डेढ-दुई महिनामा महाधिवेशन सम्पन्न गरौँ – कांग्रेस नेता डा. कोइराला

A notice in Nepali from Mechinagar Ward No. 10

२९ साउन , काठमाडौं : कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले क्रियाशील सदस्यताको छिटो टुंग्याएर पार्टीको १४औँ महाधिवेशन डेढ–दुई महिनामा सम्पन्न गर्न प्रस्ताव गरेका छन् ।

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको केन्द्रीय समिति बैठकमा डा. कोइरालाले भने, ‘पटक–पटक हामीले कार्यतालिका बनायौँ तर क्रियाशील सदस्यताको विवादले कार्यतालिका प्रभावित भयो, यसपटक त्यस्तो नहोस् । छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुंग्याएर डेढ–दुई महिनाभित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ ।’

केही पदाधिकारी र जिम्मेवार नेताहरूबाट विशेष महाधिवेशन अथवा हालकै कार्यसमितिलाई डेढ–दुई वर्ष समय थप्ने कुरा गरिएको उल्लेख गर्दै डा. कोइरालाले कुनै केन्द्रीय सदस्यबाट त्यस्तो कुरा नआएको प्रष्ट्याए । ‘पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन । विशेष महाधिवेशन र म्याद थप्ने कुरा कदापी मान्य हुँदैन । क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुनै सक्दैन ।’

पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले शतप्रतिशत समय सरकार सञ्चालनमा दिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै डा. कोइरालाले उनको ७५ प्रतिशत समय पार्टीको काममा खर्च भइरहँदा सरकार सञ्चालन प्रभावकारी हुन नसक्ने बताए ।

‘दुई महिनादेखि १५ मन्त्रालय नेतृत्वविहीन छन् । यसले कसरी जनहितमा काम गर्न सक्छ र सुशासन दिन सक्छ ?’ उनले भने, ‘संख्याका हिसाबले कांग्रेस अल्पमतमा छ तर पनि कांग्रेस यतिबेला सरकारको नेतृत्व गर्दैछ । गठबन्धनको सरकार छ । अहिले सरकारका सामु धेरै चुनौती छन् ।’

यतिबेला अन्तर्राष्ट्रिय परिस्थिति कांग्रेस पार्टीको प्रतिकुल रहेको उनको ठम्याइ थियो । ‘हाम्रा छिमेकी राष्ट्र र मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्नेछ । त्यसकारण पार्टीको सम्पूर्ण शक्ति सरकारलाई सफल बनाउन केन्द्रित हुनुपर्ने देखिन्छ।’

पार्टीका बैठक केन्द्रीय कार्यालय सानेपामै हुनुपर्नेमा उनले जोड दिए । केन्द्रीय कार्यालयमा कांग्रेसका नेता–कार्यकर्ता धर्नामा बसेकाले सभापति देउवाको निवासमा पार्टीका बैठक आयोजना भइरहेका छन् । १३औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यहरू नै पार्टी कार्यालयमा धर्नामा बसेको तर पार्टी कार्यालयमै बैठक गरिएको उनले उल्लेख गरे ।

क्रियाशील सदस्यता विवाद टुंग्याउन पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीमा इच्छाशक्ति नदेखिएको उनको आरोप थियो । छानविन समितिले क्रियाशील सदस्यतामा धेरै विवाद नरहेको बताइसकेकाले त्यसमा अल्झिन आवश्यक नरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.