काठमाडौं । पार्टीको आसन्न १४ औँ महाधिवेशन लगायतका विषयमा छलफल गर्न नेपाली काङ्ग्रेसका शीर्ष नेताहरुबीचको बैठक आज (बिहीबार) बस्दै छ ।
पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाएका हुन् । बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी तथा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक एवं सदस्यहरु सहभागी हुनेछन् ।
पार्टीको आसन्न महाधिवेशनको तयारी, क्रियाशील सदस्यता विवाद लगायतका विषयमा छलफल गरेर बैठकले आगामी रणनीति तय गर्ने नेताहरुले बताएका छन् । काङ्ग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि सुरु भएर १९ गते सम्पन्न गर्ने कार्यतालिका छ ।
काङ्ग्रेसको क्रियाशील सदस्यता विवाद बढेपछि महाधिवेशनलाई प्रभाव पर्ने बुझेर नेताहरु त्यसलाई मिलाउन लागि परेका छन् । काङ्ग्रेसले क्रियाशील सदस्यता विवाद सम्बन्धी आवश्यक मापदण्ड बनाउन सकेको छैन ।
सदस्यताको विवाद टुङ्गो लगाउनलाई भने नेता रमेश लेखकको संयोजकत्वमा छानबिन समिति बनाइएको छ । मापदण्ड अभावमा उजुरीको छानबिन हुननसक्दा काङ्ग्रेसअहिले पनि क्रियाशील सदस्यता विवादमै अल्झिएको छ ।























