एपीएफलाई हराउँदै चर्च ब्याइज युनाइटेड बन्यो झापा गोल्डकपको च्याम्पियन

A notice in Nepali from Mechinagar Ward No. 10

बिर्तामोड ।चर्च ब्वाइज युनाइटेड छैटौँ झापा गोल्डकपको च्याम्पियन बनेको छ ।

बिर्तामोडस्थित डोमालाल रंगशालामा सोमबार भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्दै झापा गोल्डकपको नयाँ च्याम्पियन बनेको हो । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजका नाइजेरियिन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोल र राजेश परियारले एक गोल गरेका थिए ।

च्याम्पियन बनेका चर्च ब्वाइजले नगद १३ लाख रुपैयाँसहित ट्रफि प्राप्त गरेको छ । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्य राखेको एपिएफ उपविजेता चित्त बुझाउँदै नगद सात लाख पाएको छ ।

खेलको १२औं मिनेटमा फकुन्लेले चर्च ब्वाइजका पहिलो गोल गरे । गोलकिपर एन्जल श्रेष्ठ अगाडि बढको अवस्थामा फकुन्लेले चलाखीपूर्ण रुपमा गोल गर्न सफल भए । दोस्रो गोल ७२औं फकुन्लेले नै गरे । मध्यभागबाट बल अगाडि बढाउँदै फकुन्लेले गोलकिपर एन्जललाई बिट गरेर सुन्दर गोल गरे । तेस्रो गोल ८७औं मिनेटमा भयो । वैकल्पिक खेलाडी राजेश परियारले तेस्रो गोल गरे । विजय भुजेलको स्थानमा मैदान प्रवेश गरेका राजेशले फकुन्लेको सुन्दर पासमा गोल गरेका हुन् ।

पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका एपिएफले फाइनलमा भने आशा गरिएअनुसार प्रदर्शन गर्न सकेनन् । खेलमा एपिएफले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । १८औं मिनेटमा एपिएफका फोडे फोफानाको पासमा अनीश महर्जन गोल गर्न चुके । पहिलो हाफको इन्जुरी समयमा फोडेकै प्रहार चर्च ब्वाइजका कप्तान दीप कार्कीले पञ्च गरेर बचाए । खेलको ८१औं मिनेटमा एपिएफका विदेशी खेलाडी आन्द्रे थेरी वियिक वियिकको फ्रिकिक गोलकिपर दीपले पञ्च गर्दै क्लिन सिट राख्न सफल भए । चर्च ब्वाइजले केही अवसर बनाएपछि थप गोल गर्न सकेन । ३१औं मिनेटमा विकु राईले हानेको प्रहार एपिएफ गोलकिपर एञ्जल श्रेष्ठले बचाए । ७२औं मिनेटमा विजय भुजेलले गोलकिपर एञ्जल बिट गरेको अवस्थामा पनि गोल गर्न चुकेका थिए ।

खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका सुरज जिउ ठकुरी घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए ।  त्यस्तै विधागत पुरस्कारमा पनि चर्च ब्वाइजको वर्चस्व रह्यो । चर्च ब्वाइजका दीप कार्की उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर चर्च ब्वाइजका सर्ज डिका, उत्कृष्ट फरवार्डसँगै उच्च गोलकर्ताको पुरस्कार अवयोमी फकुन्लेले पाउँदा एपिएफका शरण बस्नेत उत्कृष्ट मिडफिल्डर घोषित भए । यस्तै, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका अध्यक्ष रुवेन राई भए । उदीयमान खेलाडी झापा ११ का कप्तान पेमा तामाङ भए । उनीहरूले जनही नगद २५ हजार पुरस्कार पाए ।

गोल्डकपको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेन्डर सञ्जित राई घोषित भए । उनले एक थान यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरे ।  गोल्डकप समापनको अवसरमा झापा ११ का पूर्व खेलाडीहरूलाई सम्मान गरिएको थियो । झापाका गोलकिपर मीनबहादुर बस्नेत, कुमार गिरी, कर्ण लिम्बु, खमिर गिल्सन कन्दङवा, विशाल राई, योगेश गुरुङ, सचिन्द्र धिमाललाई झापा खेल रत्न प्रदान गरिएको थियो । उनीहरूले पाएको पुरस्कार डोमालाल राजवंशीको घर निर्माणमा सहयोग गर्ने घोषणा गरेका छन् । विजेता तथा उपविजेता टिम र खेलाडीलाई प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले, एन्फा अध्यक्ष पंकज नेम्वाङ, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, गोल्डकपका अध्यक्ष विनोद बस्नेत, पूर्वअध्यक्षहरु जलकुमार गुरुङ, महेन्द्रकुमार गिरीलगायतले नगद, ट्रफी तथा मेडल प्रदान गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.