीको तलब र अत्यावश्यक खर्चसमेत कटौती गरी किसानको बक्यौता भुक्तानीका लागि योगदान गर्ने निर्णय गरेको छ । डिडिसीले किसानबाट दूध खरिद गरेको करिब ७२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ भने गोदाममा करिब ७० करोड रुपैयाँको धुलो दूध पाउडर र मख्खन मौज्दात रहेको छ । संस्थानका महाप्रबन्धक सञ्जीव झाले मन्त्रीको अग्रसरतामा बसेको बैठकले किसानको रकम छिटो भुक्तानी गर्ने निर्णय भएको बताए ।
त्यसैगरी, पत्रु सामानको चाँडै लिलामी गर्ने र इन्धन तथा सवारीसाधनको प्रयोगमा मितव्ययिता अपनाउने निर्णय पनि भएको छ । विराटनगरस्थित धुलो दूध कारखाना सञ्चालनका लागि प्रयोग भइरहेको डिजेल ब्वाइलरलाई विस्थापित गरी पुसबाट भुस ब्वाइलरको प्रयोग गर्ने निर्णय भएको छ ।
यस्तो निर्णयबाट मासिक ५० लाख बचत हुनेछ । हाल डिजेल ब्वाइलरको प्रयोगले मासिक एक करोड २५ लाखसम्म खर्च हुने गरेको छ । बोर्ड बैठकले फुटकर तथा मसलन्द खर्चलाई पूर्ण नियन्त्रण गर्ने तथा तत्काललाई ५० प्रतिशत दूध ढुवानी गर्ने सवारीसाधन भाडामा लिई सञ्चालन गर्ने निर्णयसमेत भएको छ । यस्तो निर्णयपछि मासिक ५० लाखसम्म बचत हुनेछ । डिडिसीका महाप्रबन्धक झाले किसानको पैसा तिर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेको बताए ।


























