नेताहरूको विलासी जीवनशैलीले जनतासँग सम्बन्ध टाढियो, ‘१ बराबर ३’ नयाँ सदस्य थप्ने एमालेको १० बुँदे सङ्कल्प

काठमाडौँ । नेताहरूमा बढ्दो विलासी र भड्किलो जीवनशैली तथा असल आचरण र व्यवहारको कमीका कारण जनतासँग पार्टीको सम्बन्ध टाढिएको निष्कर्ष नेकपा एमालेका नेताहरूले निकालेका छन्। गत फागुन २१ मा सम्पन्न संसदीय निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि एमालेले पार्टीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ काठमाडौँमा आयोजना गरेको दुई दिने ‘पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ मा समूहगत छलफलपछि यस्तो निष्कर्ष निकालिएको हो।

अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गर्नुभएको कार्यशालामा १० वटा समूहगत छलफलपछि बिहीबार विभिन्न प्रदेश र क्षेत्रका टोली नेताहरूले सङ्ठन निर्माण सम्बन्धी निष्कर्ष र सुझावहरू प्रस्तुत गरेका थिए। सुदूरपश्चिमका टोली नेता कृष्णप्रसाद जैसीले पार्टीसँग जनताको टुटेको सम्बन्ध सुधार्न नेता-कार्यकर्ताहरूले आफ्नो जीवनशैलीमा व्यापक सुधार गर्नुपर्ने, आचरण र व्यवहार सरल बनाउनुपर्ने तथा महँगो र भड्किलो शैली त्याग्नुपर्ने सुझाव राखे। त्यस्तै, जनसङ्गठन समूहका टोली नेता महाराज गुरुङले सम्बन्धित क्षेत्रका सङ्गठित सदस्यहरूले नै प्रत्यक्ष रूपमा उम्मेदवार र पार्टी नेतृत्व छान्न पाउनुपर्ने क्रान्तिकारी सुझाव प्रस्तुत गरे भने कोशी प्रदेशका टोली नेता घनश्याम खतिवडाले सदस्यता नवीकरणमा देखिएको जटिलता फुकाउँदै कमिटीलाई चुस्त बनाउनुपर्नेमा जोड दिए।

कार्यशालालाई सम्बोधन गर्दै महासचिव शङ्कर पोखरेलले समाजको बदलिएको मनोविज्ञानलाई ‘ब्याटल’ गर्न र जनतामा भरोसा पैदा गर्न समयसँगै नेता र नीति दुवै बदलिन आवश्यक रहेको बताए। कार्यशालाको समापनमा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको १० बुँदे सङ्कल्प प्रस्ताव पारित गरिएको छ। सङ्कल्प प्रस्तावमा पार्टीको सङ्गठित सदस्यता अनलाइन नवीकरण सम्बन्धित व्यक्तिको प्रत्यक्ष उपस्थितिमा अविलम्ब अगाडि बढाउने र अब सङ्गठन विस्तारका लागि ‘१ सङ्गठित सदस्य बराबर न्यूनतम ३ नयाँ पार्टी सदस्य’ तयार गर्ने नीति लिइने घोषणा गरिएको छ। साथै, एमालेले अब टोलदेखि प्रदेश कमिटीसम्मलाई पुनर्जागृत गर्दै पार्टी जीवनलाई ‘डिजिटल क्रान्ति’ मा रूपान्तरित गर्ने दृढता व्यक्त गरेको छ。

Leave a Reply

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.