११ फागुन, झापा : नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले गम्भीर घुँडाको चोटपछि पुनः शल्यक्रियाका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्। पछिल्लो सात सातादेखि मैदानबाहिर रहेकी उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्था सार्वजनिक गर्दै समर्थकहरूसमक्ष साथ र सहयोग मागेकी हुन्।
सावित्राले आफ्नो घुँडाको एसीएल (ACL) मा यसअघि गरिएको शल्यक्रियाबाट राखिएको ग्राफ्ट तथा एमसिएल (MCL) दुवैमा गम्भीर समस्या देखिएको जानकारी दिएकी छन्। चिकित्सकका अनुसार उनलाई जटिल पुनःशल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ। उनले सोचेजस्तो समयमा शल्यक्रिया हुन नसकेको र उपचार प्रक्रियामा ढिलाइ हुँदा शारीरिक तथा मानसिक रूपमा थकान महसुस भइरहेको उल्लेख गरेकी छन्।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा उनको उपचार व्यवस्थापन सहज भएको र आर्थिक तथा प्रशासनिक सहयोग प्राप्त भएकाले समयमै मैदान फर्किन सफल भएको उनले स्मरण गरेकी छन्। तर यसपटक भने एन्फाबाट वाचा गरिएको सहयोग प्राप्त नभएको उनको गुनासो छ। क्लबको पहलमा चोट लागेको तीन सातापछि शल्यक्रियाको मिति तोकिएको भए पनि एन्फाले प्रक्रिया अघि बढाउने बताउँदै अन्ततः प्रशासनिक सहयोग दिन नसक्ने जानकारी गराएको उनले उल्लेख गरेकी छन्। एन्फा अध्यक्षले पाँच लाख रुपैयाँसम्म नगद सहयोग गर्ने प्रस्ताव राखे पनि सम्पूर्ण व्यवस्थापन आफैंले गर्नुपर्ने भनिएको उनले जनाएकी छन्।
हाल उनी आवद्ध क्लबले न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गराउन तयार रहेको बताइरहेको छ। तर सावित्राले आफ्नो चोटको जटिलता र यसअघि कतारको अस्पेटार अस्पतालमा गरिएको उच्चस्तरीय उपचारको अनुभवलाई आधार मान्दै पुनः सोही अस्पतालमा शल्यक्रिया गराउने इच्छा व्यक्त गरेकी छन्। क्लबले बीमाबाट प्राप्त रकम उपलब्ध गराउने भए पनि शल्यक्रिया तथा सातदेखि आठ महिनासम्मको पुनर्स्थापनाका लागि आवश्यक खर्च अपुग हुने उनको भनाइ छ। प्रारम्भिक अनुमानअनुसार सम्पूर्ण उपचारका लागि करिब ८० हजार अमेरिकी डलर आवश्यक पर्ने उनले बताएकी छन्।

सावित्राले आफ्नो करियरभरि कठिनाइसँग जुध्दै अघि बढेको स्मरण गर्दै यसपटकको अवस्था सबैभन्दा कठिन भएको बताएकी छन्। “थाकेको हो, हारेको छैन,” भन्दै उनले पुनः एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कने अठोट दोहोर्याएकी छन्। इजरायल, फ्रान्स, न्युजिल्यान्ड र अष्ट्रेलियामा खेल्दा पनि आफूले सधैं राष्ट्रको पहिचान बोकेको महसुस गरेको उल्लेख गर्दै उनले देशका लागि खेल्ने प्रतिबद्धता पुनः व्यक्त गरेकी छन्।
उनले नेपालमा रहेका समर्थकलाई क्यूआर कोड वा बैंकमार्फत तथा विदेशमा रहेका समर्थकलाई अनलाइन लिंकमार्फत सहयोग गर्न अनुरोध गरेकी छन्। “म राष्ट्रिय टोलीको कप्तान हुँ, युरोपमा खेलिसकेको खेलाडी हुँ। यदि मलाई नै यस्तो अवस्थाको सामना गर्नुपरेको छ भने अरू खेलाडीहरूको अवस्था कस्तो होला?” भन्ने प्रश्न उठाउँदै उनले खेलाडी कल्याण र उपचार व्यवस्थापनबारे दीर्घकालीन सोच आवश्यक रहेको संकेत गरेकी छन्।
शारीरिक पीडा र मानसिक दबाबका बीच पनि सावित्राले आत्मविश्वास गुमाएकी छैनन्। उनका शब्दमा, यो लडाइँ कठिन भए पनि अन्तिम होइन। राष्ट्रिय टोलीकी भरपर्दो स्ट्राइकर ‘साम्बा’को पुनरागमनको प्रतीक्षामा रहेका समर्थकहरूका लागि उनको सन्देश स्पष्ट छ— उनी फर्किनेछिन्, र फेरि एकपटक नेपालको झण्डा बोकेर मैदानमा उत्रिनेछिन्।
विदेशमा रहनुहुनेले यो लिंकमा गएर सहयोग गर्नुहोला :
https://givealittle.co.nz/cause/support-sambas-surgery-stand-with-sabitra?fbclid=IwY2xjawQJBiFleHRuA2FlbQIxMABicmlkETJtdndqbnV2TmpRalZKWTZFc3J0YwZhcHBfaWQQMjIyMDM5MTc4ODIwMDg5MgABHrHY4Qtce4YOrAfpGr_yXFxVLfyen-_UbV6t4Bn8qDR1S2Nd12346kMW1k_8_aem_czFGxqj8HbyWCySRbIA-Xg



























